दुई पुस्ता एउटै परीक्षामा
शिक्षाखबर डेस्क
११ चैत्र २०७५, सोमबार
no immg

काठमाडौँ / एसईईको पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा देशैभर शान्तिपूर्ण रुपमा भएको छ । आज (सोमबार) नेपाली विषयको परीक्षा हुँदै छ । यसपटक परीक्षा सञ्चालन राष्ट्रिय परीक्षा बोर्ड र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएका छन् ।

काठमाडौंको एक केन्द्रमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थी । तस्बिर ः इलिट जोशी/कान्तिपुर

‘देशभर शान्तिपूर्ण रुपमा परीक्षा सकिएको खबर प्राप्त भएको छ,’ परीक्षा नियन्त्रक विष्णु अधिकारीले भने, ‘बाँकी परीक्षा पनि सफलतापूर्वक सम्पन्न हुनेछ ।’ यसपटकको एसईईमा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन्, जसमा २ लाख ३८ हजार ५ सय छात्रा र २ लाख ३६ हजार ४ सय छात्र छन् । परीक्षा सञ्चालनमा ७२ हजार ६ सय ३१ जनशक्ति खटिएका छन् । अभिनेत्री करिश्मा मानन्धर काठमाडौंबाट एसईईमा सहभागी बनिन् । नेकपाकी सचेतक शान्ता चौधरी गृहजिल्ला दाङको तुल्सीपुरमा परीक्षा दिँदै छिन् । सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि परीक्षामा सहभागी छन् ।

सांसदको आमाछोरी सहभागी
दाङ– नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले एसईईमा सहभागी बनिन् । ३८ वर्षीया चौधरी मावि सेन्टर तुलसीपुरबाट सहभागी भएकी हुन् । खुला विद्यालयअन्तर्गत महेन्द्र मावि तुलसीपुरमा १० कक्षामा भर्ना भएकी चौधरी छोराछोरीसरह विद्याथीसँग परीक्षामा सहभागी भएकी छन् । गाडीमा चढेर परीक्षा केन्द्र पुगेकी चौधरीले निकै उत्साहसाथ परीक्षा दिएको बताइन् ।

‘परीक्षाको राम्रो तयारी गरिरहेकी छु । राम्रै हुने आशा छ,’ उनले भनिन्, ‘सबैको हौसला पाएकाले उत्साह थपिएको छ । राम्रो नतिजा ल्याउन कस्सिएर लागेकी छु ।’ उनकी १७ वर्षीया छोरी बिनु काठमाडौंस्थित सिर्जना बाल विद्यालयबाट यस वर्ष नै एसईईमा सहभागी भएकी छन् । सानैदेखि कमलरी बसेकी चौधरीले बाल्यकालमा पढ्न पाएकी थिइनन् । उनले ०७३ मा घोराहीको मावि डाँडागाउँ गोग्लीमा ८ कक्षामा भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । नियमित कक्षामा सहभागी हुन नपाएपछि उनी १० कक्षामा खुला विद्यालयमा भर्ना भएकी थिइन् ।

तत्कालीन नेकपा एमालेका तर्फबाट ०६४ मा उनी संविधानसभाको समानुपातिक सभासद् भएकी थिइन् । ८ वर्षको उमेरदेखि कमलरी बसेकी शान्ता निरन्तर १८ वर्ष हुँदासम्म कमलरी बस्नुपरेको थियो । उनले संविधानसभामा कमैया कमलरीर भूमिहीनका मुद्दा उठाउँदैप्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेकी थिइन् ।

उनले ३५ वर्षे उमेरमा मात्रै पहिलोपटक कक्षा ८ भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । त्यसअघि उनले विद्यालयको औपचारिक कक्षामा पाइला टेकेकी थिइनन् । ‘शिक्षाबिनाको जीवन कठिन भएको महसुस गरेपछि पढ्न थालेकी हुँ,’ उनले भनिन्, ‘सभासद भएपछि अक्षर लेख्न सिकेकी हुँ । धेरैले अक्षर लेख्न नजान्ने मान्छे पनि सभासद भएका छन् भनेर गिज्याउन थालेपछि पढ्न रहर लाग्यो ।’ आफैं अक्षर लेख्न सिकेर उनले आफ्नै आत्मकथा ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक पनि लेखेकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी दाङ २ बाट पराजित भएकी थिइन् ।

