फ्लाइट नम्बर क्युआर ६५२ : अफवाहले पुर्‍यायो अस्पताल
शिक्षाखबर डेस्क
१३ चैत्र २०७६, बिहीबार
no immg

काठमाडौँ — उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले मंगलबार सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेखे । उनले नगरपालिकाको वडा नम्बर ३ रातापानी गाउँका विद्यानन्द चौधरी कतारबाट आएको र उनी संक्रमण पुष्टि भएकी युवती चढेकै कल साइन ६५० को विमानमा आएको उल्लेख गरे । फेसबुक र अन्य सामाजिक सन्जालबाट फैलिएको गलत सूचनामा भर परेर उनले उक्त स्टाटस लेखेका थिए । जबकि कोभिड १९ (कोरोना) संक्रमित युवती आएको विमान क्युआर ६५२ थियो ।
मेयर थापाले पछि आफूलाई गलत रिपोर्टिङ गरिएको भन्दै फेसबुकमै लेखे तर गलत पुष्टि हुनुअघि नै उनले यो असत्य तथ्यको सूचना प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश मुख्यमन्त्रीको स्वकीय सचिवसम्मलाई गराइसकेका थिए । मेयरको गलत तथ्यसहितको स्टाटस एकैछिनमा भाइरल भयो । अनि मेयरको भनाइ भन्दै स्थानीय पत्रकारले सन्देश आ–आफ्नो फेसबुकवालमा साभार गरेर पोस्ट गरिसकेका थिए ।

गलत तथ्यबाट फैलिएको हल्ला यतिमै सीमित रहेन । कान्तिपुरको सम्पर्कमा आएका ३५ वर्षीय विद्यानन्दको टिकट हेर्दा थाहा हुन्छ, उनी संक्रमित युवती आएको भोलिपल्ट अर्थात १८ गते काठमाडौं आएका रहेछन् । मेयरको स्टाटसबाट फैलिएको हल्लाले स्थानीय पनि सशंकित भए । विद्यानन्दका अनुसार मंगलबार बिहानै उनलाई नगरपालिकाको कर्मचारी बताउने एक जनाले फोन गरेर तुरुन्तै स्वास्थ्य जाँच गर्न नगरपालिका आउन भने । के भएछ भनेर विद्यानन्द आठै बजे खाना खाएर नगरपालिकातिर जाँदै थिए । बाटोमा भेटिएका एक जनाले अहिले नगरपालिका जान नपर्ने भयो, घरमै फर्केर बस्नुस् भने । त्यसपछि उनी आएकै बाटो घर फर्किए ।

झन्डै साढे चार बजेतिर विद्यानन्दको घरमा इलाका प्रहरी कार्यालयका प्रहरी गाडी लिएर पुगे । उनले सुनाए, ‘त्यतिबेलासम्म पनि कसम मलाई के भइरहेको हो ? के गर्छ भन्ने थाहा थिएन ।’ गाडी लिएर प्रहरी आएलगत्तै एम्बुलेन्स आइपुग्यो । त्यतिन्जेलसम्म विद्यानन्दको घरवरपरका मान्छेको हुल आँगनछेउछाउमा जम्मा भइसकेको थियो । उनले भने, ‘वरपरका सबै मान्छे रमिता हेर्न आएकोझैं गरेर आइरहेका थिए ।’

विद्यानन्दलाई लैजाने बेलाको तस्बिर मेयर थापाले पनि फेसबुकमा राखेका छन् । जसमा उनलाई लिन आएकाहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट लगाएको देखिन्छ । विद्यानन्दले भने त्यतिबेला सामान्य कपडाको मास्क मात्रै लगाएको देखिन्छ । उनले भने, ‘एम्बुलेन्सको पछाडि म र बूढी बस्यौं ।’ जबकि विश्व स्वास्थ्य संगठनले बनाएको गाइडलाइनमा सम्भावित संक्रमितसँगै अरु मान्छेलाई राखेर अस्पताल लैजाँदा संक्रमण भएको रहेछ भने सर्ने जोखिम रहन्छ ।

