१२८ वर्षपछि वीरको इमर्जेन्सीमा नर्सिङसेवा
शिक्षाखबर डेस्क
७ माघ २०७५, सोमबार
no immg

काठमाडौं / स्थापनाको एक सय २८ वर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) वीर अस्पतालले इमर्जेन्सीमा नर्सिङसेवा सुरु गरेको छ । नर्सिङले दिएकोजस्तो प्रभावकारी सेवा चिकित्सक र अहेवले दिन नसकेपछि अस्पतालले पहिलोपटक इमर्जेन्सीमा नर्स परिचालन गरेको हो । यसअघि अहेव र डाक्टरहरूले मात्रै इमर्जेन्सीका बिरामीलाई उपचारसेवा दिँदै आएका थिए ।

वीर अस्पताल नर्सिङ निर्देशक हीराकुमारी निरौलाका अनुसार पहिलो चरणमा दशजना नर्सलाई इमर्जेन्सीमा परिचालन गरिएको छ । इमर्जेन्सीमा भर्ना भएका बिरामीमा डाक्टरले दिने आइभी क्यानुला, स्लाइनजस्ता सेवामा समेत कमजोर देखिएपछि नर्स परिचालन गरिएको हो । अस्पतालमा नर्सिङ जनशक्ति अत्यन्तै न्यून भएका कारण वीरले पटक–पटकको प्रयासमा पनि वीरले इमर्जेन्सीमा नर्स परिचालन गर्न सकेको थिएन । तर, यसपटक २० जना अनमीको दरबन्दी संघीय संरचनामा काटिएपछि बाध्य भएर नर्स राख्नुपरेको हो ।

६६५ नर्स आवश्यक
वीर अस्पतालमा न्याम्सअन्तर्गत १०६ जना नर्स कार्यरत छन् । यसैगरी नेपाल सरकारअन्तर्गतका १६५ जना कार्यरत छन् । जम्मा २७१ जना नर्सले वीर अस्पतालमा बिरामीलाई सेवा दिइरहेका छन् । वीर अस्पताललाई सामान्य रूपमा स्वास्थ्यसेवा सञ्चालनका लागि ६६५ नर्सिङ जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
नर्सिङ निर्देशक हीराकुमारी निरौला भन्छिन्, ‘अभावका बीचमा हामीले पहिलोपटक इमर्जेन्सीमा पनि नर्सिङसेवा सुरु गरेका छौँ । यो निकै ठूलो चुनौती पनि हो ।’

जम्मा ३२ शैय्या क्षमता रहेको वीरको इमर्जेन्सीमा नियमअनुसार कम्तीमा पनि ६२ जना नर्स आवश्यक पर्छ । तर, सुरुवाती चरणमा वीरले ३२ शैय्यामा १० जना नर्स खटाएका छन् । उनीहरूका लागि आवश्यक तालिम, सेवासुविधाका विषयमा क्रमशः अस्पताल अगाडि बढ्नेछ । हाल वीरमा ३६२ शैय्या नियमित रूपमा सञ्चालनमा छन् । त्यसका लागि मात्रै तत्काल ४१९ नर्सिङ जनशक्ति आवश्यक पर्छ ।

प्रतिक्रिया