बर्दिया/ गुल्मी/अर्घाखाँची : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएपछि चौतर्फी आलोचना भयो । विद्यालय खाली हुँदै गए । निजी विद्यालय खोल्ने क्रम बढ्यो । अहिले अवस्था फेरिँदै गएको छ । सरकारको लाखौं लगानी रहेको सामुदायिक विद्यालयमा अभिभावकले चासो बढाएपछि तंग्रिन थालेका छन् । विद्यालयमा विद्यार्थीको चाप बर्सेनि बढ्दो छ भने शैक्षिक गुणस्तरमा समेत अब्बल हुँदै गएका छन् ।
मर्जमा परेको विद्यालय नमुना
सन्धिखर्कको जनता आधारभूत विद्यालय विद्यार्थी अभावले पटक–पटक मर्जको सूचीमा पर्यो । १ देखि ३ सम्म पढाइ हुने विद्यालय दुई वर्षअघि जम्मा ७ जना विद्यार्थी थिए । ०४० सालमा घरबाट अन्न उठाएर सञ्चालन गरेको विद्यालय विद्यार्थी अभावले बन्द हुने निश्चित भएपछि स्थानीय जागरुक बने । पढाइको गुणस्तर नहुनु र निजी विद्यालय मोह विद्यार्थी घट्नुका कारण पहिचान गरेर समाधानको बाटो खोजियो ।
गाउँले भेला भए । अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय भयो । गाउँमा रहेका सबै बालबालिका यसै विद्यालयमा पढाउने, पढाइको गुणस्तर र विद्यालयको भौतिक संरचना निर्माण गर्न जुट्ने निर्णय गरे ।
अभिभावक आफैं जुटेपछि यो विद्यालय अहिले जिल्लाकै नमुना बनेको छ । खाली भएका कक्षाकोठा भरिएका छन् । अभिभावकले बोर्डिङ छाडेर यही विद्यालयमा छोराछोरी भर्ना गरेका छन् । दुई वर्षअघि ७ जना मात्र विद्यार्थी रहेको विद्यालयमा अहिले ७२ जना पुगेको विद्यालयका अध्यक्ष शिवलाल पोखरेलले बताए । ‘सबै मिलेर गाउँको स्कुल नमुना बनाउन लागेका छांै । सबै मिलेपछि सकिँदो रहेछ,’ उनले भने, ‘अंग्रेजी माध्यमबाट पढाएका छौं । सन्धिखर्कका निजी विद्यालयको भन्दा हाम्रो विद्यालयको पढाइमा कुनै कमी छैन ।’
यस गाउँका कुनै पनि विद्यार्थी बोर्डिङ स्कुलमा जाँदैनन् । अभिभावकले आफ्नै गाउँको विद्यालयलाई बोर्डिङभन्दा राम्रो बनाउन लागिपरेका छन् । हरियाली वातावरणमा रहेका विद्यालयलाई नमुना बनाउन गाउँले पनि सक्रिय छन् । समय– समयमा विद्यालय हाताभित्र सफा गर्ने, लिपपोत, रंगरोगनलगायत काम अभिभावकले गर्दै आएका छन् ।
‘छोराछोरीको भविष्य बनाउने विद्यालय सुधार्नुपर्छ भन्ने गाउँलेले मनन गरेपछि विद्यालयमा विद्यार्थी संख्या मात्र होइन, पढाइको गुणस्तर पनि निकै बढेको छ’, शिक्षक केशव पोखरेलले भने । अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न आर्थिक समस्या हुने भएपछि विद्यार्थी र अभिभावकले तिहारमा देउसी–भैलो खेलेर ३ लाख रुपैयाँ संकलन गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख पीताम्बर भुसालले स्थानीय कस्सिए विद्यालय सुधारमा कत्ति पनि समय नलाग्ने बताए ।
चन्दाले चल्छ मावि
गुल्मीका धेरैजसो माध्यमिक विद्यालय अभिभावकको सहयोगले चलेका छन् । आधारभूत तहसम्म स्वीकृत लिएर चलेका विद्यालयले अनुमति लिएर मावि तहसम्म पढाइ सञ्चालन गरिरहेका छन् । यी विद्यालयमा पर्याप्त दरबन्दी छैनन् ।
