काठमाडौँ —३० वैशाखमा सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रणबाहिर छ । बरु झन्डै तीन महिनाको अवधिमा धरानबाट मोरङको विराटनगर, झापा हुँदै ४३ जिल्लामा फैलिएको छ । सरकारको पटक–पटकको प्रयास असफल हुँदा डेंगु नियन्त्रणबाहिर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनायो । तराईका सप्तरी, सिरहादेखि, राजधानी काठमाडौं र पहाडी जिल्ला अछाम, दार्चुलासम्म डेंगुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार ४३ जिल्लामा तीन हजार चार सय १३ डेंगुका बिरामी भेटिए पनि हालसम्म ज्यान भने कसैको गएको छैन ।
‘नेपालमा डेंगुले नयाँ रूप लिएको हुन सक्छ,’ सरुवारोग विज्ञ डा. शेरबहादुर पुनले भने, ‘अब सरकारले मात्रै नियन्त्रण गर्न सक्दैन, जनता आफैँ सचेत हुनुको विकल्प छैन ।’
तीन महिनाको अवधिमा डेंगु नियन्त्रण गर्न सरकारले मार्ने औषधि प्रयोग गर्यो, तर औषधिले पनि डेंगु मासिएन । ‘गत वर्ष डेंगु नियन्त्रण गर्न सरकारले दुई हजार डेंगु टेस्टकिट प्रयोग गरेको थियो । तर, यसपालि तीन महिनामा सरकारले तीन हजार डेंगु टेस्टकिट प्रयोग गरेको छ । अब सरकारसँग पाँच हजार किट बाँकी छ । डेंगु नियन्त्रणमा आएको छैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले भने ।
औषधिलाई समेत जितेपछि डेंगुले रूप परिवर्तन गरेको हुनसक्ने अनुमान चिकित्सा क्षेत्रका विज्ञहरूको छन् । बर्खा सकिएपछि देखिने डेंगु यस वर्ष बर्खा सुरु हुनुअघि नै देखियो । विगतमा डेंगु देखिएपनि एक महिनाभित्र हराउने गरेकोमा यसपाली तीन महिना पुग्दा झन् फैलिंदै छ । ‘कम होला भन्दा अन्य जिल्लाहरूमा फैलिरहेको छ । डेंगुले सरकार र चिकित्सकलाई चुनौती दिएको छ,’ डा. पुनले भने ।
विश्व स्वास्थ्य संगठन भन्छ– संसारका आधा जनसंख्या डेंगुको जोखिममा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका आधा जनसंख्या डेंगुको जोखिममा रहेको जनाएको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज हुँदा डेंगु फैलिने क्रममा छ । डा. शेरबहादुर पुनले विगतमा तराईमा देखिने गरेको डेंगु पछिल्लो समय क्रमशः पहाडहुँदै हिमारतिर चढेको छ । नेपालमा स २००४ मा पहिलोपटक देखिएको डेंगु परिवर्तनशिल हुँदै गएको डा. पुनले बताए । उनले लामखुट्टे हुने ठाउँ सधैँ डेंगुको जोखिममा हरने बताए ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेल ‘डेंगु युग’ शुरु भएको बताउँछन् । विश्वमा अब इबोलाभन्दा डेंगु चुनौती बनेको उनले बताए ।
डेंगुको अवस्था, कुन देशमा कस्तो ?
सन् २०१८ को तथ्याङ्कअनुसार भारतमा १ लाख नागरिक डेंगुको संक्रमणबाट प्रताडीत छन् । अमेरिकामा प्रतिवर्ष ४ सयजना डेंगु संक्रमित हुने गरेका छन् । त्यस्तै, इन्डोनेसियामा ५६ हजार ५ सय ८७, म्यानमारमा २३ हजार २ सय ७३ र श्रीलंकामा ५१ हजार ५ सय ९५ जनामा डेंगु संक्रमण भएको छ । यी देशहरूमा पनि डेंगु संक्रमण बढ्ने क्रममा छ ।