पाठ्यपुस्तक छपाइ समयमै : जनक शिक्षा
शिक्षाखबर डेस्क
१२ माघ २०७५, शनिबार
no immg

काठमाडौँ — आउँदो वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रका निम्ति समयमै पाठ्यपुस्तक छपाइ सकिने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । सरकारमातहतको यो छापाखानाले सामुदायिक विद्यालयका निम्ति पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ ।

अन्य सरकारी सामग्रीसमेत छाप्नुपर्ने भएपछि जनक शिक्षाले पाठ्यपुस्तकमा ढिलाइ गर्ने गरेको थियो । त्यसैले केही वर्षयता कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको छ । केन्द्रलाई कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी छ ।

आउँदो सत्रका लागि जनक शिक्षाले २ करोड २५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्नेछ । निजी क्षेत्रले कक्षा ४ सम्मका लागि ८० लाख थान पुस्तक छाप्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक महेशबाबु तिमिल्सिनाका अनुसार अहिले दैनिक सवा लाख पुस्तक छापिने गरेका छन् । ‘अहिलेसम्म करिब ७५ प्रतिशत पाठ्यपुस्तक छपाइ भएको छ,’ तिमिल्सिनाले भने, ‘दैनिक १ लाख २५ हजार थान पुस्तक छापिँदै छ । यस वर्ष पनि समयमै छपाइ सकिनेछ ।’

गत वर्षबाट पाठ्यपुस्तक समयमै छापिएको र वितरणसमेत भएको उनले दाबी गरे । मन्त्रालयले चालु वर्ष पाठ्यपुस्तक छपाइमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकका कागजको गुणस्तर कमजोर रहेको गुनासो हुँदै आएको छ । छपाइ मेसिन पुरानो, कमसल मसी प्रयोग हुनाले अक्षर नबुझिने खालका छन् । कक्षा ५ सम्म रंगीन र त्यसभन्दा माथि श्यामश्वेत पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । निजी क्षेत्रले छपाइमा ढिलाइ गर्ने र मनोमानी बिक्रीवितरण गरेका घटना दोहोरिँदै आएको छ ।

तिमिल्सिनाले पाठ्यपुस्तकमा प्रयोग हुने कागज भित्र ७० ग्राम र आवरण दुई सय ग्रामको आर्ट बोर्ड प्रयोग गर्ने गरिएको बताए । रंगीन छपाइका निम्ति प्रतिपाना ५० पैसा र श्यामश्वेतको ३३ पैसा मूल्य पर्ने उनले जानकारी दिए ।

‘कागजको गुणस्तर कमजोर भयो भन्ने गुनासो पहिलेदेखि नै आएको छ,’ उनले भने, ‘कागजको गुणस्तर बढाउँदा बजेट पनि बढ्ने भएकाले शिक्षा र अर्थ मन्त्रालयसित प्रस्ताव गरिएको छ ।’ शिक्षा मन्त्रालयले चैतभित्र सबै तहको पाठ्यपुस्तक छापिसक्न निर्देश गरेको छ ।

शिक्षा सचिव खगराज बरालले जनक शिक्षाले चैतभित्र पाठ्यपुस्तक छपाइ सकेर वैशाख १५ भित्र सम्बन्धित जिल्लामा वितरणका निम्ति ढुवानी गरिसक्नुपर्ने बताए । ‘विद्यार्थीलाई हरेक वर्ष नयाँ पुस्तक वितरण गर्नुपर्ने भएकाले कागजको गुणस्तर बढाउन आवश्यक ठानिएको छैन तर छपाइमा लापरबाही हुनुभएन,’ उनले भने ।

प्रतिक्रिया