आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा आरटी पिसिआर नमुना परीक्षणमा ४ पोजेटिभ, जिल्ला अस्पताल सिरहा प्रयोगशालामा गरिएको ४ वटा नमुना परीक्षणमा सबै नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शनिबार १२७ वटा नमुना परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार यस प्रदेशमा ११३ वटा नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार १९ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको थियो।कोरोनाको दोस्रो लहर सुरु भएयता परीक्षण गरिएका नमुनामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा संक्रमणले भयावह रूप लिन थालिसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए।
चैत १ सम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ थियो। पर्सामा ५, बारामा ४ र रौतहटमा २ जना संक्रमित होम आइसोलेसनमा थिए। सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा संक्रमण शून्यमा झरेको थियो। कोरोनाको दोस्रो लहर सुुरु भएयता प्रदेश २ मा ३९६ संक्रमित थपिएका छन्। अहिले संक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ। संक्रमित संख्या बढ्दै गए पनि यो प्रदेशमा उपचारका लागि अस्पताल छैन। कुल संक्रमितको ९९ प्रतिशत निजी चिकित्सकको सल्लाहमा घरमा बस्न बाध्य छन्। प्रदेश २ मा नारायाणी अस्पताल वीरगन्जमा मात्र आइसोलेसन सञ्चालित छ, जसमा ७ जना संक्रमित भर्ना भएका छन्। दोस्रो लहरमा संक्रमित भई यस अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना भएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ। योसँगै प्रदेश २ मा मृतकको संख्या २१४ पुगेको छ।
परीक्षणको दायरामा आएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। संक्रमण तीव्र हँुदा बिरामीको पहिचान, परीक्षण र उपचार अवस्था नाजुक छ। सीमा नाकाबाट बेरोकटोक आउजाउ चलिरहेको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक झाले भने, ‘सीमाबाट सघन आउजाउले संक्रमणको जोखिम बढाइरहेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि लापरबाही बढ्दो छ।’
छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश २ मा कोरोना संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो। अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण देखिएको छ। निर्देशक झाका अनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सीधै घर जान्छन, समुदायमा जान्छन्।
भारतबाट फर्किने पनि सीधै घरमा गइरहेका छन्। अहिले परीक्षण गराउन अस्पताल पुग्ने प्रायः कडा लक्षण देखापरिसकेका मात्रै छन्। ‘कोरोना संक्रमण वृद्धिको दरले समुदायमै संक्रमण फैलिसकेको पुष्टि हुन्छ,’ झाले भने। वैशाख मध्यबाट संक्रमितको संख्या अझ धेरै हुने अनुमान छ। गत वर्षको साउन महिनामा यस प्रदेशमा संक्रमण भयावह अवस्था थियो। वैशाख मध्यमा अघिल्लो साउनको झल्को दिने गरी संक्रमण बढ्ने स्वास्थ्य विज्ञहरूको प्रक्षेपण छ।
रोकथामको तयारी छैन
प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढिरहँदा रोकथाम र नियन्त्रणका लागि सरकारी तयारी भने शून्य देखिन्छ। सघन बसोबास भएको यस प्रदेशको जनसंख्या ६० लाख प्रक्षेपण गरिएको छ। प्रदेश सरकारले अहिलेसम्म कोभिड डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न सकेको छैन। मुख्यमन्त्री लालबाबु राउतले मातहतका मन्त्रालयलाई छिटो अस्पताल र उपचारात्मक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन।संक्रमणको पहिलो लहरका बेला सञ्चालनमा ल्याइएका आइसोलेसन सेन्टरहरू संक्रमित घट्दै गएपछि बन्द भए। जिल्ला अस्पतालहरूले पनि आफ्नो आइसोलेसन सेन्टरहरू बन्द गरे।
संक्रमणको पहिलो लहरका बेला प्रादेशिक अस्पताल जनकपुरमा ४८ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो। जिल्ला अस्पताल सिरहाले चन्द्र माध्यमिक विद्यालयमा १७८ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो। अर्को आइसोलेसन सेन्टर महेन्द्र गेनाई अस्पतालमा सञ्चालन गरिएको थियो। सिरहा जिल्ला अस्पतालका प्रमुख डा. नागेन्द्र यादवका अनुसार त्यो बेलाको आइसोलेसन व्यवस्थापन खर्च र कर्मचारीको तलबभत्तावापतको करिब पाँच करोड रुपैयाँ बक्यौता छ। केन्द्र, प्रदेश र स्थानीय सरकारको बेवास्ताले बक्यौता फस्वर्योट हुन नसकेको उनले बताए।
छैन सतर्कता
कोरोना संक्रमण बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन। दिनहुँजसो भीडभाड बढिरहेको छ। सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन। सिरहा जिल्ला प्रसाशन कार्यालयले चैत ३० गते सूचना जारी गर्दै छिमेकी भारतलगायत विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गएकाले नयाँ वर्षको अवसरमा मेला आयोजना नगर्न आग्रह गरेको थियो। प्रशासनले भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि नयाँ वर्षलाई स्वागत गर्न भन्दै सिरहाको लहान, लक्ष्मीपुरपत्तार, भगवानपुर, पकडियागढ, सिरहा क्षेत्रमा मेला लाग्यो। मेलामा सहभागीले न मास्क प्रयोग गरेका थिए, न त व्यक्तिगत दूरी नै कायम गरेका थिए।
नाकाबाट निरन्तर आउजाउ
प्रदेश–२ को आठवटै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। बिहारमा कोरोना संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको छ। राजधानी पटनादेखि नेपाली सीमा गाउँसम्मै संक्रमितको संख्या दिनानुदिन बढ्दो छ। प्रदेश–२ मा पछिल्लो समय पारिबाटै संक्रमण फैलिएको चिकित्सक बताउँछन्। वारिपारि सहज आउजाउका कारण सीमा जोडिएका जिल्लामा संक्रमण घट्नुको साटो बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक झा बताउँछन्। पछिल्लो समय यस प्रदेशमा समुदायमा फैलिँदै गएको संक्रमणको लहरो पनि पारिबाटै आएको उनले बताए।
दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिए पनि लुकिछिपी आउजाउ गर्ने नरोकिएका कारण प्रदेश–२ का सीमावर्ती पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमण स्वतः बढेर गएको छ। सीमावर्ती क्षेत्रबीच सघन आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ। पर्सा, बारा, रौतहट र सर्लाहीका उद्योगमा ठूलो संख्यामा भारतीय कामदार छन्। प्रदेशका सबै जिल्लाका इँटा उद्योगमा भारतीय कामदार छन्।
पछिल्ला दिनमा वीरगन्जमा संक्रमण एकाएक बढ्नुमा वारिपारि सघन सम्पर्कलाई कारण ठानिएको छ। वीरगन्जका विभिन्न उद्योग र सुख्खा बन्दरगाहमा ठूलो संख्यामा भारतीय कामदार छन्। सीमा बन्द गरिए पनि उनीहरू लुकिछिपी जाने गरेको पाइएको छ। सीमामा गरिएको लापरबाहीका कारण संक्रमण समुदायमा फैलिएको स्थानीय बताउँछन्।