विद्यानन्दलाई धरानको घोपा क्याम्पस्थित बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स पुर्‍याउँदा ७ बज्नै आंटेको थियो । बिहान ८ बजे नै खाना खाएका विद्यानन्दले त्यतिबेलासम्म केही खान पाएका थिएनन् । अस्पतालले उनलाई एउटा कोठाभित्र हुल्यो । उनका अनुसार जहां उनी जस्तै वैदेशिक रोजगारीबाट फर्केका धरानकै एक मान्छे थिए । राति दस बजेतिर डाक्टरले उनको नाक र मुखबाट स्वाब निकालेर परीक्षणका लागि लगेका छन् ।

विद्यानन्दले सुनाए, ‘मलाई किन ल्याएको ? कति दिन राख्ने हो केही पत्तो छैन ।’ त्यसो त दिनभर भोकभोकै बसेका विद्यानन्दलाई राति १२ बजेतिर एक जना स्टाफ नर्सले एउटा चाउचाउ र पानी खान दिइन् । उनकी श्रीमती रीताले आफू पनि राति १२ बजेसम्म अस्पतालबाहिरै बसेको र पछि कर्मचारीसँग हारगुहार गरेपछि अस्पतालकै बिरामी राख्ने एउटा वार्डमा टुक्रुक्क बसेर रात कटाएको बताइन् । उनले भनिन्, ‘जाँच गरेर राति नै फर्किने हो भन्थ्यो । त्यही भएर कपडा पनि ल्याइनँ । चिसै रात काटें ।’
फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण
छुट्टीमा जाने–आउने गरेर पछिल्ला दस वर्षदेखि कतारमा मजदुरी गर्दै आएका विद्यानन्द पछिल्लो पटक सात महिना पहिले मात्र कतार पुगेका थिए । कोरोनाको त्रास बढेपछि कम्पनीले बिदा दिएर घर फर्केको सुनाए । उनले घर फर्केपछि आफूलाई रुघा, खोकी, ज्वरोजस्तो केही समस्या नदेखिएको सुनाए । उनले भने, ‘हल्लैहल्लामा मलाई यता ल्यायो ।’

विद्यानन्दका कान्छा भाइ गोठालो काम गर्छन् । उनले दाइलाई भाइरस लाग्यो भनेर गाउँमा हल्ला चलेको र नयाँ–नयाँ मान्छेले सोधिरहेको सुनाए । उनले मंगलबार मात्रै मास्क र हेल्मेट लगाएको एक जनाले बाटोमै रोकेर तेरो दाइ कतारबाट फर्केपछि कहाँ कहाँ गयो, नढाँटी भन् भनेको सुनाए । उनले भने, ‘उताबाट फर्केको भोलिपल्ट दाइ गाउँका २० जनासँग कोसी टप्पुमा माछा मार्न गएको थियो भन्दिएँ । अनि त्यो मान्छेले बीसै जनाको नाम टिपेर लग्यो ।’

विद्यानन्दले आफू रोगले भन्दा पनि गाउँमा फैलिएको हल्लाले बिरामी हुन लागेको सुनाए । उनले भने, ‘यति दुःख दिएछ मलाई मान्छेहरुले, उल्टै बिरामी बनाउन लगाएछ ।’ उनले आफूसँग गोजीमा ५ सय मात्र भएको र कति दिन बस्नुपर्ने हो भनेर कसैले नभनेको सुनाए । उनले भने, ‘के हो कसो हो, मैले त केही मेसो पाइरा छैन ।’

बेलका नगरपालिकाका मेयर थापासँग भने सम्पर्क हुन सकेन । नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज जोशीले नगरपालिकाले आफ्नै पहलमा शंका लागेको भएर जाँच गर्न लगेको बताए । उनले भने, ‘अब केही दिनमा नगरपालिकामै क्वारेन्टाइन बन्छ अनि शंका भएकालाई त्यहीं राख्छौं ।’

