अक्सिजनको भरमा मृत्युसँग लडाइँ
शिक्षाखबर डेस्क
१७ बैशाख २०७८, शुक्रबार
no immg

भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्, ‘मनोबल उच्च बनाऊ.. तिमीलाई केही हुँदैन.. हरेस नखाऊ।’ ती महिलालाई कोरोना संक्रमणले बेस्सरी च्यापेको जस्तो देखिन्छ।

सोही वार्डमा भर्ना भएका अन्दाजी ५५ वर्षका पुरुषको अवस्था झन् गम्भीर देखिन्छ। उनको रेखदेख गर्न परिवारका तीनजना खटिएका छन्। उनीहरूले संक्रमितलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन्। ‘बाबालाई बचाऊ भगवान्..बचाऊ,’ नजिकै उभिएकी छोरीको सानो आवाज सुनिन्छ।

कोभिड वार्डकै एकजना युवक कोरोना भाइरससँग अन्तिम लडाइँ लडिरहेका छन्। कोरोना संक्रमण भएपछि यही वैशाख ९ गतेबाट छोरालाई अस्पताल भर्ना गरेका बाबु कहिले छोराको मुखमा हेरेर रुन्छन्, कहिले भगवान् पुकार्छन्। ‘छोरालाई निको गराएर घर फर्काउने मन छ तर कोरोनाले झन्झन् च्याप्दै लगेको छ,’ उनले नागरिकसँग भने।

भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्। संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि सक्दो सेवा गरिरहेकै छन्।

कोभिड वार्डको १२ नम्बर बेडमा छिन् अन्दाजी ७६ वर्षीया महिला। बुधबार साढे ५ बजेतिर नागरिककर्मी स्थलगत रिपोर्टिङमा पुग्दा उनका आफन्त त्यहाँ थिएनन्। कहिले बेडमा सुत्थिन्, कहिले उठेर सुस्केरा हाल्थिन्। कोही नजिक आउँदा उनी भन्थिन्, ‘छाती पोल्यो, औडाहा भयो।’ भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्।

संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि संक्रमितको सक्दो सेवा गरिरहेकै छन्। संक्रमितका आफन्त स्वास्थ्यकर्मीको योगदानलाई खुलेरै प्रशंसा गर्छन्। ‘संक्रमितलाई बचाउने भनेको नै अहिले अक्सिजन हो, अक्सिजन पाएका बिरामीमा केही बाँच्ने आशा हुँदोरहेछ,’ संक्रमितका आफन्त टंकप्रसाद धमलाले भने। लामो समयसम्म अक्सिजन दिदाँ पनि उनले आफन्तलाई बचाउन सकेनन्। कोरोना पोजेटिभ भएपछि भेरी अस्पतालमा मंगलबार बिहान मात्र भर्ना भएका उनका आफन्त (काका) को २४ घण्टा नपुग्दै मृत्यु भयो।

कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले नेपालगन्जलाई लकडाउन गरेको छ। अस्पतालबाहिर रहेका सबै होटल बन्द छन्। होटल बन्द हुँदा टाढाबाट उपचार गर्न आइपुगेका संक्रमित र उनीहरूका आफन्तले खाना खानसमेत नपाएको गुनासो गरेका छन्। तीन दिनदेखि आफन्तको उपचारका लागि दिनरात अस्पतालमै बिताएका हेमन्तराज काफ्ले भन्छन्, ‘अवस्था भयानक छ, दर्दनाक छ, डरलाग्दो छ।’ अहिलेसम्म यस्तो अवस्था कहीं पनि नदेखेको बताउने उनी अगाडि थप्छन्, ‘मान्छेको मृत्यु छिनभरमै भइरहेको छ, प्रत्येक दिन ६÷७ वटा लास निस्केका छन्। धेरै बिरामी अक्सिजनको सहायताले बाँचेका छन्। स्वास्थ्यकर्मीको कमी छ तर पनि अस्पताल विकास समितिले धेरै राम्रो प्रयास गरेको छ।’

