वीरमा २० करोडको सिटिस्क्यान तीन महिनादेखि अलपत्र
शिक्षाखबर डेस्क
२० आश्विन २०७५, शनिबार
no immg

देशकै जेठो वीर अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या अघिल्लो वर्षको भन्दा यस वर्ष एक लाख बढेको छ । यस वर्ष बहिरंग सेवामार्फत चार लाख १२ हजार नौजना बिरामीले सेवा लिएका छन् । अस्पतालमा नयाँ–नयाँ भवन बन्दै छन् भने अत्याधुनिक उपकरण जडान कार्य अघि बढेको छ । तर, सो कार्यमा कर्मचारीले असहयोग पु-याउँदै आएका छन्, जसका कारण नेपालमै पहिलोपटक भित्र्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन जडान हुन सकेको छैन । अर्जुन अधिकारीको रिपोर्ट:

तीन महिनामा एक सय बिरामी प्रभावित
अस्पतालका अनुसार उपकरण सञ्चालनमा ल्याउन नसक्दा तीन महिनामा एक सयभन्दा बढी न्युरोका बिरामी सेवा लिनबाट वञ्चित भएका छन् । वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश बिरामी गरिब तथा विपन्न वर्गका हुने गरेका छन् । इन्टा–अप्रेटिभ सिटिस्क्यान मेसिन सर्जरी बेडमै जडान गरिएको हुन्छ । यसले आवश्यक परेको अवस्थामा सोही बेडबाट अप्रेसनकै समयमा सिटिस्क्यान गर्दछ । अस्पताल उच्च स्रोतका अनुसार यो उपकरणमा सेवा लिन निजीबाट समेत बिरामी आउने भएकाले आर्थिक प्रलोभनमा परेर वीरमा सेवा प्रभावित बनाउन तल्लोस्तरका केही कर्मचारी कस्सिएर लागेका छन् । यस्तो सेवा बाहिर लिए एकपटक सिटिस्क्यान गरेको मात्रै एक लाख रुपैयाँभन्दा बढी शुल्क लाग्छ । तर, वीर अस्पतालले बढीमा तीन हजार रुपैयाँ लिँदै आएको कुरा बताएको छ ।

उपकरण खरिद नगर्न दबाब थियो
निजी स्वास्थ्य संस्थाले समेत सञ्चालनमा नल्याएको सो उपकरण वीर अस्पतालले ल्याउने तयारी थालेदेखि नै कर्मचारीले विरोध गर्न थालेका थिए । ‘जसरी पनि सरकारी अस्पताल बलियो बनाउने उद्देश्यले पदाधिकारीले उपकरण खरिद गर्ने निर्णय लिए,’ अस्पतालका एक कर्मचारीले भने । उपकरण खरिदका लागि हिमालयन मेरिटेक र बायोमेट इन्टरनेसनल प्रालिले टेन्डर हालेका थिए । अस्पतालले बनाएको मापदण्डमा १४ बुँदा नमिलेपछि समितिले बायोमेट इन्टरनेसनलको ठेक्का स्वीकृत गरेको थियो ।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले हिमालयन मेरिटेकको निवेदनमा १४ बुँदा नमिलेको र बायोमेट इन्टरनेसनलको दुईवटा बुँदा मात्रै नमिलेका कारण सिफारिस समितिले बायोमेटलाई स्वीकृत दिएको जानकारी दिए । अपस्पताल र सिफारिस समितिले नै अधिकांश बुँदा नमिले पछि उसले हालेको मूल्य हेरेका थिएनन् । तर, हिमालयन मेरिटेकले १५ करोड ९५ लाख रुपैयाँ टेन्डर हालेको थियो । सोही विषयलाई लिएर सो कम्पनीले अस्पतालका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सेवा रोक्न लगाएको स्रोतले बतायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरमा पटक–पटक अवरोध पु-याउँदै आएका कर्मचारीमाथि विभागीय कारबाही गर्ने तयारी थालेको छ । विभिन्न संस्थाका बिचौलियासँग सहकार्य गरी आफ्नै संस्था धराशयी बनाउन लागिपरेको भन्दै त्यस्ता कर्मचारीको सूची तयार पारिएको मन्त्रालय स्रोतले भन्यो ।

अस्पतालप्रति बढ्दो विश्वास घटाउने खेल
वर्षौंदेखि थलिएको वीर अस्पतालले विगत एक वर्षदेखि आफ्नो गिरेको साख जोगाउन थालेको छ । अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या गत वर्षको भन्दा यस वर्ष एक लाख बढेको छ । गत वर्ष करिब तीन लाख बिरामीले सेवा लिएकोमा यस वर्ष बहिरंग सेवामार्फत चार लाख १२ हजार नौजनाले सेवा लिएका थिए । क्रमिक रूपमा सेवा र सुविधा थप गर्दै लगेकाले वीर अस्पतालले बिरामीको मन जित्न थालेको वीर अस्पतालका निर्देशक डा. बस्नेत बताउँछन् । तर, वीर अस्पतालको सुधारलाई देख्न नचाहने केही कर्मचारीहरू भने कुनै न कुनै बहानामा संस्था धराशयी बनाउन उद्यत भएको देखिएको छ ।

