चितवन / भरतपुरको गौरीगन्जमा पहिले किसानले घैया, तोरी र मकै मात्र लगाउँथे । घोल (सिम) खेत नहुनेहरूका घरमा दसैंमा टीका लगाउने अक्षता पनि हुँदैनथ्यो । धानको भात खान नपाएपछि धेरै मानिस बसाइँ सरेर चितवनकै माडी गए । कोही बाँके, बर्दिया पनि गए ।
सिँचाइको सुविधा भएपछि यहाँ सबैले धान रोप्न पाए । ‘नहर नआएको भए अहिले यहाँ भएका ८० प्रतिशत मान्छे बसाइँ सरिसकेका हुन्थे,’ गौरीगन्जका शोभाखर सापकोटाले बताए । ‘सिँचाइ हुन थालेपछि अन्त गएका केही मान्छे यहीं फर्किए,’ सापकोटाले भने ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा नारायणी लिफ्ट सिँचाइ आयोजना निर्माण भएर २०४० सालदेखि सिँचाइ सुविधा उपलब्ध भयो । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर खेमबहादुर पाठकका अनुसार ७०/८० करोड रुपैयाँ खर्च गरेर यो नहर निर्माण भएको हो । आयोजनाको एउटा पम्पले नारायणी नदीको पानी २२ मिटर माथि तानेर लिंक नहरमा पठाउँछ । लिंक नहरबाट अर्को पम्पले १८ मिटर माथि तानेर अर्को नहरमा पुर्याउँछ ।
‘यस सिँचाइ आयोजनाले धान रोप्न पानी दिएको मात्र होइन जमिनमुनिको पानीको भण्डार पनि बढाएको छ । यसले गर्दा इनारमा पर्याप्त पानी रहने गर्दछ,’ पाठकले भने । जलस्रोत तथा सिँचाइ विभागबाट प्रकाशित वार्षिक पुस्तिकाका अनुसार यसबाट तीन हजार दुई सय हेक्टर जमिनमा धानबालीका लागि सिँचाइ सुविधा पुगेको छ । १० हजार परिवारले लाभ पाएका छन् ।
तर, यो यस्तो सिँचाइ आयोजना हो जसले बर्खामा त केही पानी दिन्छ, किसानलाई बढी पानी चाहिने सुक्खायाममा भने थोपो दिँदैन । यसबेला गौरीगन्जका किसानले छरेको तोरी पाक्न लागेको छ तर कोसा पोटिलो छैन । मसुरो पनि राम्रोसँग बढेको छैन । खेतको आडमा रहेको नहरमा वर्षायाम सकिएपछि पानी बगेको छैन । नहरभरि झार झाँगिएको र बुट्यान मौलाएको छ । ‘मध्य असारतिर यो झार, झाडी सफा गर्छौं । बिग्रे भत्केको छ भने पनि त्यही बेला मर्मत गर्छौं,’ ‘सी’ नहरको आठौं प्रशाखाका अध्यक्ष धर्मबहादुर कार्कीले भने ।
हिउँदमा त नहर स्वयंले पानीको मुख देख्तैन नै, बर्खामा पनि चाहिने जति पानी दिँदैन । पानी नआएकाले गौरीगन्जकी मैयाँ नेपालीले यो वर्ष खेतमा धान रोप्न पाइनन् । दुई बिघा दुई कट्ठा खेतमध्ये आधामा धान र आधामा मास रोप्ने गर्थिन् । ‘बर्खाको भल छोपेर जेनतेन धान रोप्यो, पसाउने बेलामा नहरमा पानी नै नआउने । बीउ त राखेका थियौं तर नहरको पानीको भर नभएपछि यो वर्षदेखि धान रोपेनौं,’ मैयाँले भनिन् ।
आयोजनाले नारायणगढ, आँपटारी नजिक नारायणी नदीको पानी पम्प लगाएर तानेपछि दुईवटा नहर ‘बी’ र ‘सी’ मा पानी पठाउँछ । ‘बी’ नहर भरतपुर ओरालो हुँदै पश्चिमतर्फ लाग्छ । ‘सी’ नहरले भोजाड गोन्द्राङ हुँदै भरतपुरको सहरी क्षेत्र र भरतपुरदेखि पूर्व–दक्षिण क्षेत्रमा सिँचाइ सुविधा दिन्छ । वर्षायाममै पर्याप्त पानी नआउने समस्या यी दुवै नहरमा छ ।
