कालिकोट / कालिकोटका स्थानीय तहले आफूअनुकूल आधारभूत तहको परीक्षा लिन थालेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यान्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।
जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले शैक्षिक सत्रको अन्तमा परीक्षा लिन थालेका छन् । महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिकाले २७ फागुनबाट परीक्षा लिएका हुन् । रास्कोट नगरपालिकाले १ चैतबाट परीक्षा लिएको छ । सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले १० चैतबाट सुरु हुने एसइई परीक्षासँगै लिने भएका छन् ।
पाठ्यक्रम पूरा नभई परीक्षा लिनु अनुचित
राष्ट्रिय शिक्षक महासंघ पलाता गाउँपालिकाका अध्यक्ष रणप्रसाद भट्टले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि परीक्षा लिनु उचित नभएको बताए । ‘बर्खे बिदा, दसैँ, तिहार र स्थानीय बिदाका कारण पाठ्यक्रमका सबै कोर्स पूरा भएका हुँदैनन्,’ उनले भने, ‘कार्स पूरा नहुँदै परीक्षा लिनु विद्यार्थीका लागि घाटा हो ।’
शिक्षक बिदा बस्न छिटो परीक्षा
आधारभूत तहको परीक्षा छिटो लिएर लामो बिदामा बस्न शिक्षकहरूले यो रणनीति अपनाएको स्थानीयको भनाइ छ । शैक्षिक सत्र सकिनुअगाडि नै परीक्षा लिएका शिक्षकलाई बिदामा बस्न सजिलो हुने भएका कारण चाँडै परीक्षा लिन थालेको शुभकालिका गाउँपालिका नरबहादुर शाहीले बताए । ‘चाँडै परीक्षा लिएर शिक्षकहरूले लामो बिदा बस्न यो जुक्ति निकालेका हुन्,’ उनले भने, ‘कोर्स पूरा नहुँदै परीक्षा लिनु उचित होइन ।’
आधारभूत तहको शिक्षा स्थानीय तहको मातहत आएपछि स्थानीय तहहरूले शैक्षिक क्षेत्र सुधारमा ध्यान नदिएका कारण यस्तो अवस्था उत्पन्न भएको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव मनसिंह शाहीले बताए । ‘आधारभूत तहको शिक्षा स्थानीय तहको मातहत आएपछि शैक्षिक सुधारमा भन्दा आफूअनुकूल काम गरेका छन्,’ उनले भने ।
एक गाउँपालिका, दुई शैक्षिक सत्र
फरक–फरक हावापानीका कारण जिल्लाका सामुदायिक विद्यालयमा दुई शैक्षिक सत्रमा पठनपाठन हुने गरेको छ । चिसो हावापानीका कारण महावै गाउँपालिकामा दुई शैक्षिक सत्रमा पढाइ तथा परीक्षा हुने गरेको हो । महावै गाउँपालिकाका केही सामुदायिक विद्यालयमा शैक्षिक सत्र मंसिर मसान्तमा सकिने गरेको छ भने केही सामुदायिक विद्यालयमा चैत अन्त्यसम्म शैक्षिक सत्र चल्छ ।
महावै गाउँपालिकाको साबिकको डिल्लीकोट गाविसमा फागुनमा शैक्षिक सत्र सुरु भएर मंसिर मसान्तमा सकिने गरेको छ । साबिकको गेला गाविसमा वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएर चैतसम्म नै चल्ने गरेको छ । महावै गाउँपालिकामा दुई शैक्षिक सत्र रहेकाले समस्या भएको महावै गाउँपालिकाका शिक्षा विभाग प्रमुख धर्मराज शाहीले बताए । ‘हाम्रो गाउँपालिकामा ३३ वटा सामुदायिक विद्यालय छन्,’ उनले भने ।