सेवा प्रवेशमा अंक गणना नहुँदा पिएचडीको डिग्री नै ओझेलमा
शिक्षाखबर डेस्क
२० बैशाख २०७८, सोमबार
no immg

त्रिविमा समकक्षतासम्बन्धी स्पष्ट मापदण्ड नहुँदा प्रतिष्ठित विश्वविद्यालयका पिएचडी होल्डरसमेत पीडित
ललितपुर गोदावरीका सचिनकुमार घिमिरेले जवाहरलाल नेहरू विश्वविद्यालयबाट ‘मेडिकल एन्थ्रोपोलोजी’मा पिएचडी (विद्यावारिधि) गरे । पिएचडी सकेपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने दृढ इच्छासहित सेवा प्रवेशका लागि परीक्षा दिए । लिखित परीक्षामा उत्तीर्ण पनि भए, तर उनले गरेको पिएचडीलाई त्रिवि मानवशास्त्र केन्द्रीय विभागले ‘मानवशास्त्र विषय’मा समकक्षता दिएन । उनले पिएचडीबापत पाउनुपर्ने १२ तथा एमफिलबापतको ६ अंक पाएनन् र सेवा प्रवेशमा ब्रेक लाग्यो ।

न नेपालमा त्रिविबाटै प्राणीशास्त्रमा स्नातकोत्तर गरी जर्मनीबाट पिएचडी गरेका कृष्ण पोखरेलले जर्मनीमा गएर वन विज्ञानमा स्नातकोत्तर गरे । उनले जर्मनीमै ‘इकोलोजी’मा पिएचडी गरेर सन् ०१७ मा नेपाल फर्के । प्राणीशास्त्र, वन विज्ञान र वातावरणसँग पनि मिल्छ । नेपाल फर्केर प्राणीशास्त्रको पिएचडीको समकक्षता माग गरे, तर उनले वातावरणको समकक्षता पाएनन् । उनको पिएचडी अहिले त्रिविमा काम नलाग्ने भएको छ । दुईवटा विषयमा मास्टर्स गरेको विषय मिल्ने गरी समकक्षता पाएनन्, तर मास्टर्स नगरेको वातावरणमा समकक्षता पाए पनि त्रिविमा पिएचडी बेकामे भएको छ ।
घिमिरे र पोखरेल उदाहरण मात्र हुन् । सम्बन्धित विषयमा समकक्षता नपाउँदा धेरै व्यक्तिका डिग्री काम नलाग्ने भएका छन् । समकक्षतासम्बन्धी स्पष्ट मापदण्ड नहुँदा प्रतिष्ठित विश्वविद्यालयबाट पिएचडी होल्डरसमेत पीडित भएका छन् । इन्टर डिस्सिप्लिनरीमा पिएचडी गरेका नेपालमा समकक्षता नपाउनेहरूको संख्या बढ्दो छ । कतिपयले समकक्षता पाउन दुई वर्षसम्म पर्खिनुपरेको छ ।

त्रिविमा फरक विधामा पिएचडी गरेकाले सेवा आयोगको परीक्षामा विषय स्पष्ट नभएको वा फरक विषयको भनी केन्द्रीय विभागहरूले समकक्षता नदिँदा शैक्षिक योग्यता धेरै भएका र प्राज्ञिक कृषि धेरै भएका व्यक्ति पनि प्रतिस्पर्धामा पछि छन् । कतिपयले पिएचडीको सर्टिफिकेटमा विषय नखुलाउँदा र कतिपयले मास्टर्स गरेकोभन्दा फरक विषयमा पिएचडी गरे पनि समकक्षता नपाउने र उनीहरूका पिएचडी गणना नहुँदा त्रिवि सेवा प्रवेशमै धक्का लागेको छ । त्रिविले मास्टर्स गरेको विषयसँग मिलेको पिएचडीलाई मात्र मान्यता दिने गरेकाले धेरैले यस्तै समस्या भोगेका छन् ।

भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयको सामाजिक चिकित्सा तथा सामुदायिक स्वास्थ्य विभागबाट चिकित्सा मानवशास्त्रमा पिएचडी गरेका घिमिरे अन्याय भएको महसुस गरी कानुनी उपचारमा लागेका छन् । मानवशास्त्र केन्द्रीय विभाग प्रमुख डम्बर चेम्जोङले मानवशास्त्रको सिद्धान्त तथा अनुसन्धान विधि प्रयोग भएको एमफिल र पिएचडीको थेसिसलाई विषयसँग सम्बन्धित नभएको भनी गलत प्रतिवेदन दिएको भन्दै घिमिरे न्यायको खोजीमा लागेका हुन् ।

