काठमाडाैं / प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधबीच शुक्रबार संसद्को कार्यसूचीमा चढेको पाँचौँ बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ । प्रतिपक्षी भिड पन्छाउँदै मर्यादापालकले रोस्ट्रम पु-याएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक टेबल गरेका हुन् ।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रमुख विपक्षी दल कांग्रेसका सांसद ढ्यापढ्याप पार्दै उठेका थिए । सुरुमा कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई स्वास्थ्य संस्थालाई सरकारले केन्द्रमातहत स्वीकृत नगरेको भन्दै संसद्को अवरोध कायम रहने बताइन् । त्यसलगत्तै कांग्रेस सांसद बेलतर्फ अघि बढेपछि मर्यादापालकको संरक्षणमा शिक्षामन्त्री पोखरेलले रोस्ट्रम उक्लिएर विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
तर, प्रमुख विपक्षी बेलअगाडि नाराबाजीमा रहेपछि कुनै पनि सांसदले छलफलमा भाग लिएनन् र सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाए । विधेयक पारित गर्न कांग्रेस सांसदबाहेक नेमकिपाका प्रेम सुवालले ‘हुन्न’ भन्दै असहमति जनाए ।
मर्यादापालकको सहयोगमा रोस्ट्रम पुगे शिक्षामन्त्री
कांग्रेस सांसद विरोध गर्दै थिए । सभामुखको पटक–पटक बस्ने आग्रह अस्वीकार गरिरहेका थिए । यत्तिकैमा सभामुखले कार्यसूचीमा प्रवेश गर्दै मन्त्री पोखरेललाई विधेयक प्रस्तुत गर्न अनुमति दिए । आफ्नो सिटबाट रोस्ट्रमतर्फ अघि बढेका शिक्षामन्त्री पोखरेल केही अगाडि पुगेपछि कांग्रेसका सांसद अवरोधमा उत्रिए । शिक्षामन्त्री केही डराएजस्तो देखिन्थे, तर उनी अघि बढ्ने बाटो खोजिरहेका थिए । सभामुखको डायसको अघिल्लोपट्टि दायाँ तथा बायाँका दुवै ढोकाबाट सयभन्दा बढी मर्यादापालक बेलवरिपरि जम्मा भइसकेका थिए । शिक्षामन्त्री पोखरेललाई मर्यादापालकले पहरा दिँदै अघि बढाए पनि कांग्रेस सांसदले अवरोध गरे ।
सत्तापक्षको पहिलो रोअघिबाट जान नसक्ने भएपछि मन्त्री पोखरेल पहिलो रोको पछाडिबाट सत्तापक्षका सांसद तथा मर्यादापालकको सहयोगमा रोस्ट्रम उक्लिए । दौडिँदै रोस्ट्रमनजिक पुगेपछि उनले सत्तापक्षका सांसदतर्फ हेर्दै हात हल्लाए र रोस्ट्रम पुगेर विधेयकमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गरे । संसद् नियमावलीअनुसार सभामुख महराले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिवेदनको क्रमसंख्या १ देखि १६ सम्मलाई विधेयकको अंगका रूपमा स्वीकृत गराए । त्यसपछि ‘चिकित्सा शिक्षा विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको अंग बनोस्’ भनी निर्णयार्थ प्रस्तुत गरे । हुन्छ भन्ने सांसदको बहुमत देखियो । सभामुखले चिकित्सा शिक्षा विधेयक, २०७५ अंग बनेको घोषणा गरे ।
संसद् र सडक दुवैबाट विरोध गर्छौँ : शेरबहादुर देउवा
कांग्रेस सभापति एवं संसदीय दलका नेता
सभामुखजस्तो निष्पक्ष, तटस्थ पदमा रहेको व्यक्तिबाट एकलौटी ढंगले विनावार्ता, विनासहमति, जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ । विगतमा डा. गोविन्द केसी अनशन बस्दा मैले अध्यादेश ल्याएको थिएँ । त्यसलाई वास्ता नगरी सत्तापक्षले एकलौटी ढंगले कम्युनिस्ट शैलीबाट विधेयक अघि बढायो । अधिनायकवादी शैलीमा ओली सरकारले विधेयक ल्यायो । हामी संसद् र संसद्बाहिर विरोध गर्छौँ ।
कांग्रेसलाई जिस्क्याउने सकिन्छन् : गगन थापा
कांग्रेस सांसद
सभामुखको आग्रहपूर्ण व्यवहार विगतमा छँदै थियो, आज जालझेलसमेत भयो । संसद्लाई सरकारको अंगजस्तो, आदेशपालकजस्तो बनाइयो । यो विधेयक पास गर्न सरकारभन्दा बढी कोही लागेको छ भने सभामुख लागेको देखियो । अब कांग्रेस यसविरुद्ध लड्छ । यसको मूल्य सभामुख र सरकारलाई महँगो पर्छ । कांग्रेसलाई जसले जिस्क्यायो, त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ ।
चिकित्सा क्षेत्रको विजय भएको छ : योगेश भट्टराई
नेकपा सांसद
आधा दशकदेखि यो विधेयकबारे एकपछि अर्को छलफल हुँदै आएकोमा आज पारित भएको छ । यो निर्णयले चिकित्सा क्षेत्रको ठूलो विजय भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा यसले क्रान्तिकारी फड्को मारेको छ । डा. गोविन्द केसीलाई भन्न चाहन्छु– तपाईंको जित भएको छ । अनशनबाट निस्कनुस् । आफ्नो क्षेत्रमा खुसियाली मनाउनुस् ।