सामाजिक लाञ्छनाले एचआइभी संक्रमितको उपचारमा सकस
शिक्षाखबर डेस्क
२८ माघ २०७५, सोमबार
no immg

काठमाडौं / एचआइभी संक्रमणलाई पनि अन्य रोगसरह लिनुपर्ने चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले सुझाएको छ। समाजमा अहिले पनि एचआइभी संक्रमितलाई लाञ्छाना लगाइने प्रवृत्ति कायमै रहेकाले संक्रमितहरु उपचारको लागि आफ्नो बस्तीबाट टाढा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालमा स्थानीयभन्दा अन्यत्रका जिल्लाबाट बढी बिरामी आउने गरेको अस्पतालका एचआइभी रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। एचआइभी संक्रमितलाई दिइने औषधि सेवनका लागि अस्पतालको एआरटी सेन्टरमा नजिकका जिल्लाहरु चितवन, काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आउने गरेका छन्। ‘पूर्वदेखि पश्चिमसम्मका संक्रमित आउँछन्,’ डा.बास्तोलाले भने।

उनीहरु यहाँसम्म आउनुको कारण टोलछिमेकबाट हुने लाञ्छाना रहेको बताउँछन् डा. बास्तोला। सरकारले संक्रमितलाई एचआइभी भाइरसविरुद्धको औषधि देशभर निःशुल्क उपलब्ध गराउँदै आएको छ। ‘बिरामीले नजिकका ठाउँबाट औषधि लिन मान्दैनन्। त्यही भएर केन्द्रमा बिरामीको भार धेरै भएको हो,’ उनले भने। अस्पतालका अनुसार केन्द्रमा हाल दुई हजार भन्दाबढी संख्यामा एचआइभी संक्रमित एआरटी लिनको लागि आउँछन्। त्यससँगै फलोअप उपचारका लागि पनि नजिकका जिल्लाबाट बिरामी आउने गरेको डा. बास्तोलाले बताए। ‘चिनेको मान्छे र आफन्तले अनेक लाञ्छाना लगाउलान् भन्ने डरले पनि बिरामीहरु नजिकको केन्द्रमा सेवा लिन जान नसक्ने अवस्था छ,’ डा.बास्तोलाले थपे।

उनका अनुसार कतिपय संक्रमितहरु सामाजिक लाञ्छानाकै डरले उपचारका लागि आफ्नो गाउँटोल छोडी बसाइँ सर्ने गरेका छन्। उनीहरु आफ्नो क्षमताअनुसारको व्यवसाय गरेर तथा जागिर खाएर उपचार गर्दै जीविका चलाउने गर्दै आएका छन्। उनीहरु राजधानीमा खाना बनाउने काम, केही सीपमूलक काम सिकेर वैकल्पिक काम गरिरहेका छन्। लाञ्छानाकै कारण आफ्नो ठाउँबाट विस्थापित हुँदा संक्रमितको जीवनमा नयाँ खालका दुःख थपिने गरेको उनले बताए।

एचआइभी पनि अन्य रोग जस्तै सामान्य रोग भएको र औषधिले यसलाई नियन्त्रण गर्न सकिने, स्वस्थ्यकर खाना र औषधि मिलेमा उनीहरु लामो आयु बाँच्न सक्ने भएकाले समाज र व्यक्ति कसैले पनि घृणाको दृष्टिले हेर्न नहुने डा. बास्तोलाको आग्रह छ। ‘एचआइभी सामान्य रोग हो। औषधि नियमित खाएमा लामो समयसम्म स्वस्थ भई बाँच्न सकिन्छ,’ उनले भने। चिकित्सकका अनुसार एचआइभी असुरक्षित यौन सम्पर्क, एउटै सुई बाँडेर लागूपदार्थ सेवन गर्ने क्रममा, एचआइभी संक्रमितको रगत चढाएमा मात्र सर्छ। एचआइभी विकसित हुने क्रममा एचआइभी संक्रमितको रगत बिरामीलाई प्रयोग भएमा पनि यो रोग सर्नसक्छ।

प्रतिक्रिया