सिरहा / भारतीय सीमासँगै सिरहाको ठाडी बजारको ठाडीको बीचमै ८ कक्षासम्म पढाइ हुने आधारभूत विद्यालय छ । तर विद्यार्थी त्यहाँ पढ्न जाँदैनन् । कारण, विद्यालयमा नियमित पठनपाठन हुँदैन ।
विद्यालय छेउकै जयन्ती साह कक्षा ६ मा पढ्छिन् तर उनी घर छेउकै विद्यालयमा पढ्दिनन् । आधा किलोमिटर परको नेपाल भारत बोर्डर छिचोलेर भारतीय लौकाहा बजारस्थित राजकीय कन्या माविमा किताबकापी च्यापेर विद्यालय ड्रेसमाम दिनहुँ पढ्न जान्छिन् ।
उनीसँगै उनकी बहिनी आरती र भाइ लक्की लक्ष्मण साह पनि नियमित भारतीय लौकाहा बजारको त्यही कन्या माविमा पढ्न जान्छन् । आरती कक्षा ४ र लक्की कक्षा २ मा पढ्छन् । त्यसो त जयन्ती, आरती र लक्कीका दुई दिदी मनीषा र अमिशाले त्यही विद्यालयबाट विज्ञान संकायमा १२ कक्षासम्म अध्ययन गरे ।
जयन्तीका भाइबहिनी मात्र होइन, ठाडीकै कक्षा ८ मा अध्ययनरत आँचलकुमारी गुप्ता पनि लौकाहा बजारस्थित कन्या माविमा दिनहुँ पढ्न जान्छिन् । घर छेउकै विद्यालय पढ्नुको साटो किन आधा किलोमिटर परको भारतीय लौकहा बजारस्थित कन्या माविमा पढ्न गएको भन्ने प्रश्न गर्यौं भने उनीहरूको जवाफ एउटै हुन्छ, त्यो हो ‘बाध्यताले’ ।
उनीहरू भन्छन्, ‘आफ्नो मातृभूमि कसलाई प्यारो हुँदैन तर आफ्नै आँगनमा रहेको विद्यालयमा पढाइ नै हुँदैन, सधैंजसो विद्यालय बन्द हुन्छ ।’ ‘सधैंजसो विद्यालय बन्द रहने गरेकाले छिमेकी लौकाहा बजारमा पढ्न जान थालेका हौं,’ जयन्तीले भनिन्, ‘सुरुमा गाउँकै निमाविमा पढे, तर पढाइ हुन छाडेपछि राजकीय कन्या माविमा अभिभावकले नामांकन गरिदिए, पढाइ पनि राम्रो हुन्छ नियमित कक्षामा हाजिर हुन्छु ।’
सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गरेको छ तर नेपाली विद्यालयमा नियमित पठनपाठन नहुँदा सिरहाको ठाडीका बालबालिका मात्र होइन, सप्तरीको बेलीही सीमावर्ती क्षेत्रका करिब एक हजारभन्दा बढी विद्यार्थी भारत विहारको मधुवनी जिल्लाको लौकाहास्थित विद्यालयमा पढ्न बाध्य छन् । नेपालको सीमावर्ती क्षेत्र सिरहाका भगवानपुर गाउँपालिका ४ ठाडी र सप्तरीको बलान बिहुल गाउँपलिकाको बेल्हीमा पनि कक्षा ८ सम्म पढाइ हुने आधारभूत विद्यालय छन् ।
तर विद्यायलयम शिक्षकहरू नियमित उपस्थिति नहुँदा यी सीमा क्षेत्रका दुवै आधारभूत बिद्यायहरू सधैं बन्द रहन्छ । विद्यालयमा शिक्षकहरू नियमित उपस्थित नहुने बिद्यालय सधैं बन्द हुने भएकोले रहरले नभई बाध्यताले गर्दाआफ्ना छोराछोरीलाई बिहारको बिद्यालयमा पढाउनुपरेको अभिभावकहरू बताउँछन् । गाउँकैं विद्यालयमा पढनपाठन राम्रो नहुँदा भारतीय लौकाहा बजारमा बालबालिका पढाउन बाध्य भएको बताउँछन् ठाडीका शिवशंकर साह ।
उनका ५ छोरी र १ छोरा लौकाहा बजारस्थित राजकीय कन्या माविमा पढछन् । भन्छन्, ‘गाउँको विद्यालयको पठनपाठन सुधार्न अनेक प्रयास गरे पनि सुधार नभएपछि ठाडीका अधिकांश अभिभावकले लौकाहा बजारमा पढाउन बाध्य भएका हौं ।’
अभिभावकहरूका अनुसार कक्षा ८ सम्म पढाइ हुने आधारभूत ठाडीमा अधिकांश दलित राम (चमार), पासवान र खत्वे समुदायका विद्यार्थीको विद्यालयमा पढ्छन् ।
धेरैजसोका बालबालिका लौकाहा बजारमा पढ्न जान्छन् । कक्षा ८ सम्म पढाइ हुने ठाडी विद्यालयमा २ सय ७५ बालबालिकाको नामांकन छ । विद्यालयका प्रधानाध्यापक रामचन्द्र साह बढी दलित बालबालिकाको नामांकन रहेको बताउँछन् ।
साहसहित दरबन्दीमा ७ शिक्षक कार्यरत रहेको विद्यालयमा गाउँमा बिहे बटुलोबाहेक अन्य समयमा विद्यालयमा पठनपाठन हुने गरेको उनले दाबी गरे । गाउँकै विद्यार्थी लौकाहा बजारमा छात्रवृत्ति र साइकल पाउने लोभमा यता नपढी उतातिर पढ्न गएको उनको भनाइ छ ।