बस्ने घरबास पनि नभएको अवस्थामा उनी लुकीलुकी भूमि अधिकार आन्दोलनमा सहभागी बनिन् । २ वर्ष जिल्ला भूमि अधिकार मञ्चको अध्यक्ष भइन् । उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैया, कमलरी र भूमिहीनलाई संगठित गर्दै आन्दोलनलाई प्रभावकारी बनाइन् । यही आन्दोलनकै क्रममा उनी सभासद भइन् ।

कमलरीबाट एक्कासि सभासद भएपछि उनी सुरुमा नयाँ अवसरलाई कसरी आत्मसात गर्ने भन्ने समस्यामा परिन् । छोराछोरी उमेरका बालबालिकासँग पढ्न पाउँदा गर्व लागेको उनले बताइन् । ‘औपचारिक अध्ययन थालेपछि धेरै कुरा सिक्न पाएकी छु,’ उनले भनिन्, ‘राजनीतिसँगै पढाइबाट पनि राम्रो सिकाइ भएको छ । सकेजति पढ्ने विचार छ । सके पीएचडीसम्म गर्ने लक्ष्य छ ।’

औपचारिक शिक्षा नभएकै कारण अपमानित भएको महसुस गरेपछि पढ्न जाँगर लागेको उनले सुनाइन् । ‘सभासद हुँदा शिक्षा नभएका कारण धेरै कठिनाइ भोग्नुपर्‍यो । अपमान सहनुपर्‍यो,’ उनले भनिन्, ‘कतिले त औंठाछापे सभासदसमेत भने । त्यसपछि नपढी नहुने भयो ।’

सुरुमा कोठामै एक बहिनी राखेर ६ महिनासम्म अक्षर लेख्न र पढ्न सिकेको उनले बताइन् । प्राकृतिक स्रोत साधन समितिको सभापति भएका बेला कार्यक्रमका सिलसिलामा डेनमार्क पुगेपछि सबैले अंग्रेजीमा कुरा गर्न थाले । उनलाई साह्रै रहर लाग्यो । त्यसपछि साथीहरूबाट केही अंग्रेजी शब्द सिकिन् । सुरुमा त उनलाई कक्षामा बस्न निकै कठिन भएको थियो । ‘भर्ना हुनै गाह्रो लागेको थियो । कक्षाकोठा छिर्दा पनि अनौठो लागेको थियो,’ उनले भनिन्, ‘भाइबहिनीहरू झ्यालमा झुम्मिएर हेर्थे र हाँस्थे । आज सबै भाइबहिनी साथी भएका छन् ।’

ट्युसनकै भरमा
हुम्ला– कर्णाली मावि चौगानफयामा अध्ययनरत यशोदा शाहीले २ महिना ट्युसन पढेकै भरमा एसईईमा सहभागी भएकी छन् । विद्यालयलमा अंग्रेजी विषयका शिक्षक नभएपछि पढाइ हुन सकेन । उनीसँगै यहाँका ग्रामीण क्षेत्रका अधिकांश परीक्षार्थीले विगत वर्षदेखि नै ट्युसनकै भरमा परीक्षा दिन बाध्य छन् ।

सिमकोट गाउँफालिका ७ मा रहेको कर्णाली माविका अंग्रजी शिक्षक जयरुद्र ढकाल स्रोतव्यक्तिमा नियुत्त भएपछि वैकल्पिक व्यवस्था हुन सकेन । यसैले यहाँका विद्यार्थीले अंग्रेजी विषय पढ्न पाएनन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार यो विद्यालयबाट यस वर्ष २४ विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

