नेपालगन्ज / भेरी अस्पताल परिसरमा पालमा राखिएका शय्या पनि भएिका छन् । सिकिस्त भएर ल्याइएका कोरोना संक्रमितलाई भित्र शय्या नपुगेर फर्काउनुको साटो पालमै भए पनि अस्पतालले अस्थायी व्यवस्थापन गरेको थियो ।
भेरी अस्पताल नेपालगन्जमा शय्या भरिएपछि टेन्टमा राखेर उपचार गरिएका कोरोनाका बिरामी ।
चाप धान्न नसकेर अस्पताल प्रशासनले नयाँ भर्ना लिन नसक्ने सूचना जारी गर्दा पनि यहाँ बिरामी आइपुग्ने क्रम घटेको छैन ।
चिकित्सकका अनुसार आइपुगेकालाई घर फर्काउन नसकेर परिसरमा पाल टाँगेर थपेका १२ शय्या पनि बिहीबारै भरिए । ‘अब त पाल राख्ने ठाउँ पनि बाँकी छैन,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘कोही डिस्चार्ज भएर जानु भो भने बेड खाली हुने हो, होइन भने पालभित्र पनि राख्ने ठाउँ रहेन ।’
भेरी अस्पतालमा लुम्बिनी प्रदेशबाहेक कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत जटिल अवस्थामा बिरामी रेफर भएर आउने गरेका छन् । हाल अस्पतालमा उपचार गराइरहेका बिरामीमध्ये ९० प्रतिशत कोरोना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकाले रामलीला मैदानमा अक्सिजनसहितको अस्थायी वार्ड बनाएको थियो । त्यो पनि भरिएको छ । ‘बेड थप्न जनशक्ति चाहिन्छ । ठाउँ पनि हुनै पर्यो,’ मेसु डा. थापाले भने, ‘अस्पताल परिसर खाली छैन, जनशक्ति पनि अभाव छ ।’
दोस्रो लहरको कोरोनामा भेरी अस्पतालमा हालसम्म १ हजार ६ सय ५६ संक्रमित भर्ना भएका छन् । यसमा १ हजार ७८ जना डिस्चार्ज भएका छन् । २ सय १० जनाको अस्पतालमै मृत्यु भइसकेको छ । संक्रमितको उपचारका लागि अस्पतालमा १ सय ४२ शय्यालाई विस्तार गर्दै २ सय १६ बनाइएको छ । १८ वटा आईसीयू र भेन्टिलेटरसहितका शय्या छन् । उपचाररत ६० जनाको अवस्था गम्भीर छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले उपचारका लागि आएका कसैलाई पनि फिर्ता गर्न नपरोस् भनेर पाल टाँगिएको बताए । ‘पालका बेड पनि भरिए । अब कठिन छ, हामीसँग ठाउँ पनि छैन,’ उनले भने । अस्पतालका मेडिकल विभाग प्रमुख तथा फिजिसियन डा. राजन पाण्डेले अवस्था जटिल भइसकेका संक्रमित आउने गरेकाले निको हुन समय लाग्ने गरेको बताए ।