फिचर

एक युनिट बिजुलीले डेढ सय किमि गुड्ने तीनपांग्रे सवारी बनाउँदै नेपाली विद्यार्थी

२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं / हरेक विद्यार्थी भविष्यका योजनाहरूको भारी बोकेर हिँडेका हुन्छन् । उनीहरूको त्यो भारीमा सबैभन्दा माथि हुन्छ पढेको विषयमा सबैभन्दा अब्बल बन्नु र जीवनलाई सहज वा सफल बनाउनु । थापाथली इन्जिनियरिङ क्याम्पसमा भविष्यको अब्बल इन्जिनियर बनेर नाम र दाम दुवै कमाउने सोच पालिरहेका विद्यार्थी त्योभन्दा फरक हुनै सक्दैनन् । उनीहरू दिनरात नभनी नयाँ आविष्कारका लागि पसिना बगाइरहेका छन् । हो, उनीहरूले त्यसमा धेरै हदसम्म सफलता पनि पाइसके ।

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, देशभित्र एक युनिट विद्युत्ले डेढ सय किलोमिटरसम्म दौडिने विद्युतीय गाडी तयार भएको छ । यो कुनै कथा होइन । यो गाडी थापाथली क्याम्पसका तिनै विद्यार्थीले तयार पारेका हुन्, जुन उनीहरूले इभी अर्थात् इलेक्ट्रिकल भेइकल गुड्ने अवस्थामा पुर्‍याइसके । अब त्यसलाई लिपपोत र शृंगार गरेर चिटिक्क बनाउन भने बाँकी छ । यो इभी मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाइएको हो ।

बेलायती कम्पनी सेल इनर्जीले बर्सेनि विश्वव्यापी रूपमा आयोजना गर्दै आइरहेको ‘सेल इको म्याराथन’मा भाग लिन थापाथली इन्जिनियरिङ कलेजका १० जना विद्यार्थीले कम इनर्जीमा बढी माइलेज दिने बिजुली गाडी बनाएका हुन् । अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । सिरेटो टिम भन्दा सुन्नेहरू अकमकिन्छन् । तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन् । अर्थात् प्रतियुनिट विद्युत्बाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन्, उनीहरू ।

अगाडि दुई र पछाडि एउटा साइकलको चक्का राखिएको तीनपांग्रे पूर्ण रूपमा तयार हुँदा यो इभी रेसिङ कारजस्तो देखिनेछ । तर, उनीहरूले यसलाई पूर्णतः प्रतिस्पर्धाका लागि बनाएका हुन् । जहाँ इनर्जी इफिसेन्सीमा प्रतिस्पर्धा हुन्छ । यो गाडी तयार हुँदा तौल ५० केजी मात्र हुनेछ । गाडी भनेको भनिए पनि झट्ट हेर्ने मान्छे अकमकिन्छ । किनकि, यसमा साइकलको चक्का छ । सिरेटो टिमका सदस्य सौगात पाण्डे तीनपांग्रे इभीमा साइकलको चक्का प्रयोग गर्नुको कारण सडकमा गुडाउँदा चक्काको घर्षण गाडीमा कम परोस् भनेर साइकलको पांग्रा प्रयोग गरेको सुनाउँछन् । ‘हामीले इनर्जी इफिसेन्सीमा प्रतिस्पर्धा गर्नका लागि कमभन्दा कम विद्युत् खपत गरेर धेरै माइलेज दिने इभी बनाउँदै छौँ,’ पाण्डे थप्छन्, ‘हामीले धेरै माइलेज निकाल्न एकदमै कम तौलको सानो इभी बनाएका हौँ ।’ एकचोटि स्पिड बढाउँदा केही परसम्म यो गाडी विद्युत् प्रयोग नगरीकन गुड्न सक्ने गरी डिजाइन गरिएको सुनाउँदा उनको मुहारमा सफलताको झल्को प्रस्ट देखिन्छ ।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ । पाण्डे थप्छन्, ‘विद्युतीयभित्र पनि प्रोटोटाइप र अर्बन गरी दुई क्याटागोरी हुन्छ, प्रोटोटाइपमा थ्री ह्विलरको मात्र प्रतिस्पर्धा हुन्छ, हामी पनि प्रोटोटाइपमा प्रतिस्पर्धा गर्दै छौँ ।’ एसियामा इन्डिया, मलेसिया वा सिंगापुरमध्ये एउटा देशमा हुने प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेर विश्व प्रतिस्पर्धामा नेपाली झन्डा फहराउँदै उत्रिने सपना पालिरहेछन्, उनीहरू ।

सिरेटो टिम
यो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी छन् । उनीहरूलाई डोहोर्‍याइरहेका छन्, फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले । घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा तल्लीन छन् ।

विजयको अपेक्षा
अहिले यस इभीमा २ सय ५० वाटको मोटर र १० एम्पियर आवरको ब्याट्री प्रयोग गरिएको छ । जसले १ सय किलोमिटरसम्म माइलेज दिएको छ । प्रतिस्पर्धामा जाँदा २० एम्पियर आवरको ब्याट्री प्रयोग गर्ने योजनामा छन्, उनीहरू । अहिलेसम्म प्रतिस्पर्धामा १ युनिटले २ सय ५० किमिसम्म दौडेको रेकर्ड छ । २ सय किमिसम्म माइलेज दिनेले पनि प्रतिस्पर्धा जितेका रेकर्डहरू भेटेका छन्, टिमका सदस्यले । त्यसैले त उनीहरू थप्छन्, ‘हामीले २ सय किमि माइलेज निकाल्न सक्यौँ भने नजितिएला भन्न सकिँदैन ।’