‘विद्यालयमा अंग्रेजी विषयको पढाइ वर्षभरि भएन,’ शाहीले भनिन्, ‘वैकल्पिक शिक्षकको व्यवस्था गरी पठनपाठन गराउन पटकपटक माग गरिए पनि बेवास्ता भयो, त्यसैले २ महिना ट्युसन पढेकै भरमा परीक्षा दियौं ।’ जिल्लाका अधिकांश विद्यालयमा विषयगत शिक्षक अभाव छ । सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयमा वर्षैभरि पढाइ नहुँदा विद्यार्थीलाई ट्युसनको भर पर्नुपर्ने बाध्यता छ ।

विभिन्न समय लामो समय विद्यालय बन्द हुने गरेकाले अधिकांश पाठ्यपुस्तकको पढाइ समयमै पूरा नहुने समस्या पनि छ । हिमपात, जडीबुटी संकलनको मौसम, स्थानीय चाडबाडलगायत कारण बेलाबेलामा सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध हुने गरेको छ । जिल्लामा ६ परीक्षा केन्द्रमा एसईई सञ्चालन भइरहेको छ ।

एकाइका अनुसार जिल्लाभर २७ मावि छन् । अहिले हुम्लाबाट ९ सय ५३ विद्यार्थीले एसईईमा सहभागी छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख वर्षबहादुर फडेराका अनुसार पहिलो दिनको परीक्षा मर्यादित रूपमा भएको छ ।

एकै दिन २ सय विद्यार्थी अनुपस्थित
राजविराज– एसईईको पहिलो दिन आइतबार सप्तरीमा २ सय १ विद्यार्थी अनुपस्थित भए । यस वर्ष जिल्लाबाट नियमिततर्फ ८ हजार ३ सय ५६, एक्जाम्टेडतर्फ १७ तथा ग्रेड वृद्धितर्फ २ सय ४५ विद्यार्थी सहभागी छन् । जिल्ला कारागारबाट एक र प्रहरीको हिरासतबाट २ परीक्षार्थी परीक्षामा सहभागी छन् ।

केन्द्रमै सेनेटरी प्याड
एसईईमा सहभागी छात्राका लागि जिल्ला बालकल्याण समितिले परीक्षा केन्द्रहरूमै सेनेटरी प्याड वितरण गरेको छ । समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सदस्य सचिव वैद्यनाथ झा, एसपी राजेन्द्र विष्ट र सशस्त्र प्रहरी उपरीक्षक खेम थापामगरले विभिन्न परीक्षा केन्द्र पुगेर केन्द्राध्यक्षहरूलाई सेनेटरी प्याड हस्तान्तरण गरे ।

रोकिएन चिट र गेसपेपर
एसईईमा अझै पनि चिट चोरीका घटना रोकिएको छैन । विगतजस्तो परीक्षा केन्द्र बाहिर ठूलै मेला लाग्ने र चिट चोराएर विद्यार्थी उत्तीर्ण गराउने अवस्थामा कमी आए पनि विद्यार्थीले गेसपेपर, गाइड लिएर परीक्षा कोठामा जाने अवस्था भने हटेको छैन । पहिलो दिन विभिन्न परीक्षा केन्द्र पुगेका अनुगमनकर्ताहरूले विद्यार्थीका साथ रहेका गाइड र गेसपेपर बरामद गरे । प्रजिअ पौडेलले सबै केन्द्राध्यक्षहरूलाई परीक्षा कोठामा प्रवेशअगावै विद्यार्थीलाई राम्ररी जाँच गर्न भनिसकिएको बताए ।

परीक्षा केन्द्रमा मन्त्रीको अभद्र शैली
धनुषा– एसईईको अनुगमनमा पुगेका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले परीक्षा निरीक्षकमाथि अभद्र व्यवहार गरेको बताइएको छ । परीक्षा निरीक्षकलाई तल्लोस्तरको गाली गरेको आरोप लगाउँदै नेपाल शिक्षक संघले मन्त्री साहको राजीनामा माग गरेको छ ।

