स्कुल पठाउन ट्युसन
शिक्षाखबर डेस्क
१३ चैत्र २०७५, बुधबार
no immg

सिरहा / धनगढीमाई नगरपालिका–१३ भोर्लेनीको दलित बस्ती । ४५ घरधुरीका बालबालिका दिनभरि खेलेरै बिताउँथे । अभिभावक पनि पढाइभन्दा मेलापातमा सघाइदिए खुसी । गाउँमै छ आधारभूत विद्यालय कैलाशपुर, भोर्लेनी । बस्तीका ४३ बालबालिकाको त्यहाँ नाम मात्र छ, उपस्थिति असाध्यै कम ।

वडा कार्यालयले जति कडाइ गरे पनि उनीहरूलाई विद्यालयतर्फ आकर्षित गर्न सकेन । अन्त्यमा उपाय निकाल्यो– गाउँमै अनिवार्य ट्युसन कक्षा चलाउने अनि दलित बालबालिकाको निःशुल्क जन्मदर्ता गरिदिने । यो तरिका असाध्यै प्रभावकारी ठहरियो । अहिले दलित बालबालिका विद्यालय छुटाउँदैनन् । दिउँसो ३ देखि ५ बजेसम्मको खाली समय ट्युसन पढ्छन् ।

वडाको ३ लाख ७५ हजार, दलित जनकल्याण युवा क्लबको १ लाख र २५ हजार रुपैयाँ बराबरको श्रमदानमा निःशुल्क ट्युसन पढाउने गरी सदाय दलित पाहुना तथा बाल भवन निर्माण गरिएको छ । वडाले नै मासिक ६ हजार भक्ता दिएर शिवनाथ रामलाई शिक्षक नियुत्त गरेको छ ।

खेलेरै बिताउने बालबालिका ट्युसनमा बानी परेपछि विद्यालय पनि नियमित जान थालेको वडाध्यक्ष सूर्यमान तामाङले बताए । ‘विद्यालयमा भर्ना गराए पनि पढ्न नियमित जाँदैनथे,’ उनले भने । तामाङका अनुसार ट्युसन कक्षाबाट बेलाबखत बालबालिकालाई शैक्षिक सामग्री पनि सहयोग गरिन्छ ।

१२ कक्षा उत्तीर्ण शिक्षक शिवनाथ अहिले कम्प्युटर विषयमा डिप्लोमा अध्ययनरत छन् । ‘बिहान आफू पढ्ने र दिउँसो ट्युसन पढाउँछु,’ उनले भने, ‘यो कक्षाले दलित बालबालिकामा परिवर्तन आएको छ ।’ उनी ९ महिनादेखि पढाइरहेका छन् ।

भोर्लेनी टोलमै सबैभन्दा बढी पढ्ने आठ कक्षाका अर्जुन सदाय छन् । ट्युसन कक्षा प्रभावकारी बनाउन उनैको अगुवाइमा भवानी बाल क्लब गठन गरिएको छ । त्यसमा २५ बालबालिका आबद्ध छन् । रेखदेखका लागि फुलेश्वरीदेवी सदायको अध्यक्षतामा भवन निगरानी समिति छ । फुलेश्वरीका छोराहरू रञ्जन कक्षा ५, धीरज कक्षा २ र छोरी सिर्जना कक्षा १ मा पढ्छन् । ट्युसन कक्षा सुरु भएपछि उनीहरू विद्यालय नियमित जान थालेको फुलेश्वरीले सुनाइन् ।

अझै शिक्षाको पहुँचभन्दा बाहिर
मधेसी दलितमध्ये पनि सीमान्तीकृत मुसहर, बाँतर, हलखोर समुदायका बालबालिका अझै शिक्षाको पहुँचबाहिर छन् । जिल्लामा सामुदायिक र संस्थागत विद्यालयमा गरी १ लाख ७९ हजार १ सय २१ बालबालिका पढ्छन् । तीमध्ये ४२ हजार ४ सय ५० जना दलित समुदायका छन् । तर, यो समुदायबाट ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको संख्या ४ सय ५५ मात्र छ ।

गरिब र दलित बालबालिकालाई नियमित विद्यालय ल्याउन सरकारले निःशुल्क पाठ्यपुस्तक, पोसाक, छाक्रवृत्ति तथा खाजा कार्यत्रम सञ्चालन गरेको छ । तर, जीविकोपार्जनमा समस्याकै कारण अभिभावक बालबालिकालाई विद्यालय पठाउन उत्साही देखिँदैनन् । बरु आफूसँगै मजदुरीमा लैजान्छन् ।

‘आधारभूत तहमा दलित समुदायको भर्ना दर देखिन्छ तर नियमित विद्यालय जाँदैनन्,’ दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले भने, ‘नामांकन भए पनि विद्यालय पुर्‍याउन समस्या छ ।’ धनगढीमाई–१३ मा सञ्चालित ट्युसन कक्षा भने प्रभावकारी देखिएको उनले बताए । ‘उनीहरूमा शिक्षाप्रति चेतना जागृत भएको छ, नियमित विद्यालय पठाउन थालेका छन्,’ उनले भने ।

प्रतिक्रिया