गोरखा / धार्चे गाउँपालिका–४ लाप्राकका किसानले मंगलबार धुमधामसँग मकैको बिहे गरेका छन् । त्यसअघि शनिबार मात्र धार्चे–५ लप्सीबोट र धार्चे–७ लापु किसानले पनि मकैको बिहे गरेका थिए । धार्चे–५ गुम्दा गाउँमा माघ १० मै बिहे भइसकेको स्थानीय कर्ण गुरुङले बताए । सिङ्ला, उहिया, खोर्ला, लापुमा पनि मकै बिहे भइसकेको छ । बिहे गरेर मकै छरे मात्रै राम्रो उब्जनी हुने यी क्षेत्रको परम्परा हो ।
‘मकैको बिहे नगरी बारीमा छर्नुहुँदैन’, उनले भने ‘यो पुर्खाैंदेखिको चलन हो । बिहे नगरी मकै छर्दा घोगामा दाना लाग्दैन । घोगा लागे पनि पुड्के हुन्छ ।’ यस्तो चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको उनले बताए । १८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउन देवीदेवता पुकार्दै मकै बिहे गर्न थालिएको उनको भनाइ छ ।
पुरोहितले साइत निकालेर परम्परागत प्रक्रियाअनुसार मकै बिहे गर्ने चलन छ । परम्परा अनुसार सोमबार दिउँसो साढे तीन बजेको साइतमा मकैको घोगा जमिनमा गाडिएको थियो । त्यो मकै बिहान साढे ८ बजे जमिनबाट निकालेर बाजागाजासहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गरेका थिए । ‘एउटा सानो केटालाई दुलहा पनि बनाएर लैजान्छौं’, गुरुङले भने, ‘छुलेकङबाट दुलहालाई डोलीमा बोकेर गाउँका सबै घरको जन्ती गयौं । गाउँको पुछार हुँदै मनिडाँडा मुनिबाट फिसिकङमा पुग्यौँ । त्यहाँ एउटी केटीलाई दुलही बनाएर राखिएको थियो । अनि दुलही लिएर आयौं ।’
जन्तीको क्रममा गाउँलेले मादल, ढ्यांग्रो, झ्यालीलगायत बाजा बजाएर नाचगान गरेका थिए । छुलेकङबाट निस्केको जन्ती फिसिकङबाट दुलही लिएर घट्टेखोलाबाट पुरानो स्कुल हुँदै लाप्राक गाउँ घुमेर ठूलो आँगनमा पुगेपछि बिहे सकिएको स्थानीयले बताए ।
बिहे सकिएपछि साँझमा मकैका विभिन्न परिकार बनाएर भोज खाने चलन छ । ‘बिहानै सबैको घरबाट एकएक घोगा मकै र पैसा उठाएका थियौं’, गुरुङले भने, ‘गाउँलेहरू मिलेर मकै भुट्छन् । दुलही लिएर ठूलो आँगनमा आएपछि सबैलाई त्यो मकै खुवाउनुपर्छ ।’ मकैको बिहेमा जन्ती जानेको मुखमा धेरथोर त्यो मकै पर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए । भोजपछि घाटु नाच देखाउने चलन छ । उनीहरूले सामूहिक रूपमा असिनापानी, खडेरीबाट अन्न जोगाइदिन भगवान्सँग प्रार्थना गर्ने चलन छ । मकै बिहेको दिनमा गाउँमा कसैले पनि ढिकी, जाँतो, मेलापातको काम नगरी बारना गर्ने चलन रहेको उनले बताए ।