जनकपुरको सरस्वती मावि केन्द्रमा निरीक्षकलाई दुर्व्यवहार गरेको भन्दै नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले मन्त्रीको राजीनामा माग गरे ।

‘मन्त्रीजस्तो सम्मानित पदको ख्याल नगरी जथाभावी मुख छाड्ने व्यक्ति पदमा बस्नु उचित छैन,’ यादवले भने, ‘शिक्षकलाई अपमान गर्ने मन्त्री तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ परीक्षाको पहिलो दिन मन्त्री साहले केन्द्राध्यक्ष सत्यनारायण मण्डल र परीक्षा निरीक्षक बेचन रामलाई तल्लो स्तरको गाली गरेका थिए । परिचयपत्रमा फोटो नटाँसेको रिसमा मन्त्री साहले दुवैलाई गाली गरेका थिए । मण्डल सरस्वती माविका प्रधानाध्यापकसमेत हुन् ।

नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले केन्द्रमा निरीक्षकलाई दुर्व्यवहार भएको घटनाको भर्त्सना गरेका छन् । ‘मन्त्रीले शिक्षकलाई अपमानित गर्नु कतिको उचित छ,’ उनले भने, ‘मन्त्रीको हर्कत सुधार भएन भने शिक्षक संघले परीक्षा बहिष्कार गर्नेछ । मन्त्रीको व्यवहार निन्दनीय र दण्डनीय हो ।’

यो केन्द्रमा ११ विद्यालयको ४ सय ८ परीक्षार्थीका लागि २३ निरीक्षक परिचालन भएका थिए । तीमध्ये ४ निरीक्षकको परिचयपत्रमा फोटो नभएपछि मन्त्री साहले निलम्बन गर्ने धम्की दिएका थिए । उनले शिक्षकलाई गाली र अपमान नगरेको दाबीसमेत गरे । परीक्षामा लपारबाही गर्नेलाई कारबाहीको चेतावनी दिएको बताए । ‘अन्य विद्यालयको तुलनामा सरस्वती माविको परीक्षा अव्यवस्थित भएको पाएँ,’ मन्त्री साहले भने, ‘परीक्षामा लपारबाही सह्य हुन्छ ?’

मन्त्री साहले प्रदेशभित्र मर्यादित रूपमा परीक्षा भइरहेको बताए । उनले चिट पुर्‍याएर विद्यार्थीलाई सहयोग गर्ने अभिभावकलाई त्यसो नगर्न सजग गराए ।

परीक्षा दिँदै ४८ वर्षीय कैदी
पर्सा– वीरगन्ज कारागारमा ३ वर्षदेखि कैद भुक्तान गर्दै आएका ४८ वर्षीय जवानसिंह थिङ पनि यसपटकको एसईईमा सहभागी भए । कारागारमै परीक्षा दिन पाउँदा उनलाई धेरै सहज भएको छ । ‘पहिलो दिनको परीक्षा राम्रै भयो, अरू दिन पनि राम्रै होला भन्ने विश्वास छ,’ उनले भने, ‘उमेरमा पढ्न सकिएन, अहिले फुर्सदको समय सदुपयोग गरेको हुँ ।’

अर्का कैदी २१ वर्षीय गौरीशंकर माझी पनि उत्साहसाथ एसईईमा सहभागी बने । ‘आजको युगमा शिक्षा ठूलो कुरो हो,’ उनले भने, ‘कारागारमा बसेसम्म वा बाहिरिएपछि पनि सकेसम्म पढ्छु, अहिले पूर्ण तयारीसाथ परीक्षामा सहभागी भएको छु ।’ थिङ र माझीसहित १६ कैदीबन्दीले यस वर्ष वीरगन्ज कारागारबाट एसईई दिइरहेका छन् । सबैले नियमित परीक्षार्थी हुन् ।