भरतपुर महानगरपालिका, फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीले नहरको भर पर्दा पटकपटक हैरानी बेहोरेका छन् । ‘नहर चलेदेखि म यसको उपभोक्ता हुँ । मैले धान रोप्ने दुई बिघा खेत छ । एक वर्ष त नहर नै चलेन । कहिले धान रोपेपछि चल्छ । यो वर्ष भने बेलैमा नहर चल्यो । अचम्मै लागेको छ,’ उनले भने । पानी चाहिएका बेलामा यसरी नहर आक्कलझुक्कल मात्रै चल्ने उनले बताए ।
नहर बने पनि अकासे पानीको भर परेर धान रोप्नुपरेको दुखेसो उनले पोखे । ‘हाम्रोतिर अल्लि गहिरो छ । आकाशबाट पानी आएर रोप्न पाइयो भने नहर चलेपछि सिँचाइ गर्न पनि पाइन्छ । टाँडीतिर त रोपे पनि चाहिएका बेलामा सिँचाइ गर्न नपाएर कति वर्ष खेतमै गाईबस्तु छाडेका छन्,’ अधिकारीले सुनाए । धर्मबहादुर कार्कीका अनुसार यस्तो समस्या भोग्नेहरू प्रशस्तै छन् ।
पाठकका अनुसार सुरुका एक/दुई वर्ष हिउँदमा पनि नहर सञ्चालन भएको थियो । ‘पानी तान्ने पम्पको क्षमता घट्दै गयो । हिउँदमा नदीमा पानीको सतह घट्छ । त्यसबेला पानी तानेर नहर सञ्चालन गर्न गाह्रो भयो,’ उनले भने । यो वर्ष पम्प फेर्ने तयारी छ । पाठकका अनुसार ‘पानीमै डुबाएर राख्न मिल्ने पम्प किन्न लागिएकाले नयाँ पम्प आएपछि हिउँदमा पनि नहरमा पानी चल्नेछ ।’
यस्ता दुईवटा पम्प राख्न ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको रहेछ । नहर सञ्चालन भएपछि अहिलेसम्म कुनै पम्प नफेरेको र मर्मत गर्दै चलाउँदै आएको पाठकले जानकारी दिए ।‘हिउँदमा नहर चलाउँदा सफा र कञ्चन पानी बग्छ । नहर राम्रोसँग मर्मत भएमा, नहरका डिल बलिया भएमा बोटिङ गरेर पनि कमाउन सकिन्छ,’ गौरीगन्जका सापकोटाले भने, ‘यसले कृषि मात्रै हैन, पर्यटनलाई पनि टेवा दिन सक्छ ।’
दुई नहरमध्ये ‘बी’ नहरका सबै प्रशाखा दुरुस्त छन् । तर ‘सी’ नहरका अधिकांश प्रशाखा पुरिएका छन् । सिँचाइ पुगेका ठाउँको जग्गालाई खेतीबाहेक अरू काममा उपयोग गर्नुपरेका खण्डमा सरकारबाट स्वीकृति लिनुपर्ने नियम थियो । तर यस सिँचाइ आयोजनाले ‘सिँचाइ गर्ने’ केही ठाउँमा सहरी विकास योजना चलाइएको छ । ‘भरतपुरको बजार क्षेत्रमा खेत मासेर घडेरी बनाउने चलन फस्टायो । भोजाड, कृष्णपुरमा पानी लैजाने नहरका प्रशाखा पुरिएका छन्,’ नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले भने । उनका अनुसार सी नहरका सातवटा प्रशाखामध्ये एउटा प्रशाखा मात्रै राम्रोसँग चलेको छ ।
साढे १० किलोमिटर लामो सी नहरको चार–पाँच किलोमिटर खण्ड पुरिएको पाठकले बताए । सिँचाइ कार्यालयको रेकर्डअनुसार यस आयोजनाले सिँचाइ गर्ने भनिएको मध्ये १२ सय हेक्टरमा रोपाइँ नै हुन छाडेको छ । हिउँदमा पानी नआउने र बर्खामै पनि चाहिए जति पानी नपाइने हुनाले उपभोक्तालाई नहरको कम माया भएको हुन सक्ने पाठकको धारणा छ । ‘हामीले राम्रोसँग पानी पुर्याइदिने हो भने नहरबाट विमुख हुन कोही खोज्दैन । नहर मास्ने काम पनि निरुत्साहित हुन्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।
