त्रिविको परीक्षामा बेथिति : रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष
शिक्षाखबर डेस्क
९ आश्विन २०७५, मंगलवार
no immg

काठमान्डौ/त्रिभुवन विश्वविद्यालयका डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)सम्मले लिने वार्षिक परीक्षामा बेथिति छ । पनिकाले शैक्षिक क्यालेन्डरअनुसार समयमै भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन ।

त्रिविले कुनै विषयको प्राप्तांकमा चित्त नबुझे विद्यार्थीले रिटोटलिङ गर्न पाउने व्यवस्था गरेको छ । कुनै विषयको रिटोटलिङको नतिजा निकाल्न पनि दुई वर्ष लगाएको छ । ०७३ सालमा फुड टेक्नोलोजी रिटोटलिङको आवेदन गरेका विद्यार्थीको १० साउन ०७५ मा नतिजा सार्वजनिक गरियो ।

हेल्लो सरकारमा गरेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चासो राखेपछि मात्र २५ भदौ ०७५ मा पनिकाले झन्डै दुई वर्षमा रिटोटलिङको नतिजा सार्वजनिक गरेको पत्र पठाएको छ ।

यसअघि स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा अध्ययन गरी उत्तीर्ण भएको ट्रान्सक्रिप्ट लिएका र प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट पाइसकेकालाई विद्यार्थीलाई ट्रान्सक्रिप्ट लिन जाँदा फेल भएको भन्दै त्रिविले रोकेको थियो । जसले गर्दा सयौँ विद्यार्थी अन्योलमा छन् । केही विद्यार्थीले त ट्रान्सक्रिप्ट लगेको झन्डै एक वर्षपछि मात्र फेल भएको खबर पाए ।

त्रिवि डिन कार्यालयले स्नातकोत्तर तहमा प्रत्येक विषयमा जिपिए २.७ ल्याउनेलाई विषयगत रूपमा उत्तीर्ण भएको ग्रेडसिट दिएको थियो । पहिलोपटक १० महिना पहिले कुल जिपिए २.७ ल्याउने विद्यार्थीलाई समेत ट्रान्सक्रिप्ट जारी गरेको थियो । ट्रान्सक्रिप्ट जारी भइसकेपछि डिन कार्यालयबाट पास हुन कुल जिपिए ३.० ल्याउनुपर्ने जानकारी गराएपछि सयौँ विद्यार्थी बिचल्लीमा परेका छन् । उत्तीर्ण भएर ट्रान्सक्रिप्ट लिएर विदेशमा छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसमेत संकटमा परेका छन् । त्रिविले ०७० देखि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली सुरु गरेको थियो ।

विद्यार्थीहरूको समेत आन्दोलन भएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक प्राडा रिदिसकुमार पोखरेलले जिपिए ३.० भन्दा कम भए पनि ट्रान्सक्रिप्ट लिएर विदेशमा गएकालाई इ–प्रश्न सोध्नेसहितका विभिन्न सुझाब दिएको छ । गुणस्तरमा सम्झौता नहुने गरी विकल्प दिएको उनले बताए । जिपिए ३.० भन्दा कमलाई उत्तीर्ण नगराउन समितिको सुझाब छ ।

प्रश्न इमेलबाट पठाउनेदेखि राउन्डिङ गर्नेसम्मको सुझाब
–जिपिए ३.० भन्दा कम भए पनि ट्रान्सक्रिप्ट लगेका र परीक्षा सकेकाहरूका लागि डिन कार्यालयले विशेष परीक्षाको व्यवस्था गर्नुपर्ने सुझाब दिएको छ । कार्यविधिमा ग्रेड वृद्धिका लागि दुई विषयमा मौका दिन पाउने व्यवस्था छ । तर, समितिले तीन विषयसम्ममा परीक्षा दिन पाउने गरी व्यवस्था गर्न सुझाब दिएको छ । एकपटकको विशेष व्यवस्थामा पनि सिजिपिए ३.० ल्याएन भने नियमित परीक्षामा सहभागी हुने व्यवस्था गर्नुपर्ने सुझाब छ ।

–विदेश गएका विद्यार्थीको हकमा त्रिविको डिन कार्यालयले एकपटकका लागि ‘ओपन बुक एक्जाम’ गर्ने विकल्प दिएको छ । त्रिवि डिन कार्यालयले इमेलमार्फत प्रश्न पठाउने र २४ घन्टाभित्र विद्यार्थीले जवाफ पठाउनुपर्ने व्यवस्था गरेको छ । २४ घन्टापछिको उत्तरलाई मान्यता नदिने सुझाब छ ।

