काठमाडौँ / कोभिडको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजन उद्योग चौबीसै घण्टा चल्न थालेका छन् । सातायता अक्सिजनको माग थोग्नै नसक्ने गरी बढेकाले सबैजसो प्लान्ट चौबीसै घण्टा चलाउनुपरेको नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ ।
बालाजु औद्योगिक क्षेत्रस्थित एक अक्सिजन कारखानामा अक्सिजन सिलिन्डर भरेर अस्पताल पठाउने तयारी गरिँदै । तस्बिर : अनिश रेग्मी/कान्तिपुर
‘अक्सिजन उद्योगलाई भ्याइनभ्याइ छ,’ संघका महासचिव नारायणदत्त तिमिल्सिनाले भने । भारतमा संक्रमणको दर बढिरहँदा यहाँ सरकारले पूर्वतयारी नगरेकाले अहिले समस्या भएको संघको ठहर छ । संक्रमण दर बढिरहँदा सरकारले तत्काल १०/२० हजार सिलिन्डर मौज्दात गर्नुपर्नेमा महामारीलाई हल्का रूपमा लिँदा उद्योगहरूलाई भ्याइनभ्याइ भएको उनको भनाइ छ ।
तिमिल्सिनाको भनाइप्रति शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारी पनि सहमत छन् ।
‘काठमाडौंसँगै पाटन, भक्तपुर र दोलखाबाट पनि अक्सिजन सिलिन्डर भर्न आउनेको लाइन छ । नियमित ग्राहकसँगै प्रहरी अस्पताल, अल्का, निदानलगायत अस्पतालले पनि यहीँ पठाउने गरेका छन्,’ भण्डारीले भने, ‘अहिले चौबीसै घण्टा सेवा दिइरहेका छौं । खपत बढेको हो या अन्य उद्योगले पुर्याउन नसकेका हुन्, जानकारी भएन तर अक्सिजन भर्नलाई धेरै चाप छ ।’
भण्डारीका अनुसार अक्सिजन भर्नकै लागि उद्योगमा रातिको १२/१ बजेसम्म गाडीको लाइन हुन्छ । ‘भरिएको सिलिन्डर एउटा पनि बाँकी रहन्न,’ उनले भने । पछिल्लो समय खाली सिलिन्डर फिर्ता भइरहेका छन् । अबको अवस्थालाई व्यवस्थापन गर्न सरकार नै तात्नुपर्ने संघले जनाएको छ ।
अक्सिजन उत्पादनमा भइरहेको सीमितता र संक्रमितको संख्यामा भइरहेको वृद्धिले सिलिन्डर आयात र खरिदतर्फ सरकारले ध्यान दिनुपर्ने उद्योगीहरूको भनाइ छ । त्यसका लागि सरकारले चीन, भारतबाट तरल अक्सिजन ग्यास तत्काल आयात गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘सरकारले ग्यास बुलेट ल्याउने कि प्लान्ट नै खोल्ने, सोच्ने बेला आइसकेको छ,’ महासचिव तिमिल्सिनाले भने, ‘अहिले सञ्चालित अक्सिजन उद्योगले आयात गर्न सक्दैनन् । तसर्थ सरकारले तत्काल कदम चाल्नुपर्छ ।’ यसअघि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन सरकारसँग माग गरेका थिए । निजी क्षेत्रले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेरै अक्सिजन सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन माग गरेका थिए । त्यसपछि सरकारले अक्सिजनजन्य सामग्रीको आयातमा पूर्णरूपमा कर छुट दिने निर्णय गरेको थियो ।