कोभिड वार्डमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार संक्रमितको अवस्था भयावह छ। ‘यहाँ भर्ना भएका बिरामीलाई अक्सिजन अत्यावश्यक नै हुन्छ, बिरामीले लगाएको अक्सिजनमा एकैछिन ध्यान पुगेन भने पनि मृत्यु हुने सम्भावना बढी हुन्छ,’ उनले भनिन्।

भेरी अस्पतालमा बिहीबारसम्म १ सय २६ पुरुष र १ सय १६ महिला गरी कुल २ सय ४२ जना संक्रमित भर्ना भएका छन्। यीमध्ये ८५ जना सिकिस्त छन्। अस्पतालमा संक्रमितको चाप दिनहुँ बढिरहेको छ। अस्पतालमा मृत्युदर डरलाग्दो रूपले बढिरहेको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार बिहीबार दिउँसोसम्म संक्रमणबाट बाँकेमा स्थानीय १ सय ८ र बाहिरी जिल्लाका १ सय ११ जनाको मृत्यु भएको छ। जिल्लामा कुल ८ हजार ५ सय ९७ जना संक्रमित भइसकेका छन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा संक्रमित बिरामीको चापले बेडहरू भरिभराउ भएको बताउँछन्। उनले भने, ‘दिनहुँ संक्रमित आइरहेका छन्। खाली भएका बेडमा नयाँ बिरामीलाई भर्ना लिने गरेका छौं। जसलाई बेडको खाँचो छ, उनीहरूलाई भर्ना गर्ने प्रयास गरिरहेका छौं।’ अस्पतालसँग उपलब्ध भएको बेडलाई अधिकतम प्रयोग गरिरहेको र जनशक्ति अभावको समस्यालाई क्रमिक रूपले समाधान गर्दै लगेको थापाले बताए।

बाँकेका अस्पतालमा अहिले भर्ना भएका संक्रमित जटिल खालका हुन्। सामान्य खालका संक्रमित अहिले पनि होम आइसोलेसनमै छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली कोरोना संक्रमितलाई राम्रोसँग बेड व्यवस्थापन हुन नसकेको बताउँछन्। ‘जटिल प्रकारका बिरामीलाई मात्र अस्पतालमा राखेका छौं, अन्यलाई पालिका स्तरको आइसोलेसनमा अक्सिजन दिएर राख्ने व्यवस्था मिलाएका छौं,’ उनले भने। अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल भन्छन्, ‘यहाँ कोभिडका बिरामी आउने क्रम एकदमै बढेको छ। गम्भीर प्रकृतिका बिरामीलाई भर्ना गरेका छौं। सामान्य अवस्थाका बिरामीलाई होम आइसोलेसनमै बस्न प्रेरित गरेका छौं।’

अस्पतालको कोभिड वार्डमा अहिले पनि स्वास्थ्यकर्मीको अभाव छ। अस्पतालले नयाँ कर्मचारी भर्ना गर्ने भनेको अझै गरेको छैन। ‘हामीलाई जनशक्ति अभाव भएपछि नयाँ स्वास्थ्यकर्मी भर्ना गर्दैछौं। स्वास्थ्यकर्मीको अभावले ठुलो क्षति बेहोर्नुपर्‍यो,’ अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘अहिले सिनियर डाक्टरले पनि नियमित रूपमा बिरामी हेर्नुभएको छ। तर डिस्चार्ज भएर जानेको संख्या ५ जना छ भने आउनेको संख्या २० जना हुन्छ।’

जिल्लामा समुदायमै फैलिएको कोरोना संक्रमणको स्रोतको खोजी अझै हुन सकेको छैन। जसले गर्दा संक्रमितको संख्या थपिने अस्पताल भरिभराउ हुने क्रम चलिरहेको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव लिइसकेका अस्पताल विकास समितिका सदस्य धनीराम ओली भन्छन्, ‘जबसम्म संक्रमणको मूल स्रोत पत्ता लाग्दैन, तबसम्म नियन्त्रण असम्भव छ। अहिलेसम्म कन्ट्याक्ट टेसिङ भएको छैन।

प्रतिक्रिया