कारागारका निमित्त जेलर गणेश भण्डारीले कैदीबन्दी परीक्षार्थीले अनुशासित भएर शान्तिपूर्ण रूपमा परीक्षा दिएको बताए । ‘कारागार प्रशासनले उनीहरूलाई परीक्षा दिन प्रयोगमा नआएको गोल घरलाई व्यवस्थित गरी सहज बनाएको छ,’ उनले भने, ‘गोलघर स्टोरका रूपमा प्रयोग भइरहेको थियो, अहिले परीक्षा कोठा बनाएका छौं, यहाँ पनि निर्धारित समयमै परीक्षा सुरु र अन्त्य पनि भएको छ ।’

जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सिग्देलले जिल्लामा कुल २ दर्जन परीक्षा केन्द्र रहेको र ती केन्द्रबाट ७ हजार ४ सय ११ परीक्षार्थीले परीक्षा दिनुपर्नेमा पहिलो दिन ६ हजार ९ सय ४२ जना सहभागी भए ।

बढुवाका लागि एसईई
सल्यान– छत्रेश्वरी गाउँपालिका ४, लेखपोखराका ५३ वर्षीय नरबहादुर बुढाले सरकारी जागिर सुरु गरेको २५ वर्ष नाघिसकेको छ । एसईई उत्तीर्ण नहुँदा उनी बढुवाबाट वञ्चित हुँदै आए । अवकाश पाउन अब ६ वर्ष मात्र बाँकी रहँदा यसपटक एसईईमा सहभागी बने । शिवजन मावि शीतलपाटीबाट खुलातर्फ फाराम भएका उनले त्रिभुवन जनमाविबाट परीक्षा दिइरहेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत उनले लामो समय बढुवा नभएकाले परीक्षामा सहभागी बनेको बताए । कक्षा ८ उत्तीर्ण गरी उनले ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर गरिरहेका छन् । गाउँघरमा घुम्दाघुम्दै र बालबालिकालाई खोप लगाउँदैमा आफ्नो समय बितेकाले बुढ्यौलीमा परीक्षा दिइरहेको उनको भनाइ छ ।

आफूभन्दा पछाडि जागिर खाएकाको बढुवा भइसकेकाले आफूले पढ्न थालेको उनी बताउँछन् । ‘समयमै एसएलसी पास गरेको भए अहिले एचए सरहको पदमा पुग्ने थिएँ,’ उनले भने, ‘नपढेका कारण धेरै घाटा लाग्यो, अहिले जसरी पनि पास गर्ने सोच छ ।’

आँखा कमजोर भएकाले परीक्षा दिन गाह्रो भएको उनले गुनासो गरे । उनका सबै छोराछोरीले एसईई सरहको परीक्षा उत्तीर्ण गरिसकेका छन् । पहिलेको जस्तो लेख्न र पढ्न नसकिए पनि पास हुनेगरी मिहिनेत गरेको उनले बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार सल्यानबाट ४ हजार ५ सय विद्यार्थीले परीक्षा दिइरहेका छन् । एसईईका लागि २३ केन्द्र कायम गरिएको छ । एकाइका अनुसार यस वर्ष परीक्षा दिनेमा पुरुषभन्दा महिला बढी छन् ।

तीन दृष्टिविहीन सहभागी
यस वर्ष त्रिभुवन जनमावि लुहापिङ केन्द्रबाट ३ दृष्टिविहीनले सहयोगीका भरमा परीक्षा दिइरहेका छन् । शिवजन मावि शीतलपाटीमा अध्ययनरत पदमप्रकाश गिरी, झमन बुढा र निमबहादुर केसीले सहयोगीका भरमा परीक्षा दिइरहेको एकाइले जनाएको छ ।

विद्यालयले उनीहरूलाई परीक्षा दिन समस्या नहुनेगरी छुट्टै राखेको जनाएको छ । केन्द्राध्यक्ष माधवराज जीसीका अनुसार त्रिजमावि केन्द्रबाट २ सय ५३ परीक्षार्थी सहभागी छन् ।

