सुदूरपश्चिमाञ्चल विश्वविद्यालय : रिले अनशनमा विद्यार्थी
शिक्षाखबर डेस्क
९ पुष २०७५, सोमबार
no immg

कञ्चनपुर — प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले रिले अनशन सुरु गरेको एक साता भएको छ ।

केन्द्रीय क्याम्पसमा क्याम्पस प्रमुखले मनोमानीढंगले कर्मचारी भर्ना गरे पनि विश्वविद्यालयका पदाधिकारीहरू भने मौन छन् । बरु प्रक्रियाभन्दा पनि आवश्यक कर्मचारी भर्ना जरुरी भएको उनीहरूको प्रतिक्रिया छ ।

‘केन्द्रीय क्याम्पसमा कर्मचारीको अभाव छ, ल्याबमा कर्मचारी नहुँदा काम गर्नै गाह्रो छ,’ उपकुलपति भूषण श्रेष्ठले भनिन्, ‘विज्ञापन गर्दा पनि विरोध गर्ने, कर्मचारी भर्ना गर्दा पनि विरोध गर्ने कसरी काम हुन्छ ?’ उनले क्यामपस प्रमुखले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गर्न पाउने बताइन् ।

विश्वविद्यालयका स्वतन्त्र विद्यार्थीहरूको समूह इन्टिग्रिटी फोरमले पुस १ देखि अवैध भर्ना खारेज गरी प्रक्रिया पुर्‍याएर मात्रै कर्मचारी भर्नाको माग गरेको छ । स्रोतका अनुसार क्याम्पसप्रमुख भुपेन्द्र विष्टले दैनिक ज्यालादारीमा २० कर्मचारी र ८ आंशिक प्राध्यापक नियुक्त गरेका छन् ।

‘क्याम्पस प्रमुख र यहांँका कर्मचारीले आफ्ना नातागोता पर्नेलाई नै कर्मचारीमा नियुक्त गरेका छन्,’ इन्टिग्रिटी फोरमका अध्यक्ष चन्द्रदेव बडूले भने, ‘विश्वविद्यालयका पदाधिकारी पनि मौन छन् ।’ उनले विश्वविद्यालयलाई आफन्त भर्ती केन्द्र बनाउन लागिएकाले रिले अनशन सुरु गरिएको बताए । यो विश्वविद्यालय सरकारको पूर्ण स्वामित्वमा सञ्चालित छ ।

संघीय सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी जारी गरिएको नीतिगत मार्गदर्शन २०७५ को बुँदा नं. ८ मा नयांँ दरबन्दी सिर्जना नगर्ने, स्वीकृत दरबन्दीबाहेक अस्थायी, दैनिक ज्यालादारी र करारमा कर्मचारी भर्ना नगर्ने उल्लेख गरिएको छ । यो मार्गदर्शनलाई लत्याएर एकै पटक २८ कर्मचारीलाई दैनिक ज्यालादारीमा भर्ना गरिएको छ ।

असार दोस्रो साता मानविकी संकायका विभागीय प्रमुख खगेन्द्र जोशीले कर्मचारी भर्नाका लागि विज्ञापन खोल्दा अवैध भएको भन्दै विश्वविद्यालयले कारबाही गरेर उनलाई परीक्षा नियन्त्रण कार्यालयमा काज सरुवा गरेको थियो । त्यतिबेला रजिस्ट्रार कार्यालयले विज्ञापन रद्द गर्न लगाएर जोशीलाई काज सरुवा गरेको हो । ‘विज्ञापन खोलेर कर्मचारी भर्ना गर्न खोज्दा कारबाही हुने, अनि आफन्त र नातागोतालाई भर्ना गर्दा ठीक हुने ? रिले अनशनमा बसेकाफोरमका सचिव सुरेन्द्रसिंह साउँदले भने, ‘सबैका आफन्त भर्ना गरिएकाले तैं चुप मै चुपको अवस्था छ ।’

क्याम्पस प्रमुख विष्टले सही ढंगले काम गराउनकै लागि विश्वासिलाहरूलाई भर्ना गरिएको बताउँदै आएका छन् । उनले सबै विभागीय प्रमुखको आग्रहमै कर्मचारी भर्ना गरिएको बताए । उनले प्राध्यापकहरू अध्ययन बिदामा भएकाले कतिपय विभाग खाली भएको र कर्मचारी पनि नभएकाले विज्ञापन गराउँदासम्म वैकल्पिक रूपमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरिएको बताए । ‘केही कर्मचारी र प्राध्यापकले नै भड्काएर विद्यार्थी आन्दोलनमा छन्,’ उनले भने, ‘विद्यार्थीलाई बुझाउन सकिएको छैन, बुझेपछि आन्दोलन रोकिन्छ ।’

प्रतिक्रिया