शिक्षामा स्थानीय तहको दायित्व धेरै, लगानी न्यून
शिक्षाखबर डेस्क
२३ आश्विन २०७५, मंगलवार
no immg

तेह्रथुमको म्याङलुङ नगरपालिकाले कुल ३५ करोड ९९ लाख ४० हजार बजेटमध्ये शिक्षामा जम्मा ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । जो कुल बजेटको ०.९१ प्रतिशत मात्रै हुन्छ । म्याङलुङले स्वास्थ्यका लागि २२ लाख २० हजार विनियोजन गरेको छ । जुन कुल बजेटको जम्मा ०.६१ प्रतिशत हुन्छ ।

-पर्वत जिल्लाको मोदी गाउँपालिकाले शिक्षामा जम्मा १.५८ र स्वास्थ्यमा १.०१ प्रतिशत, महाशिला गाउँपालिकाले शिक्षामा २.०१ र स्वास्थ्यमा ०.२३ प्रतिशत तथा पैयुँ गाउँपालिकाले शिक्षामा १.१४ र स्वास्थ्यमा ०.५९ प्रतिशत बजेट छुट्याएका छन् ।

-नवलपरासीको प्रतापपुर गाउँपालिकाले शिक्षामा ०.०८ र स्वास्थ्यमा भने ६.२६ प्रतिशत बजेट छुट्याएको छ ।

विद्यालय तहको शिक्षा व्यवस्थापनको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । तर, पहिलोपटक बजेट बनाएका स्थानीय तहले भने शिक्षामा गर्नुपर्ने दायित्व बिर्सेर लगानीमा कन्जुस्याइँ गरेका छन् ।

शिक्षामा दीर्घकालीन लाभ पुग्ने योजनासहितका कार्यक्रम बनाउन उनीहरू चुकेका छन् । संघले शिक्षक तथा कर्मचारीको तलबका लागि ससर्त अनुदान रकम विनियोजन गरे पनि स्थानीय तहले आफ्नो स्रोत व्यवस्थापन र लगानीमा ध्यान दिन सकेका छैनन् ।

चालू आर्थिक वर्षमा संघले कुल बजेटको लगभग १० प्रतिशत शिक्षामा विनियोजन गरेको छ । सत्तारुढ दलले चुनावी घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएन । चालू आर्थिक वर्षदेखि नै आधारभूत तह (कक्षा १–८)को शिक्षा अनिवार्य र निःशुल्क गरिएको छ ।

मौलिक हकअन्तर्गत सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन ल्याएको हो । यो दायित्व पूरा गर्न अर्बौँ आर्थिक भार थपिने विज्ञहरुको दाबी छ । तर, विद्यालय तहको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहले समेत शिक्षालाई प्राथमिकतामा राखेको छैन ।

१. पाठ्यक्रम बनाउन र परीक्षा लिन स्थानीय तहको पहल नै छैन

कानुनले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति, अनुगमन, स्थानीय पाठ्यक्रम निर्माणसम्मको अधिकार दिएको छ । शिक्षा ऐनअनुसार कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा एसएलसिई र कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था छ ।

कक्षा १२ को राष्ट्रिय रूपमा र कक्षा १० को प्रदेश स्तरीय रूपमा परीक्षा लिने व्यवस्था छ । पहिले जिल्ला स्तरमा लिइने कक्षा ८ को परीक्षा सञ्चालन गर्ने क्षमताको विकाससमेत केहीबाहेक स्थानीय तहले गरेका छैनन् । स्थानीय तहले परीक्षा लिने क्षमता बनाउन सकेका छैनन् ।

२. विद्यालयबाहिर रहेका बालबालिकाप्रति देखाएनन् जिम्मेवारी

विद्यालय उमेर समूहका हजारौँ बालबालिका अहिले पनि विद्यालयबाहिर छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार चालू शैक्षिक सत्रको सुरुमा प्राथमिक तहमा अध्ययन गर्ने उमेर समूहका १३ हजार बालबालिका विद्यालयबाहिर थिए । दुई चरणमा गरी यस्ता साढे दुई लाख बालबालिकालाई पनि भर्ना अभियानमा सामेल गरायो ।