प्रावि तहको दरबन्दीमा कार्यरत शिक्षकले माविसम्म पढाउनुपरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–५ अमरअर्वाथोक गुल्मीमा सञ्चालित शारदा मावि ०६८ सालदेखि अभिभावकको भरबाटै धानिएको छ । यस विद्यालयमा कक्षा ५ सम्म मात्र स्वीकृत छ । तर, १० सम्म अनुमति लिएर कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक जीवलाल पौडेलले बताए । उनले विभिन्न समयमा अभिभावकबाट १४ लाख ५० हजार रुपैयाँ सहयोग संकलन गरेको जानकारी दिए । स्थानीयले चौरासीपूजाको रकमसमेत विद्यालयलाई दान दिने गरेको उनले बताए ।
विद्यालयले जुटेको सहयोग रकम अभिभावकलाई नै वार्षिक १२ प्रतिशत ब्याजदरमा ऋणमा लगानी गरेको छ । ऋणमा लगेकाहरूले वार्षिक सावाँ र ब्याज बुझाउने गर्छन् । यसैबाट जुटेको रकमले निजी स्रोतबाट कार्यरत चार जना शिक्षकलाई तलब खुवाउन सजिलो भएको छ । पैसा नपुग्ने भएकाले विभिन्न शीर्षकबाट विद्यालयलाई गाउँपालिका र वडा कार्यालयले उपलब्ध गराएको रकम बचाउने गरिएको छ । निजी स्रोतबाट कार्यरत शिक्षकलाई मासिक करिब ६५ हजार रुपैयाँ आवश्यक पर्ने प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा २ सय २७ विद्यार्थी अध्ययनरत छन् । शारदाजस्तै जिल्लाको मध्यक्षेत्रमा अवस्थित गुल्मी दरबार गाउँपालिकाका पदमबहादुर माध्यमिक विद्यालय पनि अभिभावकको सहयोगबाट सञ्चालित छ । आठ कक्षासम्म स्वीकृत भए पनि १० कक्षासम्म चलाउनुपरेको प्रधानाध्यापक नेत्र ज्ञवालीले जानकारी दिए । माविमा शून्य दरबन्दी रहेको उनले बताए । १३ महिना तलबका लागि वार्षिक आठ लाख रुपैयाँ आवश्यक पर्ने ज्ञवालीले जानकारी दिए । अभिभावकको साथसहयोगले विद्यालय सञ्चालन मद्दत मिलेको उनले बताए । वलीथुममा पर्ने टापु, गापटुङ, लुम्पे, डठुंगा, ढावकुनालगायत गाउँबाट विद्यार्थी पढ्न आउने गरेका छन् ।
पढ्दै, सिक्दै, कमाउँदै
प्राविधिक शिक्षा सुरु गरेका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै र कमाउँदै अभियान सुरु गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–४ स्थित ढोडरीमा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई कृषि उद्यमका लागि प्रेरणा दिन अभियान सुरु गर्न लागेको हो ।
स्वदेशमै उद्यम गर्न प्रेरित गर्न विद्यालयमा पढ्दै, सिक्दै, कमाउँदै अभियान सुरु गर्न लागिएको प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए । उनले भने, ‘आर्थिक विपन्नताका कारण वद्यार्थीको आकर्षण घट्दै गएपछि प्राविधिक शिक्षासँगै अभियान चलाइएको हो ।’
आगामी आर्थिक वर्षदेखि कक्षा ९ देखि नै कृषि प्राविधिक शिक्षामार्फत विद्यार्थीलाई कृषि उद्यमी बनाउने योजना विद्यालयको छ । विद्यालयले १५ वर्षका लागि २० बिघा जग्गा भाडामा लिने तयारी गरिसकेको छ । कृषि अध्ययन गर्ने विद्यार्थीले प्राक्टिकलस्वरूप सातामा १५ घण्टा श्रम गरेबापत प्रतिघण्टा ७५ रुपैयाँका दरले भुक्तानी दिने व्यवस्था गरिएको छ ।
विद्यालयमा प्राविधिक शिक्षातर्फ १८ महिने र ३ वर्षे सिभिल तथा इलेक्ट्रोनिक्स ओभरसियर र साधारण गरी १७ सय जना विद्यार्थी अध्ययनरत छन् । जसमा प्राविधिक शिक्षातर्फ कर्णाली अञ्चलका ६३ जना विद्यार्थी अध्ययन गर्छन् ।