कर्णालीमा कोरोना प्रतिरोध तयारी : जुम्लाको स्थिति मजबुत
शिक्षाखबर डेस्क
१७ चैत्र २०७६, सोमबार
no immg

सुर्खेत / केही वर्ष अघिसम्म जुम्लामा नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामको लागि आकस्मिक अवस्थाको तयारी गरिरहँदा सबैभन्दा मजबुत अवस्था जुम्लामा देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर आइसोलेसन, आईसीयू र भेन्टिलेटर बेडको संख्या ३ सय ६३ रहेको छ। तीमध्ये १ सय ३५ बेड जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्। सुर्खेतस्थित प्रदेश अस्पतालमा ८९ बेड रहेका छन्। मन्त्रालयका अनुसार हालको अवस्थामा प्रदेशभरि आईसीयू संख्या १७ वटा रहेको छ। तीमध्ये १० वटा जुम्लामा, ५ वटा सुर्खेतमा र २ वटा दैलेखमा छन्। ७ वटा भेन्टिलेटरमध्ये ५ जुम्लामा र २ सुर्खेतमा छन्।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै १ सय २० आइसोलेसन र १०-१० वटा आईसीयू तथा भेन्टिलेटर थप्ने तयारी भइरहेको बताए। ‘यसको लागि हामीले प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेट माग गरिरहेका छौं,’ उनले भने, ‘प्रतिष्ठानलाई कोरोना उपचारको लागि कर्णालीकै केन्द्र बनाउने हाम्रो योजना छ।’

प्रतिष्ठानमा जनशक्ति पनि पर्याप्त छ। रजिष्ट्रार काफ्लेका अनुसार ३२ जना विशेषज्ञसहित ५५ चिकित्सक कार्यरत रहेका छन्। ६ जना चिकित्सकलाई सुर्खेत, दैलेख, रुकुमपश्चिम, हुम्ला र कालीकोटमा काजमा पठाइएको छ। कर्णाली प्रदेश सरकारले बिहीबार १ करोड बजेटसहित आइसोलेसन अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेपछि प्रतिष्ठानको योजनामा थप बल पुगेको छ। सरकारको तर्फबाट प्रतिष्ठानलाई आइसोलेसन अस्पताल बनाउने योजनाको संयोजक तोकिएका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी आइसोलेसन, आईसीयू र भेन्टिलेटर हालको भन्दा दोब्बर पार्ने गरी योजना बनाइएको बताउँछन्। ‘प्रविधि र जनशक्तिको हिसाबले प्रतिष्ठान नेपालकै राम्रो अस्पतालमा स्थापित भइसकेको छ,’ उनले भने, ‘कोरोनाको संक्रमणको बेला यसले हामीलाई थप भरोसा दिएको छ।’ कर्णालीमा कोरोनाको संक्रमण भित्रिहालेको अवस्थामा साविक कर्णालीको लागि जुम्लास्थित प्रतिष्ठान र तल्लो बेल्टको लागि सुर्खेतस्थित प्रदेश अस्पताललाई उपचार केन्द्र बनाइने उनले बताए।

संक्रमण भएको मुलुकबाट ८ हजार ६५० आए, ३०० मात्रै क्वारेन्टाइनमा

कर्णालीमा प्रदेशभर २ हजार ५ सय २८ बेडको क्वारेन्टाइन निर्माण भएको छ। स्थानीय तहमा २ हजार २८ र जिल्ला तथा प्रदेशमा ५ सय बेडको क्वारेन्टाइन निर्माण भएको हो। संक्रमित मुलुकबाट आएका मान्छेहरु भने क्वारेन्टाइनमा नभई घरमै बसिरहेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मुलुकबाट आएका नागरिकको संख्या ८ हजार ६ सय ५० रहेको छ। यीमध्ये करिब ३ सयजना मात्र क्वारेन्टाइमा बसिरहेका सामाजिक विकासमन्त्री दल रावलले बताए। ‘अहिले पनि मान्छेलाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ,’ उनले भने, ‘यो संख्या बढ्न सक्छ।’

हालसम्म संकलित तथ्यांकअनुसार विदेशबाट आउने सबैभन्दा बढी संख्या जुम्लामा छन्। त्यहाँ ५ हजार ८० व्यक्ति विदेशबाट आएका छन्। हुम्ला, डोल्पा, कालीकोट र मुगुमा विदेशबाट आएका व्यक्तिको संख्या प्राप्त भएको छैन। यो तथ्यांक स्थानीय तहमार्फत संकलन गरिएको मन्त्री रावलले बताए।

क्वारेन्टाइन पर्याप्त बने पनि आइसोलेसन बेड, आईसीयू र भेन्टिेलटरको भने अभाव रहेको छ। हालसम्म संघ, प्रदेश र स्थानीय मातहतका स्वास्थ्य संस्थामा ३ सय ३९ आइसोलेसन बेड तयार भएका छन्। प्रदेश सरकारले सुर्खेतको कर्णाली प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रूपमा विकास गर्ने भएकोले यो संख्या बढ्ने मन्त्री रावलको भनाइ छ। आइसोलेसनसहित अन्य सेवा सुविधा थप्नको लागि प्रदेश अस्पताल र प्रतिष्ठानलाई एक–एक करोड तथा चौरजहारी अस्पतालाई ५० लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ

कर्णालीमा कोरोना परीक्षणको लागि ल्याब नहुँदा समस्या भइरहेको छ। स्वाबको नमुना संकलन गरेर काठमाडौं पठाउनु पर्ने बाध्यता छ। रिपोर्ट आउन करिब ३–४ दिन लाग्ने गर्छ। मन्त्री रावलका अनुसार हालसम्म १७ जनाको नमुना पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

जुम्लास्थित प्रतिष्ठानको अस्पतालमा २ जना बिरामीलाई राखिए पनि स्वाब परीक्षणको लागि पठाउन नसकिएको रजिष्ट्रार काफ्लेले बताए। ‘चिन्ह–लक्षण मिल्ने भएरै आइसोलेसनमा राखिएको हो, तर स्वाबको नमुना परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘जहाज र गाडी चल्दैनन्, कसरी पठाउनु ?’ चार दिनअघि भर्ना गरिएका उनीहरूको अवस्थामा केही सुधार भइरहेको उनले बताए।

प्रतिक्रिया