तर, अब नयाँ शैक्षिक सत्रदेखि यो जिम्मेवारीलाई स्थानीय तहले निरन्तरता दिनुपर्नेछ । केही स्थानीय तहले त त्यस्ता बालबालिकालाई विद्यालयमा ल्याउन पहल गरेका छन् । तर, अधिकांशलाई यो जिम्मेवारीप्रति वास्ता नै छैन । जबकि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने अधिकार स्थानीय तहलाई नै दिइएको छ ।

यस्ता बालबालिकालाई विद्यालयमा ल्याउन विभिन्न छात्रवृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तकलगायत सुविधा दिएर आकर्षणको प्रयास स्थानीय तहले गर्न सक्छ । चालू शैक्षिक सत्रमा केन्द्रले नै भर्ना अभियान कार्यक्रम सञ्चालन गरे पनि अब यो जिम्मेवारी स्थानीय तहले नै पूर्णरूपमा बहन गर्नुपर्ने छ ।

सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन ल्याएपछि कक्षा ८ सम्म बालबालिकालाई अनिवार्य र निःशुल्क रूपमा पढाउनुपर्ने जिम्मेवारी पनि स्थानीय तहको थाप्लोमा छ । तर, यो जिम्मेवारी हाँक्न पनि पर्याप्त गृहकार्य गरेका छैनन् ।

३. एक दशकदेखि सरकारले पूरा गर्न नसकेको पूर्णसाक्षर अभियान स्थानीय तहकै काँधमा

सरकारले एक दशकदेखि दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा पटक–पटक गर्दै आएको छ । तर, पूर्णसाक्षर बनाउने अभियान पूर्ण कार्यान्वयन भएको छैन । अहिले पनि ६ देखि ६० वर्ष उमेरका २२% नागरिक निरक्षर छन् । अब यो दायित्व पनि स्थानीय तहमै पुगेको छ ।

देशमा विद्यालय उमेर समूहका लाखौँ विद्यार्थी विद्यालय नै नदेखी प्रौढ निरक्षर हुने गरेका छन् । अहिलेसम्म ४७ जिल्ला ‘साक्षर जिल्ला’ घोषणा भएका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्ला साक्षर घोषणा भएका छन् । तर, प्रदेश २ का आठवटै जिल्ला साक्षर बन्न सकेका छैनन् ।

४. शिक्षक दरबन्दी मिलानमै समस्या, एउटै स्थानीय तहमा असमान वितरण

देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको पाइएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।

कतिपय विद्यालयमा शिक्षक दरबन्दी नै शून्य त कतै शिक्षक एकैठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ । यो समस्या समाधान गर्नेतर्फ स्थानीय तह गम्भीर बनेका छैनन् । शिक्षकको दरबन्दीसमेत मिलान गर्न नसक्ने स्थानीय तहबाट शैक्षिक सुधार सम्भव छैन ।

विभिन्न जिल्लामा शिक्षक–विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाअनुसार विद्यार्थी–शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा उपत्यकामा ४० रहनुपर्ने उल्लेख छ ।

कपिलवस्तु जिल्लाको प्राथमिक तहमा विद्यार्थी–शिक्षक अनुपात औसत ६४ छ, तर सोही जिल्लाको वाणगंगा नगरपालिकामा २५ र विजयनगर गाउँपालिकामा एक सय २६ रहेको कार्यदल बताउँछ । कैलालीको प्रावि तहमा शिक्षक विद्यार्थी अनुपात ५१ छ, तर बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकामा ७८ छ भने कैलारीमा ३१ मात्र छ ।