मेयर थापाले त आफ्नो स्टाटस हटाएर नयाँ सूचना लेखे । तर उनले हटाएको पुरानो स्टाटस कपी गर्ने र त्यसको स्क्रिनसट राख्नेहरुबाट उक्त गलत तथ्यसहितको खबर फैलिइरहेको छ । कतिले त उक्त स्टाटसको स्क्रिन सट ट्वीटरमा पनि राखे । यसरी राज्यले समयमै सही सूचना प्रदान गर्न नसक्दा सामाजिक सन्जालमा अफवाह निरन्तर फैलिरहेको छ । जसबाट विद्यानन्द जस्ताले हैरानी खेपिरहेका छन् ।

संक्रमित युवती चढेको विमानमा ४० जिल्लाका यात्रु
फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ ।

पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका यात्रु उक्त विमानमा सवार थिए । १ सय ५८ यात्रु सवार विमानमा एक फ्रेन्च, दुई जर्मन र दुई भारतीय थिए । अन्य ४४ जना नेपाली कुन जिल्लाका थिए भन्ने खुल्न सकेको छैन ।

कान्तिपुरलाई प्राप्त कागजातअनुसार संक्रमित युवती सवार विमानमा सबैभन्दा धेरै अर्थात् २७ यात्रु प्रदेश २ का थिए । यो प्रदेशअन्तर्गतका महोत्तरीका ११, सर्लाहीका ४, धनुषाका ९, सप्तरीका २ र बाराका १ जना छन् । एकाधबाहेक उक्त विमानमा सवार अधिकांश यात्रु वैदेशिक रोजगारीबाट फर्किएका कामदार रहेको बुझिएको छ ।

उक्त विमानमा सवार सबै यात्रुमा संक्रमणको जोखिम रहनसक्ने भएकाले ती यात्रुहरु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र स्वास्थ्य समस्या देखिए जाँच गराइहाल्नुपर्ने हुन्छ । तर संक्रमणको पुष्टि भएको तेस्रो दिन भइसक्दा पनि उक्त विमानमा सवार सबै यात्रुसँग सरकारी सम्पर्क हुन सकेको छैन । कान्तिपुरसँगको कुराकानीमा प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले उक्त विमानमा आएकामध्ये १३ जना आइसोलेसनमा बसेको थाहा भएको र अरूको खोजी तीव्र रूपमा भइरहेको बताए । प्रहरी प्रधान कार्यालयले उनीहरुको अवस्था बुझ्न मंगलबार देशैभरका जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिसकेको थियो ।

जोखिममा कामदार
टेकुस्थित केन्द्रीय प्रयोगशालाबाट बुधबार संक्रमण पुष्टि भएका यात्रु पनि वैदेशिक रोजगारीबाट ६ गतेमात्र काठमाडौं फर्किएको देखिन्छ । यसअघि संक्रमण पुष्टि भएकी किशोरी पनि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

यी दुवै घटनाबाट वैदेशिक रोजगारीबाट फर्किएका कामदार जोखिममा हुन सक्ने र एउटै विमानमार्फत फर्किएका कामदारलाई पनि संक्रमणको जोखिम हुन सक्ने देखिएको छ । दुवै विमान कतार एअरवेजको रहेको र कतारको दोहाबाट आउने उक्त विमानमा अधिकांश घर फर्किने कामदार रहने देखिन्छ ।

४ गते काठमाडौं आएकी युवती सवार विमानबाट यात्रुहरुको विस्तृत विवरण प्रहरी प्रधान कार्यालयले अध्यागमन विभागबाट लिइसके पनि बुधबारको संक्रमित चढेको विमानका यात्रुको विवरण प्रहरीले बुधबार साँझसम्म पनि पाएको छैन । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले पछिल्लो संक्रमित व्यक्ति पनि वैदेशिक रोजगारीबाट फर्किएको कामदार भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाए पनि स्वास्थ्य मन्त्रालयबाट औपचारिक रूपमा नपाएको बताए ।

प्रतिक्रिया