उपचार नपाउँदा तीन बालिकाको मृत्‍यु
शिक्षाखबर डेस्क
१६ चैत्र २०७६, आईतवार
no immg

काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएको प्रतिकूल अवस्थामा उपचार नपाएर तीन बालिकाको ज्यान गएको छ।

काठमाडौंका दुई र सर्लाहीका एकजना बालिकाको उपचारमा पहुँच नपुगेर निधन भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याउन नपाउँदै बाटोमै बालिकाको ज्यान गएको हो। अस्पताल आए लगत्तै ८ महिनादेखि ५ वर्षकी बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

लकडाउनका कारण सवारी साधन नचलेको र अभिभावककमा पनि सुझबुझ नहुँदा अकालमा बालिकाले ज्यान गुमाउनु परेको डा. पौडेलले बताए। दश वर्ष मुनिका तीनजना बालबालिकालाई अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै ज्यान गइसकेको थियो।

सरकारले चैत ११ गतेदेखि चैत बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द छन्।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको भोलिपल्ट निधन भएको हो। डा. पौडेलकाअनुसार, तीन दिनको अवधिमा तीनजना बालिकाको निधन भएको छ। ‘लकडाउन सुरु भएकै दिनमा यो घटना भयो। लगातार जस्तो बालिकाले ज्यान गुमाउन पुगे। ज्यादै दुःख लाग्यो’, उनले भने। चैत ११ र १२ गते यी घटना भएका थिए।

कस्ता बिरामी थिए ?

अस्पतालका निर्देशक पौडेलका अनुसार, गोपनियताको दृष्टिले गर्दा नाम दिने गरिएको छैन। लकडाउन घोषणाको पहिलो दिन चैत ११ गते सर्लाहीकी बालिकाको बिहानपख ज्यान गएको हो। त्यसको भोलीपल्ट अर्की बालिकाको ज्यान गयो। ५ वर्षकी ती बालिका काठमाडौं, बुढानीलकण्ठकी हुन्। बालिकालाई मस्तिष्क पक्षघातको दीर्घ समस्या रहेको डा.पौडेलले जानकारी दिए। यी बालिकालाई चैत १२ गते कान्ति अस्पतालमा लगिएको थियो।

टयाक्सीमा बिहान ३ बजे अस्पताल लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

ज्यान गुमाएकी अर्की बालिका ८ महिनाकी हुन्। उनका अभिभावक काठमाडौंस्थित कालीकाटी ठेगाना उल्लेख गरेका छन्। उनलाई झाडापखाला भएको थियो। अभिभावकले नजिकै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगेका थिए। शुक्रराज अस्पतालमा कोरोना भाइरस संक्रमण देखिएका ४ जना आइसोलेसनमा उपचाररत छन्। सो अस्पतालले बालिकालाई कान्ति अस्पतालमा रेफर गरेको थियो।

डा.पौडेलले भने, ‘झाडापखाला भएको पछिल्लो केश बचाउन सकिन्थ्यो। धेरै टाढाको पनि होइन कालिमाटीतिर बस्ने रहेछ। अभिभावकलाई कहाँ जाने, के गर्ने ? भन्ने सम्बन्धमा द्विविधामा परेर पनि हो की ? रातिको बेला पनि भएर होला कता जाने भन्ने भयो। तयारी गर्दा गर्दै पनि ढिलो भयो होला। यो चाहीं अलि दुःखद हो।’ ती बालिकाको बिहानपख ५ बजे निधन भएको थियो।

देशव्यापी लकडाउनका कारण औषधि र खाद्यान्न बाहेक अन्य ओसार पसार र आवागमन बन्द भएका कारण एम्बुलेन्स समेत चलेका छैनन।

प्रतिक्रिया