काठमाडौं/८० वर्ष पुरानो सूत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विषका रूपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रूप लिएको भन्दै सार्वजनिक रूपमै आमनागरिकलाई सचेत गराएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।
‘पुरानै ढर्रामा उत्पादिन एन्टिबायोटिकले रोगका जीवाणु मार्न नसकेको विश्वव्यापी अनुसन्धानले देखाएको छ,’ मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले भने, ‘बिरामीले आवश्यकताविना यस्ता एन्टिबायोटिक प्रयोग गर्नु झन् खतरनाक हुन्छ ।’
एन्टिबायोटिकको क्षमता कमजोर भएपछि मानिसहरू सामान्य स्वास्थ्य समस्यामा पनि खतरामा रहेको डा. सिंहले बताए । जबकि ८० वर्षदेखि प्रयोगमा ल्याइएको एन्टिबायोटिकले सन् १९९५ सम्म रोग निको बनाउन सक्थ्यो ।
एन्टिबायोटिकको गलत प्रयोगले झन् समस्या बढाएको स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव बताउँछन् । ७ दिन खाने भनेको एन्टिबायोटिक ४ दिन खाएर छाड्ने चलनले पनि ठूलो समस्या निम्त्याएको उनको भनाइ छ ।
पशुसेवा विभागकी उप–महानिर्देशक डा. सम्झना काफ्लेले कूल खपतको दुईतिहाइ एन्टिबायोटिक पशुमा प्रयोग हुने बताइन् । रुघाखोकी लागे पनि एन्टिबायोटिक दिने, माछा, कुखुरा, पशुपक्षी र उसले खाने दानामा पनि दिने कारण एन्टिबायोटिकले रोगसँग लड्ने क्षमता कमजोर भएको काफ्ले बताउँछिन् ।
मापदण्ड नपुगेका ५० लाख एन्टिबायोटिक क्याप्सुल बजार लैजान रोक
सरकारले मापदण्ड नपुगेको भन्दै दुई कम्पनीले उत्पादन गरेका ५० लाख एन्टिबायोटिक क्याप्सुल बजार लैजानै रोक लगाएको छ । सम्झौताअनुसारको मापदण्ड पूरा नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले बाँकी उत्पादनमा समेत रोक लगाएको छ ।
टायम र सुमी फर्मास्युटिकलले एन्टिबायोटिक बनाउन चीनबाट आयात गरेको कच्चा पदार्थ गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) अनुसार नभएकाले रोकिएको मन्त्रालयकी औषधि व्यवस्थापक संगीता साहले बताइन् । यी कम्पनीले २ करोड एन्टिबायोटिक क्याप्सुल उत्पादनको जिम्मा तत्कालीन आपूर्ति व्यवस्था महाशाखाबाट पाएका थिए ।