रैथाने बाली प्रवर्द्धनमा सरकार
शिक्षाखबर डेस्क
२८ जेष्ठ २०७६, मंगलवार
no immg

बनेपा / मध्य र उच्च पहाडी क्षेत्रका होमस्टेमा बास बस्न जाँदै हुनुहुन्छ भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका रैथाने बालीका परिकार चाख्ने अवसर पाउनुहुनेछ। संघीय कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्रांगारिक कृषि प्रवद्र्धन मिसनअन्तर्गत रैथाने बाली प्रवद्र्धन अभियानअन्तर्गत यो अवसर ल्याएको हो।हाल खाद्यबाली अन्तर्गतका कोदो, फापर, चिनो, उवा, कागुनोलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ।

‘रैथाने बालीमा पौष्टिक तŒव प्रचूर मात्रामा छँदैछ, यसबाट मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्नेछ,’ केन्द्रकी प्रमुख शवनम शिवाकोटीले भनिन्, ‘बेजोड स्वाद, वस्तु विविधीकरणको सम्भावना रहेकाले कृषि पर्यटनलाई समेत रैथाने बालीले थप मद्दत गर्छ ।’ रैथाने बालीलाई कम लगानी र सीमान्त जमिनमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रुपमा पनि लगाउन सकिने शिवाकोटीको भनाइ छ।‘परापूर्वकालदेखि स्थानीय समुदायले खेती र संरक्षण गर्दै आएका बाली भएकाले किसानलाई खेती गर्न सिकाइरहनु पर्दैन।बरु यी बालीका महŒव, वस्तु विविधीकरण र बजारीकरणका उपायमा सहयोग गरिदिनु पर्छ,’ उनले भनिन् ।

केन्द्रले चालु आवमा प्रदेश ३ र गण्डकी प्रदेशका १३ कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवद्र्धन कार्यक्रम लागू गरेको हो।यी जिल्लामा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, चितवन, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, म्याग्दी र लमजुङका केही तहमा नमूनाका रुपमा यो कार्यक्रम लागू गरिएको हो।ती जिल्लाका कृषि ज्ञान केन्द्रको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी कार्यक्षेत्रअनुसार प्रतिकेन्द्र ६१ लाख २५ हजारदेखि ६६ लाख ३० हजार रुपैयाँसम्मको बजेट निकासा भइसकेको छ।
‘रैथाने बालीका प्रमुख उपभोक्ताका रुपमा कार्यक्रम सञ्चालन हुने गाउँ, नगरका बासिन्दा, होटल र होमस्टेलाई मानेका छौं।त्यही भएर होटल व्यवसायी, होमस्टे सञ्चालक, उद्यमी, कृषक समूह तथा सहकारीका सदस्यलाई रैथाने बालीको उत्पादन एवं परिकारका लागि तालिम दिइसकेका छौं,’ कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख कृष्णभद्र अधिकारीले भने ।

कार्यक्रमले रैथाने बाली उत्पादन गरी प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा उपलब्ध गराउने समूह तथा सहकारी सदस्यलाई प्रोत्साहन अनुदानबापत प्रतिरोपनी दुई हजार रुपैयाँ दिने भएको छ।‘रैथाने बाली उत्पादक किसानलाई शतप्रतिशत अनुदानमा औजार उपकरण, प्याकेजिङ र लेबलिङ गर्न सहयोग गर्दैछौं।साथै होमस्टे र स्थानीय होटललाई ‘ओभन’लगायत ठूला उपकरणमा ५० प्रतिशत अनुदान सहयोग गर्नेछौं,’ अधिकारीले भने । रैथाने बालीको बीउ उत्पादनमा सहभागी हुने समूह, सहकारी र सामुदायिक बीउ बैंकका सदस्यलाई प्याकेजिङ, लेबलिङ, ट्यागिङ र ब्रान्डिङ गरी बीउ उत्पादन तथा बजारीकरण गरेबापत प्रतिकेजी उत्पादनका लागि ५० रुपैयाँका दरले थप प्रोत्साहन रकम उपलब्ध गराउने नीति रहेको उनको भनाइ छ।‘हाम्रो कार्य क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको चौंरी देउराली गाँउपालिका–८ र मण्डनदेउपुर–७ का साथै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ मा कार्यक्रमले व्यापकता लिएको छ।कृषक समूह र सहकारी सदस्यको कार्यक्रमप्रतिको लगाव र उत्साहपूर्ण सहभागिताबाट आगामी केही वर्षभित्रै रैथाने बालीको उत्पादनमा व्यापकता ल्याउन र परिकार सेवनमा उपभोक्तालाई आकर्षित गर्न सकिनेमा विश्वस्त भएका छौं,’ अधिकारीले थपे ।

पछिल्ला वर्षमा रैथाने बीउको संरक्षण नभएको अवस्थालाई मध्यनजर गर्दै ज्ञान केन्द्रले स्थानीय तथा उन्नत जातका रैथाने बालीका बीउको किट वितरण गरिरहेको बाली विकास अधिकृत एवं रैथाने बाली प्रवद्र्धनका फोकल पर्सन थर्कबहादुर जिसीले जानकारी दिए।‘किसानलाई सामुदायिक बीउ बैंक स्थापनाका लागि अनुदान दिँदैछौं।ज्ञान केन्द्रमा स्थानीय एवं रैथाने बालीहरुको बीउ संकलन गरी ‘डिस्प्ले’मा राख्न थालेका छौं।रैथाने बालीको प्रोफाइल तथा खेती प्रविधि पुस्तक प्रकाशनको योजना रहेको छ,’ उनले भने।

