म्याग्दी/यातायातको सुविधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका बासिन्दा अहिले पनि बिरामीलाई डोकोमा बोकेर अस्पताल पु-याउन बाध्य छन् । रघुगंगा गाउँपालिका– ७ चिमखोला र ८ को कुइनेमंगलका स्थानीयले बिरामीलाई अस्पताल पु-याउन डोकोको सहारा लिने गरेका छन् ।
चिमखोला र कुइनेमंगलका बासिन्दाले सदरमुकाम पुग्न एक दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । छरिएर बस्तीहरू रहेको वडा नं. ७ कुइनेमंगलेका स्थानीयले घ्याँसीखर्कमा रहेको स्वास्थ्यचौकीसम्म पुगेर स्वास्थ्य सेवा लिनसमेत निकै कठिन छ । सो क्षेत्रका मानिसमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्न नसकेको पात्लेखर्कका युवा अंकित पुनले बताए । उनका अनुसार कुइनेखानीका स्थानीयलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि चार घन्टाभन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कोही बिरामी भयो भने सजिलै स्वास्थ्यचौकीमा पुग्न सक्ने अवस्था छैन, स्ट्रेचर नहुँदा डोकोमै बोकेर बिरामीलाई अस्पताल लैजानुपर्छ,’ उनले भने ।
स्वास्थ्यचौकीबाट सेवा लिनसमेत कठिन
स्वास्थ्यचौकीसमेत अस्तव्यस्त छ । साँघुरो भवनबाट सेवा दिनुपर्ने बाध्यता छ । निर्माणाधीन भवन नदी कटानले क्षति पु-याएपछि अन्योल बनेको छ । औषधि भण्डारण गर्ने ठाउँ छैन । तोकिएका दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । हेल्थ असिस्टेन्टको दरबन्दी रहे पनि अहिलेसम्म कर्मचारी नआएको कारण अहेवको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको स्वास्थ्यचौकीमा कार्यरत अहेव देवेन्द्र बुढाले बताए ।
‘एक बस्तीबाट अर्को बस्तीमा जान घन्टौँ लाग्छ, पर्याप्त जनशक्ति, स्रोत र साधनको अभाव हुँदा सेवा प्रवाह प्रभावकारी बनाउन समस्या छ,’ उनले भने । रघुगंगा गाउँपालिकाको कुइनेमंगलेसँगै चिमखोलाको पात्लेखेत, पाखापानीको ठाडखानी, दग्नामको दरमिजा, गाउँपालिकाकै केन्द्र मौवाफाँट, कलेजाबाङलगायतका ठाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्न सकेको छैन ।
गाउँपालिकामा पूर्वाधार र जनशक्तिको अभाव
आठवटा स्वास्थ्यचौकी रहेको रघुगंगा गाउँपालिकामा स्वास्थ्य सेवा दिन भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको छ । चिमखोला, बेग, दग्नाम र झिँमा भवनको समेत अभाव छ । कुइनेमंगलेमा निर्माणाधीन स्वास्थ्यचौकी भवनमा नदी कटानले क्षति पु-याएपछि अन्योल बनेको छ ।
स्वास्थ्यमा न्यूनतम जनशक्ति रहे पनि तालिममा पठाउनुपर्ने र थप जनशक्ति माग गर्ने कुरा अन्योल रहेकाले केही समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक शिवप्रसाद पाण्डेले बताए । उनका अनुसार अहिले गाउँपालिकाभित्र दुईजना हेल्थ असिस्टेन्ट, तीनजना अहेव, दुईजना अनमिको दरबन्दी रिक्त छ ।
गर्भवती महिलालाई सुरक्षित रूपमा सुत्केरी गराउन पिप्ले, भगवती र पाखापानी स्वास्थ्यचौकीमा मात्रै प्रसूतिगृह सञ्चालनमा छ । यो वर्ष झिँमा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टीकाबहादुर शाहीले बताए । ५ वर्षभित्र सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवालाई विस्तार गर्ने योजना बनाएको उनले बताए ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा प्रसूतिगृह स्थापना गर्न प्रक्रिया सुरु भएको बताए । उनले झिँमा प्रसूति केन्द्र सञ्चालनका लागि पालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको र आवश्यक उपकरण तथा पूर्वाधारको व्यवस्था गरेर प्रसुतिगृह सञ्चालन गर्न पहल गर्ने बताए ।