स्वास्थ्य बिमामा बजेट बढ्दै, आकर्षण घट्दै
शिक्षाखबर डेस्क
१७ आश्विन २०७५, बुधबार
no immg

चालू वर्षमा २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण गरेनन्

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको छ । चालू आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले ६ अर्ब रुपैयाँ यो कार्यक्रममा विनियोजन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४ गुणाले बढी हो ।

खर्च नै भएन बजेट
सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रत्येक वर्ष बजेट बढाउँदै लगेको छ । तर, योजनाअनुसार कार्यक्रम सञ्चालन हुन नसक्दा बोर्डले विनियोजन गरेको रकम खर्च हुन सकेको छैन । आव ०७१/७२ मा सरकारले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ । त्यस्तै आव ०७२/७३ मा सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेकोमा ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव ०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेकोमा बोर्डले करिब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।

फलस्वरूप आव ०७४/७५ मा सरकारले बजेट घटाएर २ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त आवमा पनि करिब १ अर्ब १७ करोड खर्च भएको तथ्यांकले देखाएको छ । चालू आवका लागि बोर्डले ८ अर्ब रुपैयाँको माग गरेकोमा सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको बोर्डले जानकारी दिएको छ । त्यसमध्ये ५ अर्ब ५० करोड सेवाप्रदायकलाई जाने बोर्डको भनाइ छ ।

२५ प्रतिशतले गरेनन् नवीकरण
सरकारले सञ्चालन गरेको बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटेको तथ्यांकले देखाएको छ । बोर्डको तथ्यांकअनुसार गत महिनासम्ममा नवीकरण नगर्ने बिमिति २५ प्रतिशत पुगेका छन् । तथ्यांकअनुसार गत महिनासम्ममा १२ लाख ३६ हजार ४ सय ५८ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जसमध्ये महिलाको संख्या ६ लाख ५३ हजार ४ सय ८६ छ भने पुरुषको संख्या ५ लाख ८२ हजार ९ सय ७२ छ ।

६७ करोड रुपैयाँ बिमा शुल्क संकलन
स्वास्थ्य बिमाबापत सरकारले ६७ करोड ३० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । गत महिनाको अन्त्यसम्ममा बोर्डले बिमाबापत उक्त रकम संकलन गरेको छ । त्यसैगरी, बोर्डमा ९ लाख ४६ हजार ९ सय ८५ को दाबी परेको छ । २ सय ३९ वटा सेवाप्रदायक संस्थाहरू सक्रिय छन् ।

३६ जिल्लामा पुग्यो स्वास्थ्य बिमा
सरकारले हालसम्म ३६ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । ०७२ चैत २५ गते कैलालीबाट कार्यक्रमको सुरुवात भएको थियो । ०७३ असार १५ सम्ममा बाग्लुङ र इलामबाट पनि कार्यक्रमको सुरुवात गरियो । ०७३ पुसमा अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दीमा पनि विस्तार गरियो भने ०७४ असारमा भक्तपुर, गोर्खा, तनहुँ, चिवतन, जुम्ला, जाजरकोट र मकवानपुरमा पनि बिमा कार्यक्रम सञ्चालन गरिएको थियो । चालू आवमा नेपालका सबै जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ ।

स्वास्थ्य बिमा बोर्ड निर्देशकको प्रारम्भिक छनोटमा ५ जना
स्वास्थ्य मन्त्रालयको निर्देशक छनोट समितिको आइतबार बसेको बैठकले प्रारम्भिक छनोटमा ५ जनाको नाम छनोट गरेको छ । बोर्डको निर्देशकका लागि ७ जनाको निवदेन परेको थियो ।

जसमध्ये बैठकले डा. सतिशकुमार देव, श्रीमान् कार्की, शैलेस कुमार मिश्र, डा.दामोदर बसौला र रमेशकुमार पोखरेलको नाम सिफारिस गरेको छ । त्यस्तै, काशीनाथ रिमाल र डा.मदनकुमार उपाध्यायको नाम भने ऐनअनुसार योग्यता नपुगेको भन्दै हटाएको छ । लोकसेवा आयोगका प्रतिनिधि र मन्त्रालयका सचिव भएको छनोट समितिले तीनजनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा पठाउनेछ ।

पहिलो चरणमा विपन्न वर्गको बिमा गराउनुपर्छ
डा. दामोदर बसौल, बिमाविज्ञ
सबैभन्दा पहिला गरिब नागरिकको पहिचान गरी उनीहरूलाई निःशुल्क बिमा गर्नुपर्छ । सरकारले विपन्न नागरिकका लागि अनुदानको व्यवस्था गरेको छ । त्यसैले उनीहरूका घर–घरमा पुगेर बिमा गर्नुपर्छ । जतिसक्दो छिटो सेवाप्रदायक स्वास्थ्य संस्थाको संख्या र गुणस्तरमा वृद्धि गर्नुपर्छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकीमा डक्टर नै भेटिँदैनन् । सहरी क्षेत्रमा घन्टौँ लाइन लागेर सेवा लिनुपर्छ । जसका कारण बिमित निरुत्साहित भएका हुन् । त्यसैले सेवाप्रदायक संस्थाको क्षमता वृद्धिमा विशेष ध्यान दिनुपर्छ ।

बिमा कार्यक्रममा जनताको अपेक्षा धेरै छ
डा. भुवन पौडेल, वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य बिमा बोर्ड
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा जनताको अपेक्षा धेरै छ । तर, सोअनुसारको सेवा पाउँन नसक्दा बिमितहरू निराश हुनु स्वाभाविक नै हो । स्वास्थ्य बिमाको अहिलेको मुख्य समस्या भनेको नियमित र गुणस्तरीय सेवा प्रदान गर्न नसक्नु हो । ग्रामीण क्षेत्रमा सरकारी स्वास्थ्यचौकी टाढा छन् । जहाँ बिमित सजिलै पुग्न सक्दैनन् । सहरी क्षेत्रमा भने सरकारी अस्पताल अव्यवस्थित छ ।

समयमा पालो पाउँदैनन् । दिनभरि कुरेर सेवा लिनुभन्दा मानिसहरू निजी अस्पतालमा नै जान रुचाउँछन् । अर्को कारण भनेको अस्पतालमा बिमाभित्र पर्ने औषधि नपाइनु पनि हो । गाउँमा मानिसको उपचार भनेको औषधि नै हो भन्ने सोच्छन् । तर, अधिकांश अस्पतालमा औषधि उपलब्ध नभएको गुनसो छ ।

प्रतिक्रिया