दाङ/सरकारले प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल स्थापना गर्ने घोषणा गरे पनि दाङका प्रायः स्थानीय तहमा अस्पताल खोल्ने तयारीसम्म गरिएको छैन । २०७३ सालमै सरकारले प्रत्येक स्थानीय तहमा सरकारी अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो । तत्कालीन मन्त्रिपरिषद् बैठकले संविधानको मर्मअनुसार जनतालाई स्वास्थ्यको प्रत्याभूति दिलाउन प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । डेढ वर्षअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले पनि निर्वाचनका क्रममा स्थानीय तहमा अस्पताल स्थापना गर्ने एजेन्डालाई प्राथमिकता दिएका थिए । दाङमा १० स्थानीय तह रहेका छन् ।
सामान्य उपचारका लागि जिल्लाबाहिर
जिल्लाका तीन स्थानमा हाल ठूला खालका अस्पताल सञ्चालनमा छन् । घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुर उपमहानगरपालिकामा राप्ती अञ्चल अस्पताल र लमही नगरपालिकामा लमही अस्पताल सञ्चालनमा छ । यी तीनवटै अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेको जनगुनासो छ । ग्रामीण भेगमा सामान्य उपचारका लागि पनि सरकारी तवरबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको छैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने अवस्था छ । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएपछि विशेषज्ञ चिकित्सक सरुवा भएर बाहिर गएका छन् । अन्य अस्पतालमा चिकित्सक भेटाउन गाह्रो छ ।
तीन स्थानीय तहमा सामान्य तयारी
जिल्लाका तीन स्थानीय तहमा अस्पताल स्थापनाका लागि सामान्य तयारी गरिएको छ । बंगलाचुली, गढवा र शान्तिनगर गाउँपालिकामा अस्पताल खोल्ने प्रयास थालिएको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले असोजमा १५ शैय्याकाेअस्पताल स्थापना गर्ने घोषणा गरेका थिए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले सभामुख महराको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही रकम र गाउँपालिकाको संयुक्त प्रयासबाट यसै वर्षदेखि अस्पताल स्थापनाको सुरुवात गरिने जानकारी दिए ।
यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा स्वास्थ्य मन्त्रालयले जिल्ला भवन डिभिजन कार्यालयमार्फत अस्पताल स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको तयारी थालेको छ । गढवा गाउँपालिकाका प्रमुख सहजराम यादवले हालको गढवा अस्पताललाई नै स्तरोन्नति गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
सरकारको सहयोग पाएनौँ : स्थानीय तह
स्थानीय तहका प्रमुखहरूले संघीय सरकारका तर्फबाट कुनै निर्देशन वा सहयोग नआएकाले अस्पताल स्थापना गर्ने उद्देश्य पूरा हुन नसकेको बताएका छन् । अस्पताल स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणदेखि जनशक्ति व्यवस्थापनसम्मका लागि ठूलो रकम आवश्यकता पर्ने र त्यो स्थानीय तहबाट मात्र सम्भव नभएकाले केन्द्रीय सरकारको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।
बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेलले चालू आर्थिक वर्षको गाउँसभाबाट १५शैय्याको अस्पताल स्थापना गर्ने निर्णय भए पनि रकम अभावका कारण कार्यान्वयन गर्न नसकिएको बताए । ‘निर्वाचनका क्रममा हामीले अस्पताल स्थापना गर्ने कुराको प्रतिबद्धता मतदातामाझ राखेका हौँ । गाउँसभा बैठकबाट निर्णय पनि गरेका छौँ,’ उनले भने, ‘तर हाम्रो प्रयासले मात्र सम्भव नदेखिएपछि निर्णय कार्यान्वयन हुन सकेको छैन ।’