काठमाडौं / मुलुकमा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चामल, तेल, दूध, पिठो, आल्मुनियम, प्लास्टिक, मदिरालगायत उद्योगको उत्पादन घटेको हो । मुलुकमा यस्ता वस्तुको उत्पादन घटेसँगै आयात भने उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । तर, सोही अवधिमा ती वस्तुको आयात भने उच्च देखिएको छ । राष्ट्र बैंकले गरेको अध्ययनले समीक्षा अवधिमा चामलको उत्पादन ६५.८ प्रतिशतले घटेको देखाएको छ । यस अवधिमा नेपालमा ७ सय ३९ मेट्रिकटन चामल उत्पादन भएको छ ।
मुलुकमा चामलको उत्पादन घट्दै गर्दा आयात भने अत्यधिक देखिएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालमा २३ अर्ब ५२ करोड रुपैयाँको चामल आयात भएको छ ।
चामल प्रतिनिधि औद्योगिक उत्पादन हो । राष्ट्र बैंकका अनुसार यस्ता दर्जनभन्दा बढी औद्योगिक उत्पादन घटेको छ । मुलुकमा उत्पादन घट्दा आयात भने अधिक रूपमा बढेको छ । समीक्षा अवधिमा जुत्ता उत्पादन ४.७ प्रतिशतले घटेको छ, तर सोही अवधिमा २८ करोड रुपैयाँको जुत्ता आयात भएको छ । त्यस्तै, नेपालमा भटमासको तेलको उत्पादन ३१.२ प्रतिशतले घटेको छ, तर सोही अवधिमा नेपालमा १५ अर्ब ५ करोडको भटमासको तेल आयात भएको देखिएको छ ।
समीक्षा अवधिमा नेपालले गरेको उत्पादनभन्दा आयातको वृद्धिदर धेरैले बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार आव ०७४/७५ मा नेपालको कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत र उद्योग क्षेत्रको वृद्धिदर ८.८ प्रतिशत रहेको छ । जब कि उक्त अवधिमा आयातको वृद्धिदर २६.५० प्रतिशत रहेको छ ।
कुन–कुन वस्तुको उत्पादन घट्यो ?
समीक्षा वर्षमा प्रशोधित छालाकोे उत्पादन ८९.७ प्रतिशतले, चिरेको काठको उत्पादन १.५ प्रतिशतले, कागजको उत्पादन २.५ प्रतिशतले र रोजिनको उत्पादन ४२.९ प्रतिशतले घटेको छ । त्यस्तै, प्लास्टिकको उत्पादन ७.९ प्रतिशतले, आल्मुनियम उत्पादन १३.८ प्रतिशतले र जुत्ताको उत्पादनमा ४.७ प्रतिशतले ह्रास आएको छ । सोही अवधिमा जिआई तारको उत्पादन २१.८ प्रतिशतले घट्न गएको छ भने वनस्पति घिउ तथा तेल समूहको उत्पादनमा १९.१ प्रतिशतले ह्रास आएको छ ।
उत्पादन नबढ्दा परनिर्भरता बढ्दो
नेपालमा उपभोगको तुलनामा उत्पादन वृद्धि हुन सकेको छैन । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि पनि विदेशीसँग निर्भर हुनुपरेको छ । सरकारी तथ्यांकअनुसार स्वदेशीभन्दा विदेशी आयातीत वस्तुको उपभोग नेपालीले ६ प्रतिशत बढी गर्ने गरेका छन् । हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब रुपैयाँबराबरको वस्तु उपभोग गर्ने गरेको तथ्यांक विभागले उल्लेख गरेको छ ।
गत आव ०७४/७५ मा नेपालमा १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक छ । यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ । कुल वस्तु उपभोगमा स्वदेशी उत्पादनको हिस्सा ४७ प्रतिशत मात्रै छ । अर्थात्, नेपालीले १० खर्ब ९८ अर्ब रुपैयाँबराबरको स्वदेशी वस्तु खपत गर्ने गरेको तथ्यांकले देखाउँछ । नेपालको औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ र मेसिनरी तथा सवारीसाधनमा मात्रै होइन र कृषिवस्तुमा पनि परनिर्भरता बढ्दै गएको छ ।
अलि मिहिन किसिमले अध्ययन गर्नुपर्ने भएको छ : पशुपति मुरारका
राष्ट्र बैंकको तथ्यांकले अघिल्लो आवमा थुप्रै वस्तुको औद्योगिक उत्पादन घटेको देखाएको छ । हामीले हाम्रो उद्योगको उत्पादनलाई हेर्दा यस वर्ष पनि स्टिललगायत केही उद्योगको उत्पादन घट्ने हो कि जस्तो देखिएको छ । कतिपय वस्तुको मागसमेत कम भएको देखिएको छ । विद्युत् आपूर्ति भएको, स्थिर सरकार बनेको र अनुकूल औद्योगिक वातावरणसमेत बन्दै गरेका वेला उद्योगका उत्पादन घटेको अथवा बढ्न नसकेकोप्रति अलि मिहिन किसिमले अध्ययन गर्नुपर्ने देखिन्छ । उद्योगहरूको प्रवद्र्धनमा विशेष जोड दिनुपर्छ ।
-पशुपति मुरारका, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