मनाङ ङिस्याङ– १ को भ्राताङस्थित संघीय सांसद पाल्देन छोपाङ गुरुङको स्याउ बगानमा लटरम्म फलेका स्याउ हातमा लिँदै प्रधानमन्त्री केपी ओलीले भने, ‘सञ्चारकर्मी साथीहरू, यो सुन्दर प्रयासलाई सबै नेपालीसमक्ष पु-याउनू ताकि उनीहरू सफल व्यवसायी र उद्यमी बन्न सकून् ।’
यत्तिकैमा रोकिएनन् उनी, लटरम्म फलेका स्याउका बगैँचा अवलोकन गर्न लागे । ब्रिफिङमा थिए, स्याउ उद्यमी सांसद गुरुङ । प्रधानमन्त्री ओली बगैँचाको मध्य भागमा रोकिए । बोटमा झुन्डिएका स्याउका राता दानातर्फ हात लगे । हात टक्क अड्याए । क्यामेरातर्फ फर्किएर भने, ‘स्याउका यी राता दानाले देशमा नयाँ प्रेरणा भरेको छ । यसैगरी, अब मुस्ताङ, कालिकोट र जुम्लामा पनि स्याउ फल्नेछन् । सरकारले कृषकलाई एक लाख बिरुवा अनुदानमा दिनेछ । १० करोड रुपैयाँ सरकारले विनियोजन गरिसकेको छ । यस्ता प्रयासलाई सरकारले हरतरहले सघाउनेछ ।’
८० हजार स्याउका बेर्ना एयरपोर्टमै कुहिने भएपछि गुरुङ हतास
एग्रो मनाङ प्रालिमार्फत सांसद गुरुङले चार वर्षअघि स्याउ बगान सुरु गर्दा सायदै सोचेका थिए, यो स्याउ बगान त्यही प्रधानमन्त्रीबाट उद्घाटन हुनेछ, जसको कार्यकालमा भएको नाकाबन्दीले सारा योजना झन्डै चौपट पारिदिएको थियो ।
भूकम्पलगत्तै ४ असोजदेखि मुलुकमा भारतको अघोषित नाकाबन्दी लाग्यो । मुलुकमा इन्धनको चरम अभाव भयो । त्यही वेला इटालीबाट गुरुङले जहाजमार्फत काठमाडौंमा स्याउका बेर्ना झारे । तर, मनाङसम्म ल्याउन उनको बुताले भ्याएन, किनकि मुलुकमा इन्धन अभाव थियो । यातायातका सबै साधन ठप्प थिए । ८० हजार स्याउका बेर्ना एयरपोर्टमै कुहिने भएपछि गुरुङ हतास बने । यो खबर तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष पुग्यो । ओलीले स्याउका बेर्ना मनाङसम्म ल्याउन सहज गरिदिए ।
३० करोड खर्चमा सात सय ३५ रोपनीमा फैलिएको स्याउ बगान प्रधानमन्त्री ओलीबाटै उद्घाटन गर्न पाउँदा गुरुङका आँखामा हर्षका आँसु टिलपिलाइरहेका देखिन्थे । उद्घाटनभन्दा एक दिनअघि स्याउ बगानमै भेटिएका गुरुङले नयाँ पत्रिकासँग भनेका थिए, ‘टुटिसकेको मेरो सपना एक हदसम्म पूरा भएको छ । तीन वर्षअघिको नाकाबन्दीले यो सपना झन्डै सकिएको थियो । अब मलाई केही चिन्ता छैन । गत साल तीन सय मेट्रिकटन स्याउ उत्पादन भयो । यो साल पाँच सय मेट्रिकटन उत्पादन हुनेछ । यो भनेको बे्रक इभेन हो ।’
स्याउ बगानमै कोल्डस्टोरदेखि प्रशोधन केन्द्रसम्म
एग्रोले बगानमै स्याउको कोल्डस्टोर, प्रशोधन केन्द्रदेखि प्याकिङ हाउससम्म खोलिसकेको छ । अब छिटै नै जुस उत्पादन गर्ने कारखाना पनि बगानआसपास नै खोल्नेछ । साथै, यसले कम्पनीको ब्रान्डिङ गर्नेछ, जसलाई अन्तर्राष्ट्रियकरण गर्नेछ । ‘फलेकाजति स्याउ सबै खानाका लागि प्रयोग हुन्छन् भन्ने छैन ।
विशेषगरी साना स्याउ बिक्री हुन्नन्, तिनलाई जुस बनाउने हो । वाइन पनि बनाउन सकिन्छ । यसलाई हामी अब ब्रान्डिङ गर्छौं । हामी बजारमा अब आक्रामक ढंगले आउँछौँ,’ एग्रोका प्रबन्ध निर्देशक गुरुङले भने । एग्रोले सुरुवाती चरणमा एक सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो, त्यो संख्या अहिले घटेर ५५ मा झरेको छ । बगान बनाउनुपर्ने भएकाले सुरुवाती चरणमा धेरै कामदार प्रयोग भएका थिए । अहिले स्याउ टिप्ने र केही प्राविधिक मात्रै भए पुग्छ ।
नेपालमा स्याउको १४ अर्बको बजार
एग्रो मनाङका अनुसार नेपालमा स्याउको मात्रै करिब १४ अर्ब रुपैयाँको बजार छ । जसमध्ये अधिकांश हिस्सा भारतीय स्याउको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले अब यो बजार आफ्नै बगानमा उत्पादन भएको स्याउले हस्तक्षेप गर्न चाहेको बताए । ‘नेपाली बजारमा करिब १४ अर्बको स्याउ कारोबार हुन्छ । यी सबै विदेशबाट आयातीत छन् । अब हामी यसलाई तोड्न चाहन्छौँ । केही वर्षमै कुल स्याउ बजारको २ प्रतिशत हिस्सा हामी ओगट्छौँ । त्यसपछि विदेशमा हाम्रो उत्पादन लैजान्छौँ,’ उनले भने ।