रोकथामकाे जनचेतना महत्वपूर्ण
शिक्षाखबर डेस्क
१४ आश्विन २०७५, आईतवार
no immg

काठमाडौं – मुटुरोग विषेशज्ञ डाक्टर तथा अभियन्ताले मुटरोगबाट बच्ने उपाय र रोगका रोकथामका बारेमा जनचेतना जगाउँदै देशभर मुटु दिवस मनाएका छन्।

१९ औं विश्व मुटु दिसवका अवसरमा शहिद गंगालाल हृदय केन्द्र तथा हार्ट नेटवर्कमा आबद्ध स्वास्थ्य संस्थाहरुले राजधानीमा मुटुरोगबारे जनचेतना जगाउन -याली प्रदर्शन गरे । यो वर्षको विश्व मुटु दिवसको नारा ‘हाम्रो प्राण स्वस्थ मुटु’ भन्ने तय गरिएको थियो।

मुटुद दिवसकै अवसरमा हार्ट नेटवर्कले आयोजना गरेको सभालाई सम्बोधन गर्दै शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माले मुटुरोग लाग्नबाट बच्न पहिला व्यक्ति स्वयं परिवर्तित हुनु आवश्यक रहेको बताए । ‘पहिला आफैं परिवर्तन हुनुप-यो। व्यक्तिले स्वस्थ खाना खान्छु, व्यायम गर्छु भन्ने प्रण गर्नुप-यो। चिकित्सकले पनि बिरामीलाई राम्रो उपचार दिन्छु भन्ने प्रण गर्नुप-यो । स्वास्थ्यमन्त्रीले मुटुरोग रोक्नका लागि विशेष नीति तथा कार्यक्रम ल्याउने प्रण गर्नुप-यो,’ उनले भने । आफ्नो परिवारलाई स्वस्थ जीवन बिताउने प्रण गरे मात्र मुटु जोगिने कुरामा पनि उनले सबैलाई सचेत गराए।

नेपालमा बाथज्वरो मुटुरोग, हृदयघात, मुटुको रक्तनलीको रोग, दमरोगीलाई लाग्ने मुटुरोग बढी भएकाले यसलाई रोकथामका कार्यक्रम हुनुपर्नेमा डा. ज्योतिन्द्र शर्माले भने। ‘पहिलादेखिको बाथमुटरोग अहिले पनि घटेको छैन,’ गंगालाल हृदयकेन्द्रका मुटुरोग विशेषज्ञ डा. ज्योतिन्द्र शर्माले भने।

नेपालमा बच्चा उमेरमा हुने घाँटीको टन्सिलको समयमै उचित उपचार हुन नसक्दा यो रोग कायम रहेको चिकित्सकले जनाएका छन्। ‘अन्य देशमा १ प्रतिशत मात्र देखिएको बाथमुटुरोग दक्षिण एशियामा १० प्रतिशत छ,’ नेपाल हार्टनेटका युवराज लिम्बुले भने।

केन्द्रकै मुटुरोग विशेषज्ञ डा. दिवाकार शर्माले मुटु जोगाउनुपर्ने उपाय व्यवहारमै लागू नगरेसम्म दिवसको औचित्य नरहने बताए। उनले राष्ट्रले सबैलाई स्वस्थ्य खाना खाने वातावरण बनाउनुपर्ने तथा मुटुको उपचार सेवा स्थानीय तहमा पनि हुनुपर्ने उनले बताए।

मुटुरोगलाई बढाउने अन्य नसर्ने रोगको नियन्त्रणमा सरकारको ध्यान जानुपर्नेमा मनमोहन काडिर्योभास्कुलर सेन्टरका वरिष्ठ मुटु सर्जन डा. भगवान कोइरालाले बताए।

नेपाल हार्ट फाउन्डेसनका मुटु रोगविरुद्धका अभियन्ता दीपेन्द्र पुरुष ढकालले विश्व मुटु संघले चार वटा कुरामा केन्द्रित भएर आफैंले व्यवहारमा स्वस्थ जीवन अपनाउन प्रण गर्न यो वर्षको मुटु दिवसको उद्देश्य रहेको बताए।

नेपालमा व्यक्ति आफ्नो गलत जीवनशैली र प्रदूषण जस्ता तत्वले मुटुरोग बढिरहेको उनीहरुले औंल्याए । ‘घर तथा सडकको धुवाँ पनि मुटु रोगका कारण हुन्,’ अभियन्ता ढकालले भने।

विश्व मुटु दिसवकै अवसरमा ग्रान्डी अस्पतालले निशुल्कः रक्तचाप परीक्षण तथा मुटुरोग लाग्ने कारण बारेका सामग्रीको प्रदर्शनी गरेको थियो । सो कार्यक्रमको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए।

अस्पतालमा आयोजित समारोहमा हास्य कलाकार हरिवंश आचार्यले नेपालमा युवाहरुमा कम उमेरमै मुटु रोग बढाउन मदिरा सेवन, चुरोट र प्रदूषण मुख्य कारक रहेको बताए । ‘काठमाडौंले यति धूमपान गर्छ कि भनिसाध्य छैन,’ उनले भने, ‘काठमाडौंका काठमा रक्सी उत्पादन गर्ने महिलादेखि रक्सीको कट खाने गाईबस्तुसमेत क्रोकिन जँड्याहा बनेका छन्।’

चिकत्सिकहरुका अनुसार हृदयघातबाट बच्न चुरोट बिंडीको प्रयोग नगर्ने, मदिराको प्रयोग नगर्ने, नियमित शारीरिक व्यायम गर्ने, शरीरको तौल र मोटाइ नियन्त्रणमा राख्ने, खानामा नुन, चिनी र चिल्लो कम प्रयोग गर्ने, पर्याप्त मात्रामा फलफूल, साग र माछाको प्रयोग गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, उच्च मधुमेह, कोलस्ट्रोल र रक्तचाप भएमा नियन्त्रणमा राख्ने, नियमित औषधिको सेवन गर्ने, रिस, तनाव र डिपे्रसनको नियन्त्रण गर्नुपर्छ।

प्रतिक्रिया