चौंरीलाई तयारी दाना
शिक्षाखबर डेस्क
२८ जेष्ठ २०७६, मंगलवार
no immg

रामेछाप / चरन क्षेत्रमा घाँस घट्दै गएपछि शैलुङमा रहेका चौंरी दानामा भर पर्न थालेका छन् । शैलुङ आसपास १७ वटा चौंरीगोठ छन् । एकातिर चरन क्षेत्रमा घाँस पर्याप्त छैन, अर्कातिर चौंरीपालककले परम्परागत तरिकाले दाना बनाउन छाडेका छन् ।

सडक सञ्जाल बिस्तारसँगै बजारबाट गाडीले सजिलै ल्याइदिने भएपछि पछिल्लो समय चौंरीपालकले तयारी दाना उपयोग बढाएका छन् ।

‘घाँस पलाउन धेरै कम भयो, जंगल विनाश उत्तिकै छ । अब चौंरी जंगल लगेको भरमा बाँच्दैनन्,’ चौंरीपालक शम्भु तामाङले भने, ‘त्यसैले दाना खुवाउन थालेका हौं । अघिपछि जंगली घाँसको भरमा परे पनि चौंरी ब्याउँदादेखि दूध दिँदासम्म दाना खुवाउनुपर्ने भएको छ ।’ केही वर्षअघिसम्म चौंरीलाई तयारी दाना खुवाउनु पर्दैनथ्यो । घाँसले नै प्रशस्तै पुग्थ्यो ।

चौंरी फागुनतिर ब्याउँछन् । त्यसपछि कात्तिकसम्म दाना दिनुपर्छ । गाउँघरमा दाना पाइँदैन । बजारमा किनेको दाना शैलुङको गोठमा भित्रिन्छ । एउटा गोठले वार्षिक सरदर २ लाखको दाना किन्नुपरेको तामाङले बताए । सडक पुगेकाले दाना ढुवानीमा सहज भएको छ ।

अन्यत्रजस्तै शैलुङ क्षेत्रमा पनि जलवायु परिवर्तनले वनजंगलमा असर परेको छ । पहिले पहिलेका तुलनामा वर्षा कम हुँदा जंगलमा घाँस पलाउन ढिला हुने गरेको छ । केही वर्षअघिसम्म शैलुङ क्षेत्रमा भेडीगोठहरू पनि थिए । भेडाको बथान चराउन जंगलमा लाँदा तिनका मलमूत्र भुइँघाँसका लागि मलको काम गर्थ्यो । ‘पानी पर्दा त्यही भेडामा बड्कुला मल हुन्थ्यो र पो राम्रो घाँस सप्रन्थ्यो,’ तामाङले भने, ‘मल नभएको पाखोमा अलिअलि पलाएको घाँसले चौंरीलाई छोपै लाग्दैन ।’

शैलुङ क्षेत्रमा चारवटा सामुदायिक वन छन् । सामुदायिक वनमा चौंरी चरन गर्दा प्रतिचौंरी वार्षिक सय रुपैयाँ दस्तुर लाग्छ । दोलखातर्फको सामुदायिक वनमा केही राम्रो चरन क्षेत्र छ । तर, पानी र गोठका लागि राम्रो जमिन छैन । गोठ र पानीका लागि रामेछापतर्फको खोलाखर्कतिरै राम्रो भएकाले धेरैजसो चौंरी त्यतै भेटिन्छन् । पहिलेको जस्तो खोलाखर्कमा पनि पानी छैन । जंगल दुवैतर्फको मासिँदै छ ।

‘पहिले ठूलो असिनापानी पर्दा चौंरी ओत लाग्ने ठुल्ठूला रूखहरू थिए, अहिले ओत नै छैन,’ स्थानीय दावाशंवु शेर्पा भन्छन्, ‘पानी र असिना पर्‍यो भने जंगलको बीचमा चुटिनुको विकल्प छैन ।’ लगानीअनुसारको प्रतिफल कम हुन थालेपछि केहीले चौंरीपालन छाडेको उनले बताए । ५ वर्षअघिसम्म शैलुङमा २५चौंरीगोठ थिए । एउटा गोठमा २० देखि ४० वटासम्म चौंरी हुन्छन् । एउटा चौंरीको ५० देखि ६० हजार रुपैयाँ पर्छ । पाल्नका लागि सोलु जिल्ला पुगेर चौंरी किनेर ल्याउनुपर्छ । नजिकै चौंरी किन्न पाइँदैन ।

शैलुङमा धेरै उच्च भूभाग छैन । जाडो र गर्मी प्रायः सधैं एकै स्थानमा चौंरी भेटिन्छन् । समुद्री सतहबाट ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ डाँडाभन्दा माथि चौंरी जाँदैन । डाँडामा हिउँ थुपि्रँदा एक/दुई सय मिटर तल झर्ने चौरीहरू गर्मी बढ्न थालेपछि फेरि माथि पुग्छन् । रामेछापको गुम्देल र चुचुरेमा पालिएको चौंरी भने ४ हजार मिटरसम्मको उचाइमा पुग्छन् ।

चौंरीपालनका लागि घाँसको संकट भइरहेको बेला बजार भने सहज बनेकाले किसानको रुचि घटिसकेको छैन । पहिले हातले छुर्पी बनाउने किसान अहिले आधुनिक मेसिनले बनाउँछन् । केही वर्षअघिसम्म सडक नहुँदा शैलुङमा बनाएको छुर्पी बेच्न सजिलो थिएन । सडक सुविधा पुगेपछि बजारसम्म लैजानका लागि अब सहज छ ।

तर, किसानहरू घाँस जोहो गर्ने र आफैं दाना बनाउने गर्न छाडेका छन् । त्यसैले चौंरी अब सहरिया दानाको भरमा पाल्ने क्रम बढेको छ । चौंरीपालक किसानलाई चालू वर्ष प्रदेश सरकारले साढे १० लाख रुपैयाँ दिएको छ । शैलुङको चरन क्षेत्र व्यवस्थापन र पानीपोखरी निर्माणका लागि उक्त रकम खर्च हुने तामाङले बताए । दुई महिनाअघि शैलुङमा चौंरी चिनाउने महोत्सव पनि गरिएको थियो ।

प्रतिक्रिया