ज्वरो आउँदासमेत नजिक पर्दैनन् चिकित्सक
शिक्षाखबर डेस्क
३ चैत्र २०७६, सोमबार
no immg

विराटनगर / घटना १ : संसद् बैठकबाट आइतबार हिँडेका सांसद पूर्णप्रसाद राजवंशीलाई झापामा अचानक ज्वरो आयो। सय डिग्री माथि ज्वरो आएपछि उनी झापाकै एक नाम चलेको अस्पतालमा चेक गर्न पुगे।

तर, उनलाई ज्वरो आएको सुन्नासाथ चिकित्सकले कोरोनाको संक्रमण हुने भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जान भने। नजिकैको अर्को अस्पताल पुगेर पुन : चेक गरेका सांसद राजवंशीलाई अन्य कारण ज्वरो आएको पत्ता लाग्यो र उनी औषधि सेवनपछि घर फर्किए।

घटना २

कोरोना संक्रमणको आशंकामा शनिबार कोशी अस्पतालले धरान रेफर गरेका बिरामीलाई पनि बिपीका चिकित्सकले चेक गर्न आनाकानी गरे। घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नु र आइतबार परीक्षणका लागि आउनु भन्दै बिरामीलाई घर पठाए। आइतबार बिरामीले अस्पताल पुगेर थ्रोट स्लाब ल्याब टेस्टका लागि दिएका छन्। उनीहरूको चेकजाँचमा को ? खटिने चिकित्सकमा हानाथाप शनिबार र आइतबार पनि चल्यो।

घटना ३

ज्वरो आएर उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर झापानिवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि नै चिकित्सकले कोरोनाको आशंकामा ग्रान्डी हस्पिटल काठमाडौं पठाए। उनमा कोरोनाको आशंका भन्नासाथ झापा र मोरङमा आइतबार दिनभर कोरोनाकै चर्चा चल्यो।

पछिल्लो समय प्रदेश १ का जिल्लामा ज्वरो र रुघाखोकी भनेर अस्पताल पुग्नासाथ चिकित्सक नै आत्तिन थालेका छन् भने बिरामीले उपचारसमेत पाउन छाडेका छन्। अस्पतालले पनि धमाधम आइसोलेसन भएको अस्पतालमा जानु भन्दै बिरामीलाई धरान र काठमाडौं रेफर गर्ने क्रम बढेको छ। कोरोनाको आशंकामा रेफर गरेर धरान पुग्ने बिरामीको छेउ पर्नसमेत डाक्टर नगएको आफैंले देखेको सुनसरीबाट निर्वाचित सांसद नवोदीताकुमारी चौधरीले बताइन्।

‘शनिबार अस्पताल पुगेकी थिएँ, कोशी अस्पतालले रेफर गरेको बिरामी अस्पताल पुग्दासमेत डाक्टर को ? जाने भन्दै हानथाप गर्दै बसेका थिए’, उनले भनिन्, ‘फिजिसियन डाक्टरले चेक गर्नुपर्नेमा पछि अर्कै डाक्टर गएर चेक गरेको थाहा पाएँ।’ अहिले अस्पतालमा ज्वरो आयो वा रुघा लाग्यो भनेर उपचार गर्न जाँदा उपचार नै नपाउने अवस्था प्रदेश १ मा सुरु भएको अर्का सांसद गोपालचन्द्र बुढाथोकीले बताए।

‘सांसद पूर्णप्रसाद राजवंशी त सदन आउने क्रममा ज्वरो आएर अस्पताल छिर्दा झापामा चिकित्सकले उपचार गर्न मानेनन्’, सांसद बुढाथोकीले प्रश्न गर्दै भने, ‘अन्य नागरिकको अवस्था कस्तो होला ? ’

संसदमा उठ्यो कुरा

कोरोना संक्रमण रोक्न सरकारको तयारी र निर्देशन फितलो भएको भन्दै सत्तापक्ष सांसदले नै प्रदेश सरकारको आलोचना गरेका छन्। आइतबार बसेको संसद् बैठकमा विशेष समय लिँदै नेकपा संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गरायो। बिरामीको उपचार गर्नबाट चिकित्सक पन्छने र सरकारले सीमानामा स्वास्थ्य चेक जाँच र सुरक्षामा चासो नदिएको नेकपा सांसदको आरोप छ।

‘काँकडभिट्टा नाकाबाट दैनिक १२ सयदेखि १५ सयसम्म नागरिकको ओहोर दोहोर हुन्छ, तर सीमानामा स्थापना गरिएको हेल्थ डेस्कमा १६ घण्टासम्म दुईजना स्वास्थ्यकर्मीलाई थर्मल गन दिएर खटाइएको छ’, नेकपा संसदीय दलको तर्फबाट बोल्दै सांसद गोपालचन्द्र बुढाथोकीले भने, ‘यसरी रोक्न सकिन्छ कोरोनाको संक्रमण ? ’ अस्पतालमा चिकित्सकले रुघाखोकी र ज्वरोका बिरामी नछुने साथै सीमानामा स्वास्थ्य परीक्षण गर्न कर्मचारी पर्याप्त नहुँदा खुलेआम नेपाल छिर्दासमेत सरकार मौन बस्नु आश्चार्यजनक भएको बुढाथोकीले बताए। उनले समयमै नाकानजिकैका अस्पतालमा आइसोलेसनको व्यवस्था गर्न, सीमानामा एम्बुलेन्स तयारी अवस्थामा राख्न र पर्याप्त जनशक्ति परिचालन गर्न सरकारलाई सुझावसमेत दिए।

सीमाना बिहान ६ बजे नै खुल्ने र आवात जावत सुरु हुँदासमेत स्वास्थ्यकर्मी १० बजे मात्रै पुग्ने गरेकाले यस्तो कर्मकाण्डी काम नगर्न सदनमा बोल्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेश १ सरकारले कोरोना संक्रमण रोक्न केही दिन अघिमात्रै बनाएको कार्ययोजनामा प्रदेश १ का प्रतिनाका ९ र प्रतिविमानस्थल ६ जना स्वास्थ्यकर्मी तत्काल परिचालन गर्ने उल्लेख गरे पनि हालसम्म गरिएको छैन।

प्रतिक्रिया