‘अब निजी क्षेत्रले आयात गर्न सक्दैन । चीनमा एउटै सिलिन्डरको लागत २०/२५ प्रतिशत बढेको छ । हवाईजहाजबाट आयात गर्दा भाडादर मात्रै ३ गुणा बढ्छ,’ संघका अध्यक्ष गौरव शारडाले भने, ‘निजी क्षेत्रबाट तत्काल सम्भव देखिएन । अब सरकारले नै पहल थाल्नुपर्छ ।’ अक्सिजन सिलिन्डर नेपालमा बन्दैनन् । चीन र भारतबाटै आयात गर्नुपर्छ । पछिल्लो समय भारतमा कोरोना संक्रमित धेरै भएकाले त्यहाँबाट ल्याउने सम्भावना कम छ । उद्योग विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले भने उद्योगीहरूले क्षमताअनुसार उत्पादन गरिरहेकाले समस्या नहुने दाबी गरे । ‘उपत्यकामा ९ र बाहिर १७ उद्योग छन् । क्षमताअनुसार चलिरहेका छन्,’ उनले भने, ‘अक्सिजनको माग छ तर मार्केटको अभाव छैन । अहिले समस्या भनेको सिलिन्डरको हो । त्यो पनि व्यवस्थापन हुन्छ ।’
काठमाडौंको नागढुंगामा रहेको अक्सिटेक अक्सिजन प्रालि र दाङमा रहेको दाङ अक्सिजन भने बन्द छन् । ती उद्योग आन्तरिक समस्याले बन्द भएकाले सञ्चालन गर्न आग्रह गरिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा रहेका उद्योगको दैनिक क्षमता ५ हजार ६० मिटर क्युब हो । ती उद्योगमा १ लाख ८ हजार १ सय ६४ सिलिन्डर छन् । क्षमताअनुसार उत्पादन भइरहेकाले अभाव भइसकेको छैन । अन्य उद्योगमा गएका सिलिन्डर फिर्ता आउने क्रममा रहेकाले पनि तत्काल समस्या नहुने विभागको दाबी छ ।
६७८४ थान सिलिन्डर नियन्त्रणकाठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन र सुरक्षा निकाय सम्मिलित टोलीले उपत्यकाका विभिन्न स्थानबाट बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएका यी अक्सिजन सिलिन्डिर विभिन्न अस्पताल र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । उद्योग मन्त्रालयमार्फत १ हजार १ सय ३४ र प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ हजार ४ सय ८४ थान संकलन गरेको उनले बताए । ‘संकलन भएका अक्सिजन सिलिन्डरहरू अस्पतालमा पुर्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रहरीको पर्सन तोकेर स्पष्ट विवरण राख्ने निर्णय भएको छ,’ उनले भने ।
काठमाडौं जिल्ला प्रशासनका अनुसार टिचिङ अस्पताललाई ५ सय थान, नेपाल मेडिकल कलेज जोरपाटीलाई १ सय ५०, वीर अस्पताललाई १ सय, महेन्द्रनारायण निधि अस्पताललाई ६० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुलाई १ सय ३० थान सिलिन्डर हस्तान्तरण गरिएको छ । यस्तै, भक्तपुर अस्पताललाई १००, सिभिल अस्पताललाई २ सय ५०, ललितपुरस्थित समित अस्पताललाई ४८, काठमाडौं मेडिकल कलेजलाई ४ सय, पाटन अस्पताललाई २ सय, सशस्त्र प्रहरी अस्पताललाई ३ सय, प्रहरी अस्पताललाई २ सय र पिपुल्स डेन्टल कलेजलाई १ सय थान सिलिन्डर हस्तान्तरण गरिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशअन्तर्गतका अस्पताललाई दिने गरी लुम्बिनी सरकारलाई १ हजार र सुदूरपश्चिम सरकारलाई ३ सय थान सिलिन्डर उपलब्ध गराइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । उनले बाँकी सिलिन्डर स्वास्थ्य मन्त्रालयले मागेअनुसार सूची बनाएर उपलब्ध गराइने पनि बताए ।
ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बिहीबार गरेको अनुगमनका क्रममा १ सय ५ थान सिलिन्डर बरामद भएको छ । उक्त सिलिन्डरमध्ये पाटन अस्पताल, किस्ट मेडिकल कलेज, बज्रबाराही अस्पताल र अल्का अस्पताललाई क्रमशः ५०, ३०, १० र १५ थान वितरण गरिएको छ ।