प्याज उत्पादनका सबै प्रयास असफल
शिक्षाखबर डेस्क
१६ आश्विन २०७७, शुक्रबार
no immg

काठमाडौं / प्याजखेतीका लागि तराई र भित्री मधेसको जग्गा उर्वर मानिए पनि नेपालमा व्यावसायिक खेती न्यून छ । किसानले मौसमी बालीका रूपमा लगाएको प्याज सहरी क्षेत्रका उपभोक्ताका लागि बजारसम्म आइपुग्न सकेको छैन । सरकारी तथ्यांकअनुसार गत वर्ष २० हजार ९ सय ८ हेक्टरमा ३ लाख मेट्रिकटन प्याज उत्पादन भएको थियो । उत्पादन लिन लामो समयसम्म कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पुर्‍याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

प्याजखेतीलाई प्रवद्र्धन गर्दै आएको मन्त्रालयमातहतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत भरत आचार्यका अनुसार नियमित सिँचाइ हुने क्षेत्रमा मात्र प्याजखेती हुने भएकाले तराईमा विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन भइरहेको छ । मन्त्रालयका अनुसार ६ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा प्याजखेतीको सम्भावना छ । तर, अहिले देशभर करिब २१ हजार हेक्टरमा मात्र नियमित प्याजखेती भइरहेको छ । ‘पछिल्लो ५ वर्षयता सुस्त गतिमा प्याजखेतीको क्षेत्रफल विस्तार भइरहेको छ, तर यो पर्याप्त होइन,’ आचार्यले भने । भारतमा ठूलो संख्यामा दुई सिजन प्याज उत्पादन हुने हुँदा नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्ने डरका कारण पनि उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।

आर्थिक वर्ष ०६३/६४ मा पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने दाबीसहित ‘मिसन कार्यक्रम’ लागू गरिएको थियो । प्याज बढी उत्पादन हुने १० जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया र दाङमा यो कार्यक्रम लागू गरिएको थियो । ५ वर्षको अवधिमा प्रतिजिल्ला करिब ५ करोडका दरले खर्च भए पनि उत्पादनमा सुधार नभएर आलोचना हुन थालेपछि कार्यक्रम बन्द गरियो । भारतले वेला–वेला प्याज आयातमा अवरोध गर्ने र नेपाली बजारमा मूल्य बढ्न थालेपछि गत आव ०७६/७७ मा प्याजको बिउ र दाना उत्पादन बढाउन पुनः कार्यक्रम राखियो । ‘रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा प्याज आत्मनिर्भर कार्यक्रमअन्तर्गत दाना उत्पादन कार्यक्रम राखिएको थियो,’ आचार्यले भने, ‘रुकुममा बिउ उत्पादनको कार्यक्रम समेटिएको थियो । तर, कार्यक्रम सञ्चालनको कार्यविधि नै बनाउन सकिएन । त्यसैले यो कार्यक्रम लागू भएन ।’

सरकारले यो वर्ष पनि अनुदानमा आधारित प्याज उत्पादन वृद्धि कार्यक्रम राखेको छ । तराईका १० जिल्ला छनोट गरी १ करोड ससर्त अनुदानसमेत पठाइसकेको छ । कृषि मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर नगरपालिका, सिराहाको कल्याणनगर नगरपालिका, सर्लाहीको लालबन्दी नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको वर्ण गाउँपालिका, पर्साको बहदरमाई नगरपालिका, रुपन्देहीको मर्चमारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाँकेको जानकी गाउँपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकामा प्याज उत्पादनका लागि कार्यक्रम राखिएको छ ।

प्याजखेतीको उपयुक्त मौसम कात्तिकदेखि वैशाखसम्म मानिन्छ । भारतका १५ भन्दा बढी राज्यमा यही समयमा ठूलो स्केलमा प्याजखेती गर्छन् । त्यसपछि साउनदेखि कात्तिकको बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याजखेती गर्छन् । गत वर्ष भारतीय किसानले बेमौसमी प्याजखेती गरी १२ लाख टनभन्दा बढी उत्पादन गरेका थिए । तर, भारतको प्याजको डर मान्नुभन्दा भारतबाटै प्रविधि सिकेर भए पनि नेपालले प्याज उत्पादनमा फड्को मार्नुको विकल्प नभएको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन् ।

प्रतिक्रिया