रैथाने बाली उत्पादनसँगै जैविक विविधता संरक्षणका लागि सबै सरोकारवालालाई जागरुक बनाउने योजनासमेत रहेको जिसीको भनाइ छ।‘महिला स्वास्थ्य स्वयंसेविका, कृषि प्राविधिक, स्थानीय स्रोत कृषक, शिक्षकलाई सहभागी बनाएर खाद्य तथा पोषण सुरक्षामा रैथाने बालीको महŒवबारे जानकारी प्रदान गर्दै जानेछौं।यसबाट खेती र उपभोग गर्ने दुवैमा उत्साह बढ्छ,’ उनले थपे।

होमस्टे सञ्चालक रैथाने खाना बनाउँदै
कृषि ज्ञान केन्द्र काभ्रेले धुलिखेलस्थित सुपरनोभा तालिम केन्द्रसँगको सहकार्यमा काभ्रे र सिन्धुपाल्चोकमा होटल तथा होमस्टे सञ्चालन गर्दै आएका व्यवसायीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिएको छ।

तालिममा बेथानचोक, पनौती, बल्थली, धुलिखेल, बिर्तादेउराली, मण्डनदेउपुर र हेलम्बुका २२ जना सहभागी थिए।नेपाली मौलिक परिकारलाई विश्वमा चिनाउने अभियानमा जुटेका अभियन्ता एवं ग्लोबल नेपालिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी पनि रैथाने बालीबाट तयार हुने परिकारको मद्दतले नेपाली खानालाई विश्वभर चिनाउन सकिनेमा विश्वस्त देखिए।

‘स्थान विशेषबाट ल्याइएका रैथाने बाली तथा सागपातबाट धेरै थरिका परिकार बनाउन सकियो।तालिमका सहभागीले आफ्नै वरिपरि पाइने सामग्रीबाट समेत राम्रो परिकार बनाएर पाहुना खुसी पार्न सकिने ज्ञान र सीप पाएका छन्।रैथाने बाली उत्पादन र परिकारको तालिम पनि नेपाली खाना चिनाउने अभियानको एउटा कोशेढुंगा बन्न सक्छ,’ तालिमको प्रमुख प्रशिक्षकसमेत रहेका भण्डारीले भने ।

होमस्टेमा आउने पाहुनाले रैथाने खाने कुरा मन नपराउने हुन् कि भन्ने आशंका तालिमपछि हटेको विभूति होमस्टे बल्थलीकी सञ्चालिका रुपा थापाको अनुभव छ।‘घर वरिपरिका खाद्यान्न तथा सागसब्जीबाटै पाहुनालाई मन पर्ने मौलिक स्वादका परिकार बनाउन सकिने तालिमको दौरानमा सिक्यौं।हाम्रो वरपरका रैथानै उत्पादनले अपुग भएमा रैथाने बाली अभियानमा संलग्न किसानसँग सोझै किन्न सकिने गरी ज्ञान केन्द्रले सञ्जाल बनाइदिएको छ।यसैको उपयोग गर्दै होम स्टेलाई रैथाने खानाको हब बनाउछौं,’ उनले भनिन् ।

पनौतीसहित काभ्रेको दक्षिणी भेगमा उद्यमशीलता प्रवद्र्धनमा क्रियाशील पनौती उद्योग वाणिज्य संघले पनि सरकारको नयाँ कार्यक्रमका रुपमा सुरु भएको प्रांगारिक एवं रैथाने बाली प्रवद्र्धन अभियानलाई सघाउने भएको छ।‘हाम्रो कार्यक्षेत्रमा रहेका होमस्टे तथा होटलमा रैथाने बालीका परिकारलाई समावेश गर्नमा मद्दत गर्छौं।यस्तै, खाद्य सुरक्षाका हिसाबले महŒवपूर्ण रहेको यी बालीको उत्पादन र उपभोगका लागि स्थानीय तहको सहकार्यमा जनचेतनामूलक कार्यक्रम पनि आयोजना गर्दै जानेछौं,’ अध्यक्ष भोला थापाले भने ।

रैथाने बालीमा के पाइन्छ ?

धान र गहुँको तुलनामा सबै रैथाने बालीमा प्रोटिन र फलाम तŒव बढी हुने पोषणविज्ञको भनाइ छ।
कोदोमा क्याल्सियम, फस्फोरस र फलामको मात्रा प्रचूर हुन्छ ।
फापरमा पाइने साढे ७१ प्रतिशत कार्बोहाइड्रेटमध्ये १० प्रतिशतमा पाच्य रेसा हुन्छ।खेती गरिने बालीमा फापरमात्र एक त्यस्तो हो, जसले रुटिन पदार्थ (दाना, मुन्टा र पात सबै भागमा) बनाउँछ।जसले रक्तकेशिका बलियो गर्ने, रगत बग्ने रोगलाई रोक्ने औषधिको रूपमा प्रयोग गरिन्छ
उवाको औद्योगिक महŒव छ।मकैको तुलनामा कम चिल्लो पदार्थ र प्रशस्त भिटामिन बी कम्प्लेक्स पाइन्छ ।
चिनो भात वा खीरको परिकार बनाइन्छ।यसको दाना भुटेर वा पिठो बनाई विभिन्न परिकार तयार गर्न सकिन्छ ।
कागुनो धान र गहुँको तुलनामा चिल्लो पदार्थ, प्रोटिन र खनिज पदार्थ श्रेष्ठतर हुन्छ ।

प्रतिक्रिया