एम्बुलेन्स किन्न जुटे बाँदरझुलावासी
शिक्षाखबर डेस्क
१२ माघ २०७५, शनिबार
no immg

चितवन / माडी नगरपालिका–९ को बाँदरझुलाका बासिन्दा एम्बुलेन्स किन्न रकम संकलनमा जुटेका छन्। गाउँवासी बिरामी हुँदा अस्पताल लैजान समस्या हुने गरेकाले एम्बुलेन्स किन्न स्थानीयवासी आर्थिक संकलन समिति गठन गरेरै रकम जुटाउन लागिपरेको समिति अध्यक्ष भक्तबहादुर प्रजाले जानकारी दिए।

एम्बुलेन्स खरिदका लागि बाँदरझुलाका सबै घरधुरीसँग पाँच सय रुपैयाँका दरले रकम संकलन कार्य सुरु गरिएको उनी बताउँछन्। गाउँबाट करिब दुई लाख ५० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। ‘कर छुट गर्दा करिब ११ देखि १२ लाख रुपैयाँसम्ममा एम्बुलेन्स किन्न सकिने रहेछ,’ उनी भन्छन्, ‘गाउँमा उठेको रकमअपुग हुन्छ, बाँकी रकम सहयोगदातासँग संकलन गर्ने योजना छ।’ आवश्यक रकम जिल्लाका वडा कार्यालय, स्थानीय तह, जनप्रतिनिधि, व्यवसायी, समाजसेवीसँग संकलन गर्ने योजना रहेको उनले सुनाए। गाउँमा कोही गम्भीर बिरामी पर्दा भरतपुरदेखि एम्बुलेन्स बोलाउने गरिएको छ। धेरैजसो एम्बुलेन्स बाँदरझुला आउनै मान्दैनन्। आइहाले पनि पाँच÷छ घन्टा समय लाग्ने अध्यक्ष प्रजा बताउँछन्। उपचार अभावमा हरेक वर्षजसो स्थानीयको ज्यान गइरहेको छ। गत वर्ष मात्रै ज्वरोले थलिएपछि बोकेरै लैजाँदै गर्दा बाटोमै एक महिलाको ज्यान गएको उनले सुनाए। बच्चा जन्माउन नसकेर, मुटुको समस्या देखिएर पनि स्थानीयले ज्यान गुमाउनुपरेकाले एम्बुलेन्स किन्न सबै जुर्मुराएको उनी बताउँछन्।

बाँदरझुला वनका बीचमा रहेको सुकुम्बासी बस्ती हो। आर्थिक अवस्था कमजोर भएकाले बाँदरझुलाका सबै घरधुरीले एम्बुलेन्स किन्न सहयोग गर्ने अवस्थासमेत नरहेको समिति सचिव आशिष गोपाल परियार बताउँछन्। बाँदरझुला भरतपुरबाट ८६ किमी दूरीमा पर्दछ। गाउँमा रहेको सामुदायिक स्वास्थ्य एकाइमा सामान्य स्वास्थ्य जाँचको मात्र सुविधा छ। स्वास्थ्योपचारका लागि ठोरी र माडीको वसन्तपुर पुग्नुपर्छ। सुविधासम्पन्न अस्पतालमा उपचार गर्न वीरगन्ज वा भरतपुर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए। चार हजार ३७५ जनसंख्या रहेको बाँदरझुलामा हाल पाँच सय ५० घरधुरी छन्। भरतपुरबाट ठोरीसम्म यातायात सञ्चालन हुने भए पनि सो रुटले बाँदरझुलालाई छुँदैन। ठोरी नपुग्दै बाटैमा पर्ने चौैैताराबाट आधा घन्टाको पैदल दूरीमा बाँदरझुला पुगिन्छ। बाँदुरझुला बस्ती करिब पाँच किलोमिटरमा फैलिएको अध्याक्ष प्रजा बताउँछन्। ‘२०४७ सालदेखि बाँदरझुलामा बस्ती बसेको हो,’ उनी भन्छन्, ‘गाडी चल्ने बाटो भए पनि गाडी आउँदैनन्।’

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बस्तीमा निकुञ्जले यातायात चल्नमा अवरोध गर्दै आएको थियो। बाँदरझुलामा यातायात सञ्चालनमा रहेको अवरोध हटाउन माडी नगरले आवाज उठाउँदै आएको छ। नगरपालिकाको टोलीले हालै प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गरेको थियो। बाँदरझुलामा यातायात सञ्चालन गर्न दिन मन्त्रालय तहबाटै यो साता परिपत्र आएको नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतो बताउँछिन्। यातायात सञ्चालनमा अवरोध नगर्ने परिपत्र आएकाले बाँदरझुलासम्म यातायात सञ्चालनका लागि समन्वय गर्ने काम भइराखेको उनले बताइन्।

प्रतिक्रिया