प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपात १७ रहेको सल्यानमा बनगाड कुपिण्डे नगरपालिकामा ८७ छ । जनप्रतिनिधिले स्थानीय तहभित्रकै शिक्षक व्यवस्थापन गर्नसम्म सकेका छैनन् ।

संघीय शिक्षा ऐन नबन्दा कतिपय स्थानीय तह अप्ठ्यारोमा परेका छन्
प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

शिक्षाको अधिकार पाएपछि स्थानीय तहले दायित्व पनि पूरा गर्नुपर्छ । केहीले राम्रा अभ्यास पनि गरेका छन् । शिक्षामा सबै बालबालिकाको पहुँच विस्तार गर्ने, विद्यालयमा निरन्तरता दिने र गुणस्तर कायम गर्ने योजना तथा कार्यक्रम बनाउनुपर्छ । स्थानीय तहले गर्नुपर्ने र सक्ने काम धेरै छन् ।

निजी र सामुदायिक विद्यालयबीचको खाडल हटाउनुपर्ने, स्थानीय पाठ्यक्रम बनाउनुपर्ने, शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, प्रविधिमा आधारित शिक्षाका लागि योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता छ ।

संघीय शिक्षा ऐन नबन्दा कतिपय स्थानीय तहलाई कानुनी रूपमा काम गर्न कठिन छ । संघीय शिक्षा ऐन बनेपछि प्रदेश शिक्षा ऐन बन्ने र त्यसपछि मात्र स्थानीय तहले ऐन बनाउन पाउने व्यवस्था छ । संघीय ऐन नै नबनेकोले प्रदेश र स्थानीय तह अन्योलमा देखिएका छन् ।

संघीय शिक्षा ऐनको मस्यौदा निर्माण भइरहेको छ:गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

संघीय शिक्षा ऐनको मस्यौदा निर्माण भइरहेको छ । ऐन बनेपछि धेरै समस्या समाधान हुन्छन् ।

किन परेन प्राथमिकतामा शिक्षा ?

लामो समयपछि स्थानीय तहहरू गठन भएकाले एकैपटक सबै विषय सम्बोधन हुन नसकेकोे पूर्वमुख्यसचिव सोमलाल सुवेदीको भनाइ छ । चुनावमा सडक र भवन बनाउँछौँ भनेर प्रतिबद्धता गरेका दलहरूले स्थानीयस्तरको विकास र समृद्धि भनेकै त्यही हो भन्ने सोचले काम गर्ने गरेको उनको भनाइ छ । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले केन्द्रीय सरकारलाई ‘शिक्षाभन्दा ठूलो बन्दुक’ लागेकाले सेनामा लगानी बढाएको र शिक्षा र स्वास्थ्यमा लगानी घटाएको बताए ।

शिक्षाविद् वाग्लेले भने, ‘पछिल्लो ५ वर्षको बजेटलाई विश्लेषण गर्ने हो भने सेना र हातहतियारमा प्रत्येक वर्ष ३० प्रतिशतभन्दा बढी लगानी बढाउँदै गइरहेको छ । तर, शिक्षामा १० वर्षपहिले भएको लगानीलाई पनि घटाएर १० प्रतिशतभन्दा मुनि झरेको छ ।’ सेना र पुलिसमा लगानी बढ्ने, तर शिक्षामा लगानी घटिरहनुले राज्यको प्राथमिकता केमा छ भन्ने स्पष्ट भएको उनले बताए ।

उनले स्थानीय तहले शिक्षालाई प्राथमिकता नदिएको भन्न नमिल्ने बताए । उनले भने, ‘केन्द्रीय सरकारले के विषयलाई बढी प्राथमिकता दियो, त्यहीअनुसार स्थानीय सरकारले पनि बजेट निर्धारण गर्ने हो । अहिल्यै स्थानीय तहसँग निराश हुनुपर्दैन ।’ केही स्थानीय तहले शिक्षामा लगानी बढाएकाले अरूले पनि सिक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया