विराटनगर / विराटनगर महानगरपालिका–११ की ४० वर्षीया कोरोना संक्रमित महिलाको मोरङको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा भदौ ९ गते मृत्यु भयो । उपचारका क्रममा संक्रमित महिलाको मृत्युपछि अस्पतालभित्र भागाभाग भयो । नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोली आइनपुग्दा तत्काल शव उठ्ने अवस्था भएन । त्यो जानकारी पाएर विराटनगरका युवाहरु पीपीइ लगाएर पुगे । युवाहरुले आफ्नै सक्रियता र पहलमा शवलाई सुरक्षित हिसाबमा प्लाष्टिककमा प्याक गरे । सेनीटाइज गरेर अस्पताललाई ‘डिसइन्फेक्ट’ गरिदिए ।
शव बहानमा राखेर सेनाले पुर्याइदिएपछि चितामा प्लास्टिककमा बेरिएको शव राखेर भोलिपल्ट सिंघीया घाटमा अन्त्येष्टि गरियो। खाल्डोमा पुर्नेभन्दा पनि शव जलाउन पाउनुपर्ने माग परिवारले राखेपछि प्रशासनले पनि नियम अनुसार अनुमति दिएको थियो ।
त्यसको १० दिन पूरा नहुँदै मृतककी दिदी कोरोना संक्रमित ४३ वर्षीय अर्की महिलाको पनि भदौ १९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । परिवारको आग्रहमा उनको पनि त्यसरीनै पीपीइ लगाएका युवाले स्वास्थ्य सुरक्षा मापदण्डको अधिनमा रहेर शवको अन्त्येष्टि गरिदिए । शव जलाउनका लागि दाउराको चिता उनीहरु आफै तयार गर्छन् ।
कोरोनाका कारण मृत्यु भएकाको शव सेनाले गाडेर व्यवस्थापन गर्दै आएको छ । तर परिवारले धार्मिक संस्कार र हिन्दू परम्पराअनुसार अन्त्येष्टिको इच्छा राखेपछि प्रशासनले अनुमति दिएसँगै युवाहरुले संक्रमणपछि मृत्यु भएका एउटै परिवारका दुवै दिदीबहिनीको शव जलाउन सहयोग गरेका हुन् । संक्रमितको शव नगाडिकन पहिलो पटक धार्मिक संस्कार अनुसार चिता बनाएर जलाइएको हो ।
शव जलिसकेपछि सेनीटाइज गर्दै घाटमा औषधि छर्किएर दाहसंस्कारमा उपस्थित भएकाहरु फर्कन्छन् । पीपीई पनि खोलेर जलाउँछन् । युवाहरुको एउटा समूह शव जलाइरहँदा अलिपर त्यही समूहका केही युवाहरु खाजा लिएर बसेका हुन्छन् । शव जलाएर आउनेलाई खुवाउँछन् । अनि सबैजना शरीरमा सेनीटाइज गरेर तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्न जान्छन् । बेलाबेला पीसीआर परीक्षण पनि गराउँछन् । यसरी सामाजिक भाव देखाएर सहयोगमा होमिएका कसैलाई पनि अहिलेसम्म संक्रमण देखिएको छैन ।
संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका युवाहरु
स्वःस्फूर्त रुपमा संक्रमितका परिवारलाई सहयोग गर्न तथा शव जलाउन विराटनगरका १२ जना युवाहरु गोलबन्ध भएर सामाजिक सेवामा समर्पित छन् । विराटनगर–३ का २६ वर्षीय राम नेपाल, २१ वर्षीय सुयोग चापागाईं, १९ वर्षीय सन्योग चापागाईं, विराटनगर–५ का २४ वर्षीय रविन कार्की, २१ वर्षीय अनुराग भण्डारी, विराटनगर–१ का २० वर्षीय संजोग गौतम, आर्यन न्यौपाने, सुभम मित्र, रोनक तिम्सिना, १८ वर्षीय आर्यन वास्तोला, २४ वर्षीय विधान अधिकारी, र विराटनगर–७ का दृष्यमान शाक्यसमेतका युवा संक्रमितका परिवारको सहयोगमा जुटेका हुन् ।
‘शव जलाउन सहयोग गर्न मृतकका परिवारले आग्रह गरे, ‘युवाहरुमध्येका नेपालले भने, ‘हुँदैन भन्न नसकेर हामीले घाटमा चिता बनाउँदै निष्फिक्री जलाएर शवको व्यवस्थापन गरिदिएका हौं ।’
त्यसअघि युवाहरु संक्रमितका घरघरमा पुगेर सेनीटाइज गर्दै घरलाई ‘डिसइन्फेक्ट’ गर्थे । संक्रमितको घरमा सेनीटाइन गरिरहेको र पछिल्लो समय सुरक्षा मापदण्ड अनुसार शव जलाउन पनि सहयोग गर्न थालेको नेपालको भनाइ छ ।
उनले शव उठाउन अस्पतालनै पुग्ने गरेको सुनाए । यस काममा सबै पक्षले सकारात्मक सहयोग गरिरहेको जानकारी नेपालले दिए । ‘हामी घाटसम्म शव लैजान सेनासँगै खट्छौं,’ उनले भने, ‘सुरक्षा, सावधानी अपनाउँदै जलाउँछौं ।’
उच्च अदालत विराटनगरले संक्रमित मृतकको शवको दाहसंस्कारमा परिवारका सदस्यलाई सहभागी गराउन भदौ ८ गते आदेश दिएपछि सामाजिक अभियन्ता युवा स्वयंसेवकका रुपमा खटिएर सहयोग गरिरहेका छन् । संक्रमितमाथि समाजमा हेला र हिंसा बढिरहँदा आफूहरु चुप लागेर बस्न नसकेको नेपालले बताए । मृतकका संक्रमण नभएका परिवारका सदस्य अन्त्येष्टिमा उपस्थित हुन चाहे लैजाने पनि गरिएको उनको भनाइ छ ।
‘यसरी सहयोग गरे वापत हामी केही लिँदैनौं,’ उनले भने, ‘निस्वार्थ भावले सेवामा लागेका छौं ।’ संक्रमितको सहयोगमा खटिएकामध्ये सुयोग र सन्योग एउटै परिवारका दाजुभाइ हुन् । रविन प्रदेशसभा सदस्य एवं प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा हुन् । अरु सामाजिक काममा आग्रसर रहेर समाजलाई सकारात्मक सन्देश दिँदै अघि बढिरहेका युवाहरु हुन् ।
साथीहरुसँग मिलेर संक्रमितका परिवारलाई सहयोग गर्ने इच्छा छोराले देखाएका कारण आफूले पनि साथ दिएको र रोक्न नसकेको सांसद कार्कीले बताइन् । संक्रमितमाथि दुरव्यवहारका घटना बढिरहँदा युवाहरुको सक्रियताले समाजलाई सकारात्मक सन्देश दिएको उनको भनाइ छ । ुसंक्रमितलाई सहयोग गर्दै हौशला दिनु पर्छ,’ कार्कीले भनिन्, ‘त्यही भएर युवालाई संक्रमितको सहयोगमा अग्रसर हुन मैले पनि सहयोग गरें ।’
कांग्रेस नेता दीपक चापागाईं संक्रमितको सेवामा लागेका युवालाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् । उनकै पहलमा युवाहरु एकतावद्ध भएर यो सामाजिक अभियानमा होमिएका हुन् । ‘युवाहरु संक्रमितको घर सेनीटाइज गर्ने काममा लाग्छन्,’ चापागाईंले भने, ‘कतै मृत्यु भएर परिवारले धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्न चाहेमा दाहसंस्कारका लागि सहयोग गर्छन् ।’ उनले यसरी खटिने युवाहरुलाई सबैको सहयोग आवश्यक रहेको सुनाए ।
‘संक्रमितको घर पस्न र उनीहरुसँग नजिकिन सबै डराउँछन्,’ चापागाईंले भने, ‘झन् शव व्यवस्थापनकै कुरा त मुस्किलको विषय हो ।’ यस्तो अवस्थामा शव जलाउन सहयोग गर्ने युवाहरुको हिम्मत तारिफयोग्य रहेको उनको भनाइ छ ।
आफू जोखिममा परेर शव व्यवस्थापनमा सहयोग गर्दा संक्रमितका परिवारलाई मृत्युमा थोरै भए पनि राहत मिल्ने रविनले बताए । ‘परिवारमा मृत्युको पीडा हुन्छ नै,’ उनले भने, ‘अझ चाहेअनुसार शवको अन्त्येष्टि गर्न नपाउनु झन् ठूलो तनाव हुने भएकाले सहयोग गरेका हौं ।’ सबै साथीसँग सल्लाह गरेरनै संक्रमितको शव उठाउने र व्यवस्थापन गर्ने काम थालेको कार्कीले बताए ।
कोरोना त्रासले मानवीयता र सामाजिक भाव गुम्ने खतरा बढेसँगै संक्रमितमाथि भइरहेका गलत व्यवहारको अन्त्य गर्न र सकारात्मक सन्देश दिन युवालेहरुले देखाएको सामाजिक भाव उदाहरणीय रहेको अधिकारकर्मी उमेश विश्वकर्माले बताए । ‘युवाहरुले ठूलै जोखिम वहन गरेका छन्,’ उनले भने, ‘यस्ता अनुकरणीय कार्यमा सबैको साथ र सहयोग आवश्यक छ ।’ विराटनगरमा हालसम्म २२ जना संक्रमितको मृत्यु भइसकेको छ ।