एसियाली विकास बैंकले चार वर्षअघि गरेको अध्ययनअनुसार सन् १९९२ देखि १९९४ सम्म यो आयोजना चलेन । त्यसयता पनि राम्रोसँग चलेको छैन । सुक्खायाममा नदीमा पानीको सतह घट्ने भएकाले पम्पले पानी तान्न सक्दैन । बर्खामा पानीको सतह बढेपछि पानी त तान्न सक्छ तर त्यसबेला पानीमा बालुवा अत्यधिक हुनाले नहर बालुवाले भरिन्छ ।
नारायणी नदी किनार, आँपटारीमा रहेको लिफ्ट नहरको पानी तान्ने पम्प हाउस तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
यो समस्या नहर चल्न थाल्नेबित्तिकै आएको थियो । ‘जति बालुवा आउला भन्ने अनुमान गरेर नहर बनाइएको थियो त्यसको चार गुणाभन्दा बढी बालुवा नहरमा थुप्रियो । पानी चलेको एक वर्षमै नहरमा थुप्रिएको ४५ हजार टन बालुवा निकाल्नुपर्यो,’ नेदरल्यान्ड्सको वाखनिगन विश्वविद्यालयको जलस्रोत व्यवस्थापन समूहका ज्यानविल्लेम लिब्रार्डले आफ्नो लेखमा लेखेका छन्, ‘पम्प पहिलो वर्षमै बिग्रिएर मर्मत गर्नुपर्यो ।’
आयोजनाको अर्को कमजोरी यसको सञ्चालन खर्च बढी हुनु हो । नहर चलाउन वर्षमा १० करोड रुपैयाँ खर्च हुन्छ । इन्जिनियर पाठक भन्छन्, ‘यो नहरले सिँचाइ गर्दा १४ हजार सात सय टन धान उत्पादन हुने गरेको छ । धान मात्रै ३२ करोड ३४ लाख रुपैयाँ बराबरको फलेको छ ।’
पाठककै कुरालाई मान्दा पनि यो आयोजना निकै खर्चिलो सावित हुन्छ । ३२ करोडको धान फलाउन १० करोड अर्थात् आम्दानीको झन्डै एक तिहाइ खर्च सिँचाइमा मात्र लाग्ने गरेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरको कृषि अर्थशास्त्र विभागका अध्यक्ष डा. शिवचन्द्र ढकाल खाद्यान्न उत्पादन खर्चमा सिँचाइको हिस्सा धेरै हुन नहुने धारणा राख्छन् । ‘कृषि क्षेत्रमा सबैभन्दा धेरै खर्च कामदारका लागि हुन्छ । सिँचाइमा एक तिहाइ रकम खर्च हुनु धेरै हो,’ ढकालले भने ।
यो आयोजना ठूलो महत्त्वाकांक्षाका साथ आएको थियो । अमेरिकी सहयोगमा राप्ती उपत्यका विकास परियोजनाले पाँच हजारभन्दा अलि बढी परिवारलाई चितवनको झन्डै २८ हजार हेक्टर जमिन बाँडे पनि सिँचाइको कुरामा उति ध्यान दिएको थिएन । त्यो परियोजना सम्पन्न भएको केही पछि सरकारले नेपालमा कृषिको विकासका लागि वर्षैभर पानी पुर्याउने सिँचाइ आयोजना सञ्चालन गर्न आवश्यक ठान्यो । त्यसका लागि चाहिने इन्जिनियर, प्राविधिक र अगुवा किसानलाई तालिम दिन नमुना परियोजना सञ्चालन गर्नुपर्यो । नारायणी लिफ्ट सिँचाइ यस कामका लागि चितवनमा बनाइएका दुईमध्ये एउटा आयोजना हो । यो आयोजना वर्षैभर सिँचाइ पुर्याएर ‘चितवनको संस्कृति र समाजमा क्रान्तिकारी रूपान्तरण ल्याउनका लागि’ निर्माण गरिएको थियो ।
नारायणी लिफ्ट सिँचाइ आयोजना असफल भए पनि यसको सिको गर्ने काम भने आयोजनाको लक्ष्यअनुसार नै भएको छ । यसको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । यस आयोजनाले पानी तान्ने नदीको तीरैतीर अलि माथि नुवाकोटको बट्टारमा जाँदा भेटिहालिन्छ ।