काठमाडौँ / अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला राजधानीलगायत देशका विभिन्न भागमा धेरै मात्रामा किन्न पाइँदैन । सिटामोल अभाव हुन थालेको भन्दै विक्रेताले अधिकतम ५–१० चक्की मात्र पारासिटामोल दिने गरेका छन् ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn-np.kantipurdaily.com/uploads/source/news/kantipur/2021/third-party/medicine-2152021034346-1000x0.jpg&w=1000&h=0)
औषधि व्यवस्था विभागले भने मुलुकलाई तीन महिना पुग्ने सिटामोल मौज्दात रहेको दाबी गरेको छ । तर औषधि विक्रेताले विभागकै कारण सिटामोल अभाव हुन थालेको आरोप लगाएका छन् ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले तत्काल सिटामोलको अभाव नभएको दाबी गरे । ‘हाल हामीलाई तीन महिना पुग्ने सिटामोल मौज्दात छ,’ उनले भने । सिटामोल र जीवनजललगायत अत्यावश्यक औषधिको २०६४ सालमा मूल्य निर्धारण भएयता समयअनुसार मूल्य समायोजन नभएको उनले बताए । ‘पछिल्लो समय कच्चा पदार्थको मूल्यवृद्धि भएकाले एक रुपैयाँमा सिटामोल दिन नसकिने बताइएको थियो । हाम्रो मूल्य अनुगमन समितिले यसबारे अध्ययन गर्दै छ,’ उनले भने ।
नेपाल औषधि व्यवसायी संघ, झापा जिल्ला शाखाले औषधि व्यवस्था विभागको विराटनगरस्थित कार्यालयलाई वैशाख ३० मा पारासिटामोल लगायत आवश्यक र जीवनरक्षक गरी २२ वटा औषधिको कमी हुन गइरहेकाले यथाशीघ्र आपूर्तिका लागि व्यवस्थापन गर्न पत्र पठाएको थियो । राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका क्लिनिकल फर्मासिस्ट दिनेश यादव पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा समेत सिटामोलका साथै अन्य अत्यावश्यक जीवनरक्षक औषधि पाउन सहज नभएको बताउँछन् ।
‘औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो,’ उनले भने । राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको अलमेड फार्मेसीका निश्चल खत्री धेरै खोजीपछि ल्याएको दुई बट्टा मात्र सिटामोल आफूसँग रहेको बताउँछन् । ‘सबैले सहज रूपमा पाउन् भनेर हाल एक जना उपभोक्तालाई एक पटकमा १० चक्कीभन्दा बढी सिटामोल दिएका छैनौं,’ उनले भने ।
व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बाँस्कोटाको छ । ‘देशभरि सिटामोलको अभाव छ । थोक व्यापारीको स्टकमा सिटामोल छैन, उनले भने, ‘औषधि व्यवस्था विभागको दूरदर्शिता नभएकाले यो समस्या आएको हो ।’
विभागले स्वदेशी औषधि उद्योगलाई अभाव हुन सक्ने औषधि बनाउन लगाउनुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए । नेपालमा पारासिटामोलको कच्चा पदार्थ ८ टन बाँकी भए पनि उद्योगहरूले उत्पादन नगरेको आरोप उनको छ । सरकारी स्वामित्वको उद्योग नेपाल औषधि लिमिटेडले नै पारासिटामोल बनाएर बजारमा आपूर्ति गरे अभाव टर्ने उनले बताए । हाल खुद्रा व्यापारीसँग भएको अलि–अलि सिटामोल बजारमा पाइए पनि ती पसलले सिटामोल मागे थोक व्यापारीहरू दिन नसक्ने अवस्थामा रहेको पनि उनी औंल्याउँछन् ।
मुलुकमा करिब ३ हजार १ सयवटा औषधिका थोक व्यवसायी आबद्घ रहेको संघका अध्यक्ष बाँस्कोटाका अनुसार योबाहेक एन्टिबायोटिकहरू एजिथ्रोमाइसिन, डक्सिसाइक्लिन, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक चक्की, स्टेराइडलगायत करिब ३० वटा औषधिको अभाव हुन थालेको छ ।
आफूहरूले स्वदेशी कम्पनीहरूलाई पारासिटामोल उत्पादन गर्न भनिरहेको जनाउँदै औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, ‘पारासिटामोलको झ्याप्पै अभावै भएको होइन तर तीन–चार पसलमा खोज्यो भने पाइने अवस्था छ । यो सबैले घरमै पारासिटामोल स्टक गरेर राख्दा पनि आएको समस्या हो ।’ कोभिड संक्रमण सुरु भएपछि र निषेधाज्ञा लाग्न थाल्दा धेरैजसोले आफ्नो घरमा दैनिक उपयोगका औषधिसँगै उल्लेख्य मात्रामा पारासिटामोलसमेत स्टक गरेर राख्न थालेकाले हाल उपलब्धता असहज भएको उनको भनाइ छ ।
औषधि अभावका कारण सरकारको अकर्मण्यतासँगै गलत नीति रहेको जनाउँदै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनाल भन्छन्, ‘यस्तो विपत्तिको अवस्थामा समेत सरकारले व्यापारीलाई गुहारेर बस्ने हो ? सरकारले आफैं आवश्यक औषधि आयात गर्नुपर्ने हो ।’ सरकारले जीवनरक्षक औषधि र खोप बाहिरबाट ल्याउन सक्ने भएकाले खुला गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘औषधि झिकाउनु पनि महाभारतकै स्थिति हुन्छ । यस्तो अवस्थालाई सरकारले सहज गरिदिनुपर्छ ।’