–अर्को विकल्पका रूपमा राउन्डिङ नम्बरको व्यवस्थाको सुझाब दिएको छ । जिपिए २.९५ छ भने त्यसलाई राउन्डिङ नम्बरबाट ३.० बनाउन सकिने गरी विश्वको अभ्यासलाई अनुसरण गर्न सक्ने विकल्प दिएको छ ।

आन्दोलन गर्नेलाई होम सेन्टर, प्राध्यापक र विद्यार्थीबाट पालैपालो परीक्षाको मर्यादा कुल्चिए

डिन कृष्णप्रसाद गौतम भन्छन्, ‘किन होम सेन्टर मागे विद्यार्थीलाई सोध्नुस्’
त्रिविको स्नातकोत्तर तहको परीक्षामा कहिले प्राध्यापक र कहिले विद्यार्थीबाट निरन्तर आँच आउने गतिविधि भइरहेका छन् । शिक्षाशास्त्र संकायको डिन कार्यालयबाट लिइने परीक्षामा निकै लापरबाही पाइएको छ । सोही संकायमा एमएडमा दुई विषयमा एउटै प्राध्यापकबाट १७ र १९ भदौमा प्रश्नपत्र आउट भएका थिए ।

प्रश्नपत्र तयार पार्ने र त्यसको मोडरेसन गर्ने तत्कालीन विषय समितिको अध्यक्षबाटै प्रश्नपत्र बाहिरिएको पाइएको हो । स्नातकोत्तर तह पहिलो सेमेस्टरको साइकोलोजी र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको प्रश्नपत्र तयार पार्ने प्रा. होमनाथ भट्टराईबाटै बाहिरिएको थियो । ती दुवै विषयको परीक्षा डिन कार्यालयले रद्ध गरेको थियो ।

प्राध्यापक र परीक्षा सञ्चालन गर्नेहरूबाट भएको कमजोरीको फाइदा विद्यार्थीले समेत उठाएका छन् । परीक्षामा लापरबाही भएको फाइदा उठाउँदै विद्यार्थीहरूले काठमाडौं उपत्यकामा होम सेन्टर माग गर्दै आन्दोलन गरे र डिन कार्यालय पनि उनीहरूका मागमा सहमत भयो । काठमाडौंमा कीर्तिपुरको केन्द्रीय विभाग, महेन्द्ररत्न क्याम्पस ताहाचल र सानोठिमी क्याम्पसमा होम सेन्टर राखिएको थियो । कीर्तिपुरका विद्यार्थीले होम सेन्टर मागेर आन्दोलन गरेपछि दिएको डिन प्राडा कृष्णप्रसाद गौतमले बताए । किन होम सेन्टर दिएको भन्ने जिज्ञासामा उनले भने, ‘किन होम सेन्टर चाहियो विद्यार्थीलाई नै थाहा होला माग्नेलाई सोध्नुस् ।’ होम सेन्टर राखेर परीक्षाको मर्यादा बिगारेको विज्ञहरू बताउँछन् ।

डिनहरूले संयुक्त रूपमै पदाधिकारीलाई दिए दबाब
डिन कार्यालयहरूले सञ्चालन गर्ने परीक्षाहरूमा समस्या बढ्दै गएको छ । सेमेस्टर प्रणालीमा ६ महिनामै परीक्षा र नतिजाको काम सम्पन्न हुनुपर्नेमा कतिपय विषयको नतिजा आउन अर्को ६ महिना पर्खनुपर्ने अवस्था छ । डिन कार्यालयहरूलाई परीक्षा सञ्चालनमा कठिन भएपछि संयुक्त रूपमै पदाधिकारीसँग समस्या राखेका छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा शिवलाल भुसालले थोरै हुँदा डिन कार्यालयले व्यवस्थापन गरे पनि देशभरको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएपछि समस्या भएको बताए ।

‘अहिले परीक्षा राम्रोसँग सञ्चालन र नतिजा सार्वजनिक गर्न हामीसँग स्रोत कम छ, हामी ५/६ जना डिनले पदाधिकारीलाई समस्या देखाएका पनि छौँ,’ भुसालले भने, ‘अप्ठ्यारो पर्दा डिनले गरेनन् भन्न मिल्दैन । अहिले परीक्षा व्यवस्थापन राष्ट्रिय रूपमा भएकाले पनिका र प्रदेशस्तरका त्रिविका कार्यालयसँग समन्वय गर्नुपर्छ भनेका छौँ ।’ सेमेस्टर प्रणाली सुरु भएपछि केन्द्रीय विभागको परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्दै आएका डिन कार्यालयहरूलाई अहिले देशभरका आंगिक स्नातक तहका विषयको परीक्षाका काम गर्न कठिन भएको छ ।

प्रतिक्रिया