कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान
शिक्षाखबर डेस्क
२३ फाल्गुन २०७५, बिहीबार
no immg

काठमाडाैं / अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन । ‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा. गणेश राईले नयाँ पत्रिकासँग भने ।

उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटक–पटक ताकेता गरेको छ । तर, अघिल्लो वर्षभन्दा बजेट झन् घटेको छ । ‘अरू अस्पतालमा भए नयाँ उपकरण पनि थन्किएर बस्थे, तर हामीले वर्षौँ पुराना मेसिन पनि मर्मत गर्दै चलाइरहेका छौँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिन हामीसँग योभन्दा अर्को विकल्प छैन,’ निर्देशक राईले भने । सरकारले गत वर्ष २१ करोड ८४ लाख बजेट अस्पताललाई दिएको थियो । तर, यो वर्ष १२ प्रतिशत घटाएर १९ करोड २० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।

कान्तिमा अहिले चलिरहेको सिटी स्क्यान मेसिन १६ स्लाइसको छ । जब कि निजी अस्पतालमा ५ सय स्लाइससम्मका मेसिन सञ्चालनमा छन् । अन्य केही सरकारीमा पनि १ सय २८ स्लाइससम्मका छन् । कम स्लाइसको सिटी स्क्यान मेसिनको रोग पहिचान गर्ने क्षमता कम हुन्छ । मनिटर, भेन्टिलेटर, मुटु र श्वासप्रश्वास जाँच गर्ने उपकरण पनि छैन ।

कान्तिमा ५२ शय्याको आइसियू उद्घाटन भए पनि १५ शड्ढया चलेका छैनन्, दिनमा ६–७ जना बालबालिकालाई अन्यत्र रिफर गरिन्छ
अस्पतालमा एक्सरे मेसिन पनि १५ वर्ष पुरानो छ । बिरामीलाई निमोनिया भए–नभएको छुट्याउन यो एक्सरेले सक्दैन । त्यो पनि कहिलेकाहीँ बिग्रिन्छ । वैकल्पिक एक्सरे यति पुरानो छ जसले खिचेका तस्बिर पानीमा धुलाउनुपर्छ ।

बाल अस्पतालमा एमआरआई मेसिनसमेत छैन । त्यस्तै प्याथोलोजिस्ट अभावमा जटिल रोगको पहिचान गर्न समस्या छ । १०औँ र ११औँ तहको एक गरी दुई प्याथोलोजिस्टको दरबन्दी छ, तर खाली छ । त्यसैले अस्पतालमा भर्ना भएका बालबालिकालाई स्वास्थ्य परीक्षण गर्न निजी अस्पतालमा लग्नुपर्ने बाध्यता छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कान्ति बाल अस्पतालमा ५२ शैय्याको आइसियू सञ्चालनको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म ३७ शैय्या मात्र सञ्चालनमा छन् । थप १५ शैय्यामा मोनिटर, भेन्टिलेटर, मुटु र श्वासप्रश्वास जाँच्ने उपकरण छैनन् । शैय्या नपाएर दिनमा ६–७ बालबालिकालाई अन्य अस्पतालमा पठाउन बाध्य भएको निर्देशक राईको भनाइ छ ।

स्वास्थ्यमन्त्री भन्छन्– प्रत्यारोपण केन्द्रको क्याथ ल्याब सञ्चालन नभएको विषयमा अध्ययन गर्न टोली खटाइसकेँ, अन्य अस्पतालको छानबिन गर्न पनि समिति बनाउँछु

उपेन्द्र यादव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री
विभिन्न सरकारी अस्पतालमा वर्षौँदेखि उपकरण थन्किएको समाचार आएको छ ।

त्यसले हामीलाई गम्भीर बनाएको छ । तुरुन्त उच्चस्तरीय टोली गठन गरी अस्पतालहरूमा अनुगमनका लागि पठाउँछु । टोलीले बुझाएको प्रतिवेदनका आधारमा मात्रै के गर्ने भन्ने धारणा बाहिर ल्याउनेछु ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करोडौँ मूल्य पर्ने मुटुको उपचारमा आवश्यक उपकरणहरू खरिद गरेको, तर सञ्चालनमा नआएको विषय बाहिर आएको छ ।

अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अस्पताल प्रशासक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा टोली गठन भएको छ । त्यसले प्रतिवेदन बुझाउनेछ । त्यसैका आधारमा निर्णय गर्छौँ ।

वीर अस्पतालले ल्याएको टोमोथेरापी बलम्बुमा रहेको खबर पाएँ । त्यस विषयमा भोलि नै पदाधिकारीलाई बोलाएर जानकारी लिनेछु ।

ट्रमा सेन्टरमा पनि करोडौँका मेसिन थन्किएको विषयले मलाई चिन्तित बनाएको छ । सरकारी अस्पतालका उपकरण नचल्ने अनि निजीमा बिरामी पठाउने विषय सरकारलाई मान्य हुँदैन ।

प्रतिक्रिया