मुगु,सुर्खेत / मुगुमा करिब पाँच वर्षयता भएको भारी हिमपातका कारण लेकाली बस्तीका सामुदायिक विद्यालयको पढाइ अवरुद्ध भएको छ । माघ सुरु भएपछि लगातार हिमपात हुन थालेको छ । चिसोका कारण बस्तीमा रहेका विद्यालयको पठनपाठन अवरुद्ध भएको हो । छायानाथ–रारा नगरपालिकाको झयारी, चुगा, मन्दु, कोटिला, पिना, बाम, सोभा, घट्टलेख, तल्लेख, गाडापानी, आटीखोला, हेन्नीकाध, ताल्चालगायत दर्जन बढी विद्यालय हिमपातका कारण प्रभावित बनेका छन् । अधिकांश विद्यालयमा हिउँ जमेको छ ।
अत्यधिक जाडोले कक्षाकोठाभित्र बसेर पढ्न नसक्ने अवस्था भएपछि विद्यार्थी आउन छाडेका शिक्षकहरूको भनाइ छ । ‘जताततै हिउँ छ, फिल्डमा उभिन नसक्ने र भित्र बसेर पढ्न नसक्ने अवस्थाले गर्दा पढाइ प्रभावित बनेको हो,’ नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सलबहादुर रावलले भने, ‘शिक्षक विद्यालयमा आए पनि विद्यार्थी नआउँदा पठनपाठन रोकिएको छ ।’
उनका अनुसार विद्यालयमा आएका शिक्षक आगो तापेर फर्किने गरेका छन् । जिल्लामा पाँच वर्षयताकै ठूलो हिमपात भएको उनको भनाइ छ । हिउ‘ पग्लिन नपाउँदै फेरि थपिने गरेपछि विद्यालयको पठनपाठन अनिश्चित हुन थालेको उनले जनाए ।
जिल्लामा सबैभन्दा बढी शोभा र मुन्दु गाउ‘मा रहेका आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । उक्त क्षेत्रमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । हिउँका कारण विद्यार्थीलाई विद्यालय आउने बाटो पहिल्याउन मुस्किल हुन थालेको छ । ‘हिमपातले विद्यार्थी विद्यालय आउन मान्दैनन्, हामी हाजिर गरेर घर फर्किने गरेका छांै,’ मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रंगबहादुर कार्कीले भने, ‘दिन बिराएर हिउँ पर्न थाल्यो, कसरी विद्यालय सञ्चालन गर्ने ?’ हिमपातको चिसोले छोराछोरी बिरामी हुने भन्दै अभिभावकले विद्यालय नपठाएको उनको भनाइ छ ।
खत्याड गाउँपालिकाको खमाले, निगालबोट, बमकाडालगायत क्षेत्रका विद्यालयमा पढाइ अनिश्चित बनेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि सदरमुकाम गमगढी वरपरका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको छ । मुगमकार्मारोङ गाउँपालिका क्षेत्रमा रहेका एक दर्जन बढी सामुदायिक विद्यालयमा भने जाडो बिदा दिइएको छ । हिमपातले कक्षा सञ्चालन गर्न नसकिने भएकाले पुस १५ देखि फागुन ७ गतेसम्म बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
यस वर्षको भारी हिमपातले यातायात अवरुद्ध भएको र लेकाली बस्तीका विद्यालयको पठनपाठन अनिश्चित बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा ६ फिटसम्म हिउँ जम्दा सडक मार्ग खुलाउन असहज बनेको उनको भनाइ छ ।
भारी हिमपात
२०४८ सालदेखि मज्जाले हिउँ हेर्न नपाएका सुर्खेत गुराँसेका रामप्रसाद शर्मा यो वर्ष आफ्नै पैतालाले हिउँ कुल्चँदा दंग परे । आफ्नै हातले हिउँ छुन पाउँदा निकै खुसी भएको उनको भनाइ छ । अन्य जिल्लाका डाँडाकाँडामा परेको हिउँ हेरेर चित्त बुझाउने उनी आफ्नै आँगनमा हिउँ देखेर मख्ख छन् । ‘२०४८ सालयता हिउँ परे पनि तुसारो जस्तै एकै छिनमा बिलाउँथ्यो,’ उनले भने, ‘यो वर्ष एकै दिनको हिउँले डाँडाकाँडा छोपिएका छन् ।’
हिउँ खेल्न र हेर्न आउनेको भीड देख्दा उनलाई वर्षभरि नै हिउँ परे हुन्थ्यो जस्तो लागेको छ । उनले हिउँ हेर्न गुराँसेवासीले २७ वर्ष कुर्नुपरेको बताए । विगत वर्षमा उनले दैलेख र कालीकोटको सिमानामा पर्ने महाबु र रुकुमको सिस्ने हिमालमा परेको हिउँ हेरेर आनन्द लिने गरेका थिए ।
साथीहरूले फेसबुकमा हिउँसँग खेलेको फोटो राखेकै भरमा दैलेखको गुराँसेमा पुगेका नेपालगन्जका अलिम अन्सारी तीन घण्टाको जाम छिचोल्दै त्यहाँ पुगे । ‘गुराँसेमा हिउँ पर्छभन्दा अचम्म लागेको थियो,’ उनले भने, ‘अहिले आँखै आगाडि हिउँ देख्दा धेरै खुसी लागेको छ ।’ उनीसहित नेपालगन्ज र कोहलपुरका १२ जनाको टोली गाडी रिजर्भ गरेर गुराँसे पुगेको हो । उनले प्लास्टिकमा हिउँ बोकेर नेपालगन्जका अन्य साथीहरूलाई देखाउन लैजान लागेको बताए । उनी एक/दुई दिन हिउँ खेलेर यतै बस्ने योजनामा भए पनि सबै होटल भरिभराउ भएकाले सफल भएनन् ।
उनीमात्र होइन, अधिकांश युवा गुराँसेका होटलमा कोठा नपाउँदा बस्न सुर्खेत फर्किए । गुराँसेस्थित तारा होटलका सञ्चालक नमराज कँडेलले हिउँ परेपछि पाँच दिनयता होटलमा सामग्री जुटाउन निकै समस्या भएको बताए । ‘नियमित ग्राहकसमेत बस्न र खान नपाएर रिसाएर फर्केका छन्,’ उनले भने, ‘महिनाभरि बिक्ने सामान पाँच दिन पुर्याउन पनि हम्मे भयो ।’
हिउँ परेसँगै वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लागेको छ । घाम लागेपछि हिउँ हेर्न जाने पनि उत्तिकै छन् । बाक्लो मात्रामा परेको हिउँका कारण एकै दिनमा तीन हजार बढी गुराँसे आएको स्थानीयको भनाइ छ । ‘यति धेरैको संख्यामा हिउँ खेल्न युवाहरू गुराँसे आएको यो पहिलोपटक हो,’ स्थानीय वीरबहादुर रोकायले भने ।
मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको रातानाङला र दैलेखको गुराँसे आसपासमा २०४८ सालयता पहिलोपटक भारी हिमपात भएको हो । कार्यालय प्रमुख नीराजन सापकोटाले अन्य वर्षका तुलनामा पाँच गुणा बढी हिउँ यस वर्ष परेको बताए ।