काठमाडौँ / आइसोलेसन सेन्टरबाहिर ना२च ६३७७ नम्बरको एम्बुलेन्स आयो । एम्बुलेन्स कसलाई लिन आएको हो, कसैलाई थाहा थिएन । आइसोलेसन सेन्टरमा बस्नेहरूले सोचे– फेरि आज पनि अर्को संक्रमित थपिए । एम्बुलेन्स रोकियो तर कोही ओर्लेनन् ।
कसैलाई केही नसोधी चालकले एम्बुलेन्स अघि बढाउन खोजे । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरीले सिटी बजाउँदै एम्बुलेन्स रोके । खासमा त्यो एम्बुलेन्स डिस्चार्ज भएका बिरामी लिन आएको थियो । यो आइतबार पौने २ बजे कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्र आइसोलेसनमा देखिएको दृश्य हो ।
एम्बुलेन्स आइपुगेको केहीबेरमा एक स्वास्थ्यकर्मीले माइकबाट भन्न थाले, ‘सैकाजी तण्डुकार, दिनेश तण्डुकार, सितारा थापा, उषा रानाभाट, रामप्रसाद सुवेदी डिस्चार्जका लागि तल आउनुहोस् ।’ तीमध्ये काठमाडौं बुद्धनगरका सौकाजी सबैभन्दा वृद्ध थिए । ७५ वर्षीय सौकाजीको परिवारमा ५ जना कोरोनाबाट संक्रमित भएका थिए । सबैभन्दा बढी असर उनैलाई देखा पर्यो । परिवारले उनलाई कीर्तिपुरस्थित आइसोलेसनमा पठाए । अरू घरमै बसे । भर्ना भएको १० दिनमा उनमा लक्षण हरायो । ११ औं दिन अर्थात् आइतबार उनी डिस्चार्ज भएका हुन् । कुरुवा बस्न गएका छोरा दिनेशलाई पनि लक्षण देखिएपछि पीसीआर गर्दा पोजिटिभ देखिएको थियो । दिनेश पनि बाबुसँगै डिस्चार्ज भए । सौकाजी छोराले चलाएको मोटरसाइकलमै घर फर्किए । ‘आमालाई सुरुमा कोरोना भएको थाहा पाउँदा आत्तिएका थियौं । अहिले हामी सबै निको भइसक्यौं,’ दिनेशले भने ।
स्वास्थ्य मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दिनेश र सौकाजीलगायत ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनालाई जितेकाहरूको एक दिनको यो संख्या हालसम्मकै बढी हो ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ दिन भेन्टिलेटरमा सहित २१ दिन उपचार गराएका अर्घाखाँचीका ३८ वर्षीय शंकर आचार्य पनि निको भएर घर फर्केका छन् । उनी चार दिनअघि मात्रै डिस्चार्ज भएका हुन् । ‘आइसोलेसन वार्ड, आईसीयू हुँदै भेन्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्यो । तीन दिन त पूरै अचेत हुनुहुन्थ्यो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत एवं उनकी भाउजू मीरा पौडेलले सुनाइन्, ‘सबैले बाँच्ने आस मारेका थिए । अचेत भएका बेला म हरेक दिन गएर बोलाउँथें । उहाँ बोल्नु हुन्नथ्यो । चौथो दिन उहाँको होस खुल्यो । देवरले दोस्रो जीवन पाउनुभएको छ । भेन्टिलेटरमा पुगेको
आचार्यको घरमा पाँच महिना र सात वर्षका छोरी र श्रीमती पनि संक्रमित थिए । आफ्नो अवस्था थलिँदै गएपछि उनी आफन्तलाई बाँच्ने आस मारेको बताउँथे । ‘म हरेक दिन पीपीई लगाएर उहाँलाई ढाडस दिन पुग्थें । अस्पतालका नर्स, डाक्टर, सरसफाइ गर्ने सबैले हौसला दिनुहुन्थ्यो । भेन्टिलेटरमै उपचार गरिरहेका अरूको मृत्यु भएको देखेपछि थप चिन्तित हुनुहुन्थ्यो,’ पौडेलले भनिन् । भेन्टिलेटरबाट निकालेर उनलाई १४ दिन वार्डमा राखिएको थियो । घरमै अक्सिजन लिने गरी उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । ‘नियमित अक्सिजन पनि दिइरहनुपर्दैन,’ उनले भनिन् । आचार्य बानेश्वरस्थित कोठामा आराम गरेर बसेका छन् । अस्पतालमा आईसीयू र भेन्टिलेटरमा भर्ना गरेपछि बाँच्दैन भन्ने गलत सन्देश फैलिएको पौडेलले बताइन् ।