राम्रा उपकरण सरकारी अस्पतालमा किन्न कठिन
डा. प्रकाश विष्ट, डा. गोपालरमण शर्मा, डा. राजीव झाले सो उपकरण आवश्यक ठ-हयाएपछि खरिद गरिएको हो । ‘वीरको साख घटाउने काम दिनप्रतिदिन हुँदै गएको छ । स्तरीय सेवा दिन गुणस्तरीय उपकरण चाहिन्छ, तर गुणस्तरीय सेवा ल्याउँदा अवरोध मात्रै गर्ने हो भने हामीले बिरामीलाई गुणस्तरीय सेवा दिन सक्ने अवस्था रहँदैन,’ अस्पतालका एक पदाधिकारीले भने, ‘सधैँ राम्रा उपकरण खरिद गर्दा महँगोका नाममा दुष्प्रचार गर्ने काम भएको छ । अप्रेसन थिएटरमा अत्यावश्यक उपकरण थन्किएको छ ।

सर्वोच्चमा उजुरी हालेका छन् । बिरामी सेवा पाउनबाट वञ्चित भएका छन् ।’ अत्याधुनिक उपकरण जडान गर्न नसक्दा अहिले दिनमा न्युरोसम्बन्धी १० वटा अप्रेसन मात्रै हुने गरेको छ । ‘यदि खरिद प्रक्रियामा कमजोरी भएको भए कारबाही गर्ने निकाय छ, सेवा नै अवरुद्ध गर्न कर्मचारी संगठित हुनुपर्ने जरुरी छैन,’ ती पदाधिकारीको भनाइ छ ।

के–के हुँदै छ वीर अस्पतालमा ?
जापान नियोग संस्था (जाइका)ले वीर अस्पतालमा तीन तलाको नयाँ भवन आगामी ६ महिनामा हस्तान्तरण गर्दै छ । सो भवनमा एक सय शøया सञ्चालन हुने छ । अत्याधुनिक उपकरण जडान गरिएको सो भवनमा तत्काल क्याथ ल्याब आवश्यक छ, जसको मूल्य एक करोडदेखि १० करोड रुपैयाँसम्म पर्ने बताइन्छ । तर, कर्मचारीहरूको असहयोग र विरोधकै कारण किन्न सक्ने अवस्था नरहेको अस्पतालका एक पदाधिकारीले बताए ।

यस्तै, अस्पताल परिसरमा सात तलाको सर्जिकल भवन बन्दै छ । सो भवनमा सिटिस्क्यान, एमआरआई, पेट स्क्यान किन्नुपर्ने भएको छ । मोडुलर ओटी बनाउनुपर्नेछ । जसको खर्च मात्रै सात करोड रुपैयाँ पर्ने कर्मचारीहरू बताउँछन् । सो भवनमा १६ वटा मोडुलर ओटी रहनेछन् । ‘अर्बौंका उपकरण किन्नुपर्नेछ । विरोध गरेरभन्दा पदाधिकारीलाई सहयोग गरेमा जनताले गुणस्तरीय सेवा पाउनेछन्,’ अस्पतालका निर्देशक बस्नेतले भने ।

कर्मचारीको अवरोधले सञ्चालनमा आउन सकेन
वीर अस्पतालले नेपालमा पहिलोपटक भित्र्याएको अत्याधुनिक उपकरण इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन अस्पतालकै कर्मचारीको अवरोधका कारण तीन महिनादेखि जडान हुन सकेको छैन । सरकारी अस्पतालमै अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन महिनाअघि ल्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान अस्पतालमा कार्यरत केही कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका हुन् ।

उपकरण खरिदका लागि टेन्डर नपाएको हिमालयन मेरिटेकसँग मिलेर अस्पतालका केही कर्मचारीले उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्म उजुरी दिँदै हिँड्न थालेपछि तीन महिनाअगाडि अस्पतालमा आइपुगेको सो उपकरण जडान हुन नसकेको हो । कर्मचारीकै दादागिरीले उपकरण जडान हुन नसक्दा सयौँ गरिब बिरामी सेवा लिनबाट वञ्चित भएको अस्पतालले जनाएको छ । अस्पतालले २० करोड ४९ लाख रुपैयाँमा बायोमेट इन्टरनेसनल प्रालिलाई उपकरण ल्याउने जिम्मा दिएको थियो । सो कम्पनीले अमेरिकाको ब्रेन्ड ल्याब कम्पनीबाट सो सिटिस्क्यान ल्याएको हो ।

प्रतिक्रिया