एजेन्सी / रोना भाइरसको महामारी नियन्त्रणका लागि अझै केही समय लाग्न सक्ने र सोही कारण सन् २०२२ सम्म ‘सोसल डिस्ट्यान्सिङ’ (सामाजिक दूरी) विस्तार गर्नुपर्ने हुन सक्ने एउटा अध्ययनले देखाएको छ । अध्येताहरूले आफ्नो अनुसन्धानको आधारमा के पनि निष्कर्ष निकालेका छन् भने कोरोना भाइरसको प्रकोप सन् २०२४ सम्म जारी रहन सक्छ ।
अमेरिकाको हार्डभर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो कुरा बताएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न सामूहिक रूपमा मानिसहरू भेला हुने, स्कुल, पार्टीलगायतका घरबाहिरका क्रियाकलापलाई ‘सोसल डिस्ट्यान्सिङ’अन्तर्गत राखिएको छ । र, यसलाई प्रभावकारी बनाउन विश्वका अधिकांश मुलुक यतिवेला ‘लकडाउन’मा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (२ वैशाख) अप्रिलको अन्त्यसम्म अमेरिका केही राज्यमा ‘सोसल डिस्ट्यान्सिङ’ हट्न सक्ने आफ्नो अनुमान सार्वजनिक गरेका थिए । ट्रम्पको पूर्वानुमानसँगै यो अध्ययन सार्वजनिक भएको हो ।
हार्डभर्ड जनस्वास्थ्य विद्यालयका पाँच अनुसन्धानकर्ताहरूको समूहले तयार गरेको अध्ययन मंगलबार (२ वैशाख) साइन्स जर्नलमा प्रकाशित भएको छ । तर, सो समाचार सामग्रीमा अनुसन्धानकर्ताहरूको नाम उल्लेख गरिएको छैन । सो अध्ययनले आगामी चार वर्षभित्रमा भाइरसले पुनः संकट पार्न सक्ने निष्कर्ष निकालेको छ ।
अध्ययनको निष्कर्ष भन्छ– स्थानीय रूपमा लामो समयका लागि सामाजिक दूरी कायम गर्नु नपर्ने हुन सक्छ । तर, बाह्य मुलुक एवं लामो दूरीका लागि भने भने सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्नुपर्ने हुन सक्छ ।
कोरोना भाइरसविरुद्ध खोप, गुणस्तरीय उपचार व्यवस्था एवं जटिल उपचार सुविधा नभए यस्तो स्थिति सिर्जना हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । संक्रामक रोगको पुनरुत्थान हुन सक्ने भएका कारण अहिलेको अवस्थामा भाइरस स्पष्ट रूपमा उन्मूलन भए पनि कोभिड– १९ को निगरानी २०२४ सम्म गरिराख्नुपर्ने अनुसन्धानको निष्कर्ष छ ।
दोस्रो विश्वयुद्धपछिकै ठूलो मानव संकटका रूपमा रहेको यसपटकको महामारीले अहिलेसम्म एक लाख ३६ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । चीनमा पहिलोपटक देखापरेको भाइरसको केन्द्रबिन्दु अहिले अमेरिका बनेको छ । त्यहाँ ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्र नै ३ प्रतिशतले खुम्चिने बताउँदै कोरोना भाइरसले सिर्जना गरेको परिस्थिति २१औँ शताब्दीकै सबैभन्दा ठूलो संकट हुन सक्ने उल्लेख गरिसकेको छ । सुरुमा प्रकोपको केन्द्रबिन्दु चीनको हुबेई राज्यको वुहान सहर बनेको थियो । अहिले देशव्यापी रूपमा त्यहाँ संक्रमण करिब नियन्त्रणको अवस्थामा आइपुगेको निष्कर्षका साथ लकडाउन सुस्त पारिएको छ ।
युरोपका केही मुलुकले आर्थिक गतिविधिहरूलाई सुस्त हुन नदिन लकडाउनलाई केही खुकुलो पारिरहेका छन् । यद्यपि, त्यहाँ पनि संक्रमणको अवस्था सामान्य अवस्थामा भने पुगिसकेको छैन ।
हार्डभर्ड विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण मौसमअनुसार बदलिन्छ या बदलिन्न भन्ने र प्रतिरक्षा प्रणालीको प्रभावबारे अध्ययन गर्न अमेरिकी तथ्यांकको प्रयोग गरेको थियो । उक्त अध्ययनले कोरोना भाइरस जुनसुकै समयमा पनि संक्रमण हुन सक्ने देखाएको छ । भाइरसविरुद्ध स्थायी प्रतिरक्षा प्रणाली विकास हुन सक्यो भने चारदेखि पाँच वर्षका लागि यो भाइरस हराउने अध्ययनले देखाएको छ ।
अमेरिका, सिंगापुर र दक्षिण कोरियामा भएका अध्ययनहरूले सोसल डिस्ट्यान्सिङ, अधिक कन्ट्याक्ट ट्र्यासिङ र क्वारेन्टाइन र गुणस्तरीय मेडिकल प्रणालीले भाइरस नियन्त्रणमा ल्याउन सकिने देखाएको ‘साउथ चाइना मर्निङ पोष्ट’ले तयार पारेको सो समाचार सामग्रीमा उल्लेख छ ।
‘अहिलेका लागि सामाजिक दूरी कायम गर्ने नीतिहरूले नै यो स्वास्थ्य संकटले सिर्जना गरेको तनावलाई कम गर्न सक्छ,’ अध्ययनमा उल्लेख गरिएको छ ।
तर, अनुसन्धानकर्ताहरूले आफूहरूले ‘सोसल डिस्ट्यान्सिङ’लाई बढावा दिन नखोजेको दाबी गरेका छन् । पर्याप्त आइसियू, गुण्स्तरीय मेडिकल सेवालगायतका व्यवस्था गर्न सकियो भने महामारीलाई लामो समयका लागि नियन्त्रणमा लिन सकिने उल्लेख गरेका छन् ।
‘अहिले सामाजिक दूरी कायम गर्दा आर्थिक संकट झन् बढ्दो क्रममा छ, त्यसैले हामीले सामाजिक दूरीसम्बन्धी नीतिको पक्षपोषण गरेका होइनौँ,’ उनीहरूले भनेका छन्, ‘तर, अहिले स्वास्थ्य सेवामा जुन उच्च तनावको स्थिति छ, त्यसको कारण सामाजिक दूरी कायमको अवस्था एकदम कमजोर हुनु हो ।’