आचार्यको उपचारमा संलग्न सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा कैयौं दिन उपचार गरी निको पारेर पठाइरहेको बताए । ‘हामीले संक्रमितको उपचार गरेर मात्रै हुँदैन । उहाँहरूले आत्मबल दह्रो बनाउनुपर्छ,’ उनले भने, ‘गम्भीर रूपमा थलिएकालाई बचाउन सकिन्छ भन्ने उदाहरण अचेत अवस्थामा पुगेका आचार्यलाई लिन सकिन्छ ।’ गम्भीर रूपमा थलिनुअघि नै अस्पताल भर्ना भएकालाई चाँडै निको पारेर पठाउन सकिएको उनले बताए । अस्पताल भर्ना भएकामध्ये अधिकांश १० दिनभित्रै निको भएर फर्कने गरेको चिकित्सकहरू बताउँछन् ।
‘उपचारका क्रममा अक्सिजन लेबल ९२–९३ भयो, तीन चार दिन राख्दा पनि रोग बढेन र घरमै पठाउँदा पनि सुधार हुने संकेत देखियो भने डिस्चार्ज गर्छौं,’ डा बाँस्तोलाले भने, ‘आईसीयूबाट डिस्चार्ज भएका बिरामीलाई १–२ लिटर अक्सिजन मात्रै आवश्यक पर्छ । त्यस्ता बिरामीलाई घरमै अक्सिजन थेरापी गर्ने तरिका सिकाउनुका साथै औषधि के–के खाने भनेर डिस्चार्ज गर्छौं ।’
आईसीयूमा भर्ना गर्नुपर्नेबाहेकका बिरामी बढीमा दुई सातामा डिस्चार्ज हुने गरेको सशस्त्र प्रहरी अस्पतालका कोरोना संक्रमित व्यवस्थापनका संयोजक डा. प्रवीन नेपालले बताए । अस्पतालबाट केही दिनयता डिस्चार्ज भएकाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी १३ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । यसमध्येकी एक हुन्, जावलाखेलकी ५७ वर्षीया जानुकादेवी घिमिरे । सास फेर्न गाह्रो भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएकी उनी आठ दिनको उपचारपछि शनिबार डिस्चार्ज भएकी हुन् । ‘सुरुमा गाह्रो भएको थियो । अस्पतालमा अक्सिजन दिएपछि अलि सजिलो भयो,’ उनले भनिन्, ‘डाक्टर र नर्सले हिँडडुल गर्न र खाना खान सक्ने बनाएपछि डिस्चार्ज भएँ ।’
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी हवल्दार अमृततारा विक पनि १० औं दिनमा डिस्चार्ज भएका छन् । ड्युटीमा रहेका बेला वृतका उनीसहित दुई जनालाई वैशाख २१ मा कोरोना देखिएको थियो । उनीहरू आयुर्वेद अस्पतालमै उपचार गरेर आइतबार डिस्चार्ज भएका हुन् । ‘यहाँ आउँदा सास फेर्न गाह्रो भएको थियो । मुटुको धड्कन बढी थियो । ज्यान दुख्ने, ज्वरो आउने लक्षण थियो । अहिले हामी एकदम ठीक छौं,’ उनले भने, ‘११ दिन बस्दा ठीक भयो । नियमित व्यायाम गर्नुपर्छ, पौष्टिक खाना खानुपर्छ, मनोबल उच्च गराउनुपर्छ । तातोपानी पिइरहनुपर्छ । डराउनु हुँदैन । निको भइन्छ ।’ उनी डिस्चार्ज हुने खबर सुनेर रूपन्देही सैनामैना–५ मा रहेको उनको परिवार खुसी छ । डिस्चार्ज कागज लिने बेला उनको मोबाइलमा घरबाट फोन आएको थियो । उनले खुसी हुँदै भने, ‘मैले कोरोना जितेको कागज बन्दै छ । अब ब्यारेक जाने हो । चिन्ता लिनु पर्दैन ।’ वृतले उनीहरूलाई लिन अस्पतालमा गाडी पठाएको थियो ।
विकलाई कोरोना देखिएको दिन वैशाख २१ मा निको हुने दर ८१.९९ प्रतिशत थियो । संक्रमित हुने दर ४५.८६ प्रतिशत थियो । उनी डिस्चार्ज भएको दिन आइतबार निको हुने दर ७४.७६ मा झरेको छ । संक्रमित दर ३७ प्रतिशत मात्रै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमितमध्ये १ दशमलव १० प्रतिशतको मात्रै मृत्यु भएको र अन्य सबैको निको भइरहेको बताए ।
आइतबारसम्म ४ लाख ५५ हजार २० जनालाई कोरोना पोजिटिभ देखिएकामा ३ लाख ३९ हजार ७ सय ५६ जना निको भइसकेका छन् । संक्रमणले हालसम्म ५ हजार १ जनाको ज्यान लिएको छ । आइतबार अपराह्न सार्वजनिक विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै ९ हजार ५ सय ३९ जनाको पीसीआरबाट ७ हजार ३ सय १६ जनामा र ३ सय ४४ जनाको एन्टिजेन परीक्षणबाट ५२ जनामा गरी ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।