व्यावसायिक इभी बनाउने सपना
समूहका सदस्यहरू भोलिका दिनमा यात्रुबाहक वा मालबाहक व्यावसायिक इभी बनाउन सकिन्छ भन्ने योजना बुन्नसमेत थालेका छन् । यही प्रोजेक्टबाट नयाँ कामको सुरुवात भएको निष्कर्ष सुनाउँछन्, उनीहरू  । उनीहरू इभीलाई चाहिने टेक्नोलोजी र पार्टपुर्जा नेपालमै विकास गर्न सके समाज र देशलाई नै योगदान हुने बताउँदा उत्साहित देखिन्छन् । स्वर्णिम श्रेष्ठ गौरवान्वित आवाज निकाल्छन्, ‘हामीले मोटर कन्ट्रोलर यहीँ बनाउन सक्यौँ, जुन ब्रेक थ्रू नै हो, भोलि व्यावसायिक रूपमा मोटर कन्ट्रोलर बनाउन सकिन्छ ।’

सिरेटोको टिम मेम्बर ओजश्वी शर्माको बुझाइमा यो एउटा प्रतिस्पर्धा मात्र नभएर इभीको प्रमोसन पनि हो । ‘हामीले मोटर किनेको ठाउँमा आफैँले कन्ट्रोलर बनाउँछौँ भन्दा मान्छेहरू हाँसेका थिए, उनी विगत सम्झिन्छिन्, ‘तर हामी कन्ट्रोलर बनाउन सफल भयौँ ।’ आँटे सबै सम्भव हुन्छ भन्ने बुझेको यो समूह अहिलेको प्रतिस्पर्धालाई आधार बनाएर भोलिका दिनमा व्यावसायिक उत्पादनको सारथि बन्न सकोस् भन्ने शुभकामना दिन कुन नेपालीले कन्जुस्याइँ गर्ला र !

यस्तो देखिन्छ इभी
इभीको च्यासिस तयार भएर गुड्न थालिसकेको छ । अघिल्लो हप्ता थापाथली कलेजमा इभीको च्यासिस दौडिँदा एकतमासले हेर्ने विद्यार्थीको संख्या ठूलै थियो । इभी निकै सानो आकारमा बनाइएको छ । यसलाई चलाउन चालक अगाडिसम्म खुट्टा पसारेर पछाडि धकेलिएर बस्नुपर्ने हुन्छ । एकजना चालक मात्र बस्न मिल्ने गरी गाडी बनाइएको छ । जति सानो र हलुका, त्यति बढी इन्धन किफायती हुन्छ भन्ने सबै विद्यार्थीले राम्रै बुझेका छन् । गाडीका पार्टपुर्जा चोक–चोक र गल्ली–गल्लीमा भएका पसल चहारेर जम्मा गर्न टिमलाई निकै सकस भएको उनीहरू सुनाउँछन् । तर, अप्ठ्यारोको व्याख्या गर्दा पनि उनीहरूको मुहारमा सफलताको तेज कायमै छ । ‘इभीमा हाम्रो आविष्कार पनि छ,’ पाण्डे सुनाउँछन्, ‘मोटर र ब्याट्री बाहिरबाट किने पनि मोटर कन्ट्रोलर आफैँ विकास गर्‍यौँ, ब्याट्री म्यानेजमेन्ट सिस्टम पनि यहीँ बनाउँदै छौँ ।’ मोटर कन्ट्रोलर स्वर्णिम श्रेष्ठ र कृतिक निरौलाले विकास गरेका हुन् ।

उनीहरू आफैँले तीनपांग्रेको डिजाइन गरेका हुन् । पार्टपुर्जा र फेब्रिक खोज्दा हप्तौँ बित्यो । उनीहरूलाई जुन आल्मुनियम फ्रेम चाहिएको थियो, त्यो नेपालमा त्यति प्रयोगमा छैन, जसले गर्दा जहीँतहीँ नपाइने रहेछ । बल्लतल्ल बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी कलेजमा उनीहरूले खोजेको आल्मुनियम फ्रेम भेटिँदा उनीहरू कति खुसी भए होला भनेर अनुमान मात्र गर्न सकिन्छ । त्यो आल्मुनियम फ्रेम वेल्डिङ गर्ने मेसिन थापाथली क्याम्पसमा नहुनाले बालाजुमै दुई हप्ता लगाएर च्यासिस निर्माण गरेको व्याख्या गर्न पछि पर्दैन सिरेटो टिम ।

इभीको फेब्रिकको पार्ट धनप्रसाद प्रधानले हेरिरहेका छन् । उनीहरूलाई फेब्रिकको च्यासिस तयार पार्न दुई हप्ताजति समय लाग्यो । प्रधान भन्छन्, ‘च्यासिस आल्मुनियम फ्रेमबाट बनायौँ, बाहिरी भाग ग्लास फाइबरबाट बनाउँछौँ ।’ इभीको पछाडिको चक्कामा रहेको हब मोटर जडान गरिएको छ । एक किलोवाट आवर अर्थात् १ युनिट बिजुलीले दुई सय किलोमिटरसम्म माइलेज निकाल्न प्रयासरत रहेको बताउँछन्, टिमका सदस्यहरू ।

साभार- नयाँ पत्रिका