दुर्गमका गर्भवती झन् धेरै जोखिममा, लकडाउनकै समयमा मृत्यु बढ्यो
शिक्षाखबर डेस्क
४ जेष्ठ २०७७, आईतवार
no immg

कालिकोेट / भौगोलिक रूपमा विकट जिल्लामा कोराना संक्रमणले स्वास्थ्य सेवा जटिल बनाइदिएको छ । दुर्गमका गर्भवतीका लागि अस्पताल आफैँमा सहज थिएन, संक्रमणको डरले झन् समस्या थपिदिएको छ ।

अस्पताल जान अहिले सहज छैन । कालिकोेटको नरहरिनाथ गाउँपालिका–७ दुल्लीकी २० वर्र्षीया मीना शाहीले गत शुक्रबार राति घरमै शिशुलाई जन्म दिएकी थिइन् । तर, रक्तस्राव बढेपछि उनलाई अस्पताल लग्ने क्रममा शनिबार दैलेखको गुराँसेमा उनको मृत्यु भएको छ ।

घरमै असुरक्षित रूपमा सुत्केरी भएकी मीनाको स्वास्थ्य बिग्रिएपछि मात्र उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पतालले सुर्खेत रिफर गरेको थियो । सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले पहिलो बच्चा १६ वर्षको उमेर जन्माएकी थिइन् । त्यसले स्वास्थ्य जोखिममा परेको थियो । त्यसैले यसपालि गर्भवती भएदेखि नै नियमित जाँचका लागि आउने गरेको दुल्लीस्थित सामुदायिक स्वास्थ्य इकाइकी अनमी बिमला बुढाले बताइन् । तर, लकडाउनको वेला अस्पतालमा सेवा पाइँदैन भनेर उनी घरमै सुत्केरी भइन्, परिणामस्वरूप उनको ज्यानै गयो । ‘उनको बच्चाको अवस्था ठीक थिएन । सुत्केरी हुन जिल्ला अस्पताल जानु भनेकी थिएँ,’ अनमी बुढाले भनिन्, ‘तर, यो अप्ठ्यारो वेला उनी घरमै सुत्केरी भइछन् । धेरै नराम्रो परिणाम आयो ।’

उता, डोल्पाको ठूलीभेरी नगरपालिका– ६ दुरगाउँकी २२ वर्षीया लालुकुमारी रोकायाको पनि सुत्केरी हुँदा नै मृत्यु भएको छ । घरमै असुरक्षित रूपमा सुत्केरी भएकी रोकाया सिकिस्त भइन्, तर उनले स्वास्थ्य उपचार पाइनन्, २९ चैतमा उनको निधन भयो ।

लकडाउन त बहाना भएको छ, विकट कर्णालीका गर्भवतीका लागि सामान्य दिन पनि असामान्य छन् । ६ चैतमा लकडाउन सुरु भएकै थिएन, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विक जाजरकोटको औलगुत्ता स्वास्थ्यचौकीमा सुत्केरी भएकी थिइन् । उनलाई अत्यधिक रक्तस्राव भयो, दक्ष स्वास्थ्यकर्मीको सेवा मात्र होइन, रक्तस्राव रोक्ने औषधि पनि नपाएर उनको निधन भयो । स्थानीय तहमा एमबिबिएस डाक्टरको दरबन्दी छ, तर डाक्टर छैनन् । सडक सञ्जालले जोडिएका गाउँपालिकामा पनि एम्बुलेन्स नभएकोले बिरामी र आफन्तलाई असुविधा छ । बर्सेनि स्थानीयको मृत्यु भए पनि स्वास्थ्य संस्था र पूर्वाधार बढाउने काम भएको छैन ।

जाजरकोट र कालिकोटजस्ता दुर्गम बस्तीमा मात्र होइन, तुलनात्मक रूपमा सुगम दाङमा पनि गर्भवती महिलाको स्वास्थ्य सुरक्षित छैन । जिल्लाको लमही, घोराही र तुलसीपुर क्षेत्रमा मात्र ठूला अस्पताल भएकाले टाढाका बस्तीबाट अस्पताल ल्याउने क्रममा गर्भवती महिलाले ज्यान गुमाउनुपर्छ ।

सर्लाहीमा कोरोनाको डरले प्रसूति सेवा लिने घटे

कोरोना संक्रमणको डरले सर्लाहीमा प्रसूति सेवा लिनेको संख्या घटेको छ । करिब ५० प्रतिशत कमी आएको जिल्ला अस्पतालस्थित प्रसूति केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार लकडाउनअघि महिनामा कम्तीमा १६ जना प्रसूति गराउन आउने गरेका थिए । अहिले भने मुस्किलले सात–आठ पुग्ने गरेको प्रसूतिगृहका इन्चार्ज श्याम कुशवाहले बताए । ‘पहिला सुरक्षित प्रसूति गराउन अस्पताल जानुपर्छ भन्नेहरू पनि अहिले डराउँछन् । कोरोना संक्रमण स्वास्थ्यकर्मीबाटै सर्न सक्छ भनेर गर्भ जाँच गर्न आउने पनि घटेका छन्,’ उनले भने । स्थानीय स्वास्थ्य संस्थामा पनि प्रसूति गराउनेको संख्या घटेको छ । गर्भ जाँच गराउन पनि छोडेका छन् ।

प्रतिक्रिया