त्रिवि सेवा आयोगको ०७५/०७६ को उपप्राध्यापकको विज्ञापनमा घिमिरेले आवेदन दिएका थिए । लिखितमा नाम निकाले पनि एमफिल तथा पिएचडी कुनैको पनि अंक गणना नगरी पिएचडी नगरेकाको नाम निकालेर केही समयअघि घिमिरेको वैकल्पिकमा सिफारिस गरेको थियो । मानवशास्त्र केन्द्रीय विभागको सिफारिसका आधारमा त्रिवि सेवा आयोगले घिमिरेको एमफिल तथा पिएचडीको अंक गणना गरेको थिएन ।

घिमिरेले मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख चेम्जोङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । उनले ‘आर्थिक लेनदेन गरी परीक्षाको परिणाम फेरबदल गर्नेउपर कारबाही गरी पाऊँ’ भनी आयोगमा उजुरी दिएका हुन् । ‘विश्वका कुनै पनि राम्रा विश्वविद्यालयले इन्टरडिस्सिप्लिनरी पिएचडीलाई धेरै महत्व दिन्छन्, हाम्रा विश्वविद्यालयमा निषेध गर्न खोजिएको छ,’ घिमिरेले भने । उनले त्रिविको खुलातर्फको उपप्राध्यापक पदमा आफूभन्दा कम योग्यता भएका उम्मेदवारको सिफारिस रोक्न माग गरी सर्वोच्च अदालतमा समेत रिट निवेदन हालेका छन् ।

समकक्षतासम्बन्धी मापदण्ड स्पष्ट र एकरुपता हुनुपर्ने माग
त्रिविमा समकक्षतासम्बन्धी मापदण्ड स्पष्ट र एकरुपता हुनुपर्ने घिमिरेको माग छ । व्यक्तिको आग्रह र पूर्वाग्रहमा विषयको समकक्षता दिन नहुने उनले बताए । ‘समान प्रकृतिको पिएचडीमा इन्टर डिस्सिप्लिनरी पिएचडीलाई स्वीकार गरी धेरै व्यक्ति त्रिविमै कार्यरत छन्,’ घिमिरेले भने, ‘समान प्रकृतिको विषयमा समान व्यवहार हुनुपर्ने हो, व्यक्तिका आग्रह र पूर्वाग्रहले पीडित बनाएको छ । समकक्षता माग्दा त्रिविका केही व्यक्तिले डिग्री मागेजस्तो गरेका छन् ।’

जर्मनीबाट पिएचडी गरेका डा.कृष्ण पोखरेलको भोगाइ पनि उस्तै छ । नेपालमा त्रिविबाटै प्राणीशास्त्रमा मास्टर्स गरेका पोखरेलले जर्मनीमा गएर वन विज्ञानमा मास्टर्स गरे । वन्यजन्तुमा (इकोलोजी) पिएचडी गरेर उनी सन् ०१७ मा नेपाल फर्के । प्राणीशास्त्र, वन विज्ञान र वातावरणसँग पनि मिल्छ । नेपाल फर्केर प्राणीशास्त्रको पिएचडीको समकक्षता माग गरे । ‘मैले प्राणीशास्त्रको समकक्षता मागेको इन्भाइरोन्मेन्टल साइन्सको दिइयो,’ उनले भने, ‘नेपालमा जुन विषयमा मास्टर्स गरेको हो, त्यही विषयको पिएचडी चाहिने रहेछ, मेरो पिएचडी दुई विषयमा मिल्थ्यो, तर मागेको विषयमा समकक्षता नदिँदा त्रिविले सहप्राध्यापकमा खुलाएको विज्ञापनमा सहभागी हुने अवसर पाइएन ।’

पछि विषय सच्याउन त्रिविको डिन कार्यालय पुग्दा पहिले दिइसकेको समकक्षता सुधार नहुने भन्दै सच्याउन नमानेको उनले बताए । विदेशी र नेपालका विश्वविद्यालयमा सेवा प्रवेशको फरक मापदण्डले उनीजस्ता अन्य पिएचडी होल्डरहरू पछि परेका छन् । ‘मेरो वातावरण विज्ञानमा मास्टर्स छैन, पिएचडी वातावरणमा गरेको हुँ । केही पिएचडी त्रिविमा काम नलाग्ने बनाइदिए,’ उनले भने ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कतिपयले पिएचडी गर्न पाए भन्दैमा मास्टर्सको विषयसँग नमिल्ने विषयमा पिएचडी गर्ने गरेकाले पनि समस्या हुने गरेको बताए । नेपालमा मास्टर्स डिग्री पाढाउन सुरु गरेर निरन्तर पाँच वर्ष सञ्चालन गरेपछि मात्र पिएचडी गराउने व्यवस्था रहेको उनले बताए । पिएचडी सानो टपिक्समा गरिने र मास्टर्सको विषयसँग मिल्ने भएमा मात्र विज्ञ हुने भएकाले यस्तोलाई मान्यता दिने व्यवस्था भएको उनको तर्क छ । मास्टर्सको विषयसँग नमिलेमा विज्ञता हासिल गर्न कठिन हुने उनको तर्क छ ।

प्रतिक्रिया