छात्रा बढी
प्रदेश ब्युरो
धनगढी–सुदूरपश्चिममा यस वर्ष एसईईमा छात्रको तुलनामा २ हजार बढी छात्रा सहभागी भएका छन् । प्रदेशका ९ वटै जिल्लामा ४८ हजार ५ सय ५१ परीक्षार्थीमध्ये छात्राको संख्या २५ हजार ३ सय ५ रहेको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाले जनाएको छ ।

परीक्षामा ८ सय ८६ परीक्षार्थी अनुपस्थित रहेको महाशाखा प्रमुख झंकर विष्टले बताए । यो प्रदेशमा २ सय ९ केन्द्रबाट परीक्षा भइरहेको उनले बताए । कैलालीमा छात्रको तुलनामा छात्रा बढी सहभागी छन् । जिल्ला शिक्षा विकास समन्वय एकाइ प्रमुख विष्णुप्रसाद भट्टले नियमिततर्फ परीक्षा दिने कुल १५ हजार ५ सय १२ मध्ये ८ हजार ३८ छात्रा रहेको बताए । उनका अनुसार ७ हजार ५ सय ३५ छात्र छन् । ग्रेड वृद्धिमा पनि छात्राकै संख्या बढी छ ।

धनगढीस्थित पञ्चोदय परीक्षा केन्द्रमा परीक्षार्थी ।तस्बिर अर्जुन शाह/कान्तिपुर

पहिलो दिन ग्रेड वृद्धि परीक्षामा २ सय ९४ मध्ये २ सय २१ छात्रा र ७३ छात्र सहभागी भए । विभिन्न कारणले १ सय ६ छात्रा र ८८ छात्र पहिलो दिनको परीक्षामा अनुपस्थित रहे ।

कैलालीबाट सहभागी परीक्षार्थीमध्ये ७ जनाले सहयोगी मागेको भट्टले बताए । अपांगतालगायत विभिन्न कारणले आफैं लेख्न नसक्नेलाई परीक्षामा सहयोगी दिइएको उनले बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष परीक्षार्थी बढेका छन् । ‘कहीं कतै परीक्षा केन्द्र अशान्त भएन,’ भट्टले भने, ‘५३ वटै केन्द्रमा निर्धारित समयमै परीक्षा सञ्चालन भयो ।’ उनले परीक्षार्थीबाट समेत अनुशासन देखिएको बताए । स्थानीय तहका प्रमुख उपप्रमुखहरूले पनि एसर्ईई परीक्षाको अनुगमन गरेका छन् ।

कञ्चनपुरमा पनि छात्रभन्दाा छात्रा परीक्षार्थीको बढी छन् । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका अनुसार परीक्षामा सम्मिलित जम्मा विद्यार्थी ९ हजार ९ सय ३६ मध्ये आधाभन्दा बढी छात्रा छन् ।

समन्वय एकाइ प्रमुख दर्गादत्त विष्टका अनुसार नियमिततर्फ छात्रा ५ हजार ८१ र ४ हजार ४ सय ३० छात्र परीक्षामा सम्मिलित भए । यसैगरी ग्रेड वृद्धितर्फ छात्रा ३ सय ८ र छात्र ११७ परीक्षामा सहभागी भए ।

नियमिततर्फ ७७ छात्र र ६५ छात्रा गरी १ सय ४२ जना उपस्थित भएनन् । यसैगरी ग्रेड वृद्धितर्फ ८२ परीक्षार्थी अनुपस्थित रहे । १० हजार ३ सय ४८ विद्यार्थीमध्ये २ सय २४ जना अनुपस्थित रहे । गत वर्ष कञ्चनपुरमा नियमिततर्फ १० हजार ८७ र ग्रेड वृद्धितर्फ ६ सय ४६ जनाले एसईई दिएका थिए । जिल्लाका ३३ वटै परीक्षा केन्द्रमा निर्धारित समयमै परीक्षा सुरु भएको विष्टले जनाए । डडेलधुरामा कुल २ हजार ७ सय ५५ परीक्षार्थी सहभागी बने ।

प्रतिक्रिया