रिएजेन्ट अभावमा पीसीआर रोकिन सक्ने
शिक्षाखबर डेस्क
८ जेष्ठ २०७८, शनिबार
no immg

मोरङ / ‘रिएजेन्ट अभाव’ मा प्रदेश १ मा पीसीआर परीक्षण रोकिने स्थिति आएको छ । रिएजेन्ट अभावमा कोरोना संक्रमितको स्वाब परीक्षण नै प्रभावित हुने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रदेशमा रिएजेन्ट पर्याप्त नभएपछि बिहीबारदेखि पीसीआर परीक्षण गर्नेको संख्या घटेको छ । त्यसअघि दिनहुँ दुई हजारभन्दा बढी नमुनाको परीक्षण हुँदै आएकोमा बिहीबार १ हजार ४ सय ११ र शुक्रबार १ हजार ७ सय ७७ नमुनाको मात्रै परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार यसअघि प्रदेशमा एन्टिजेन किट अभाव रहेकोले पीसीआर परीक्षण गराउनेको संख्या बढेको थियो । ‘पीसीआरका लागि रिएजेन्ट अभाव भइरहेको अवस्थामा बिहीबार १४ हजार ७ सय ५० थान एन्टिजेन किट आएकाले केही राहत भएको छ तर यो पर्याप्त होइन,’ उनले भने ।

निषेधाज्ञा जारी गर्दा पनि संक्रमण नियन्त्रणमा नआएपछि प्रदेशसभाको सामाजिक विकास समितिले यसबारे छलफल पनि आयोजना गरेको थियो । सहभागीमध्ये झापाको मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले प्रयोगशालामा रिएजेन्ट अभाव भएकाले शनिबारदेखि पीसीआर परीक्षण रोकिने अवस्था भएको बताए । ‘पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, इलाम, पाँचथरका साथै झापामा संकलित स्वाब परीक्षणका लागि हाम्रो प्रयोगशालामा आउने गरेको छ । तर रिएजेन्ट अभावले परीक्षण नै रोकिने अवस्था आयो,’ उनले भने, ‘अहिले यहाँका आपूर्तिकर्ताहरूले तत्काल रिएजेन्ट उपलब्ध गराउन असमर्थता देखाएका छन् । विदेशबाट पनि आयात गर्न समस्या छ ।’

प्रदेशमा कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल अस्पताल, कोटिहम पीसीआर प्रयोगशालालगायतमा कोरोना परीक्षण हुँदै आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार यो समस्या प्रदेशभरिका प्रयोगशालाहरूमा छ । रिएजेन्ट आपूर्तिका लागि पहल भइरहेको उनले बताए ।

धरानको बीपी प्रतिष्ठानमा स्वाबको नमुना यसअघिको भन्दा कम संकलन भइरहेको रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले बताए । उनले कोरोनाको पहिलो लहरमा दिनमा सरदर एक हजार वटा नमुना परीक्षणका लागि आएको स्मरण गर्दै यो संख्या हाल सयदेखि डेढ सयसम्म मात्रै रहेको जानकारी दिए । छलफलमा सहभागी चिकित्सकहरूले स्थानीय स्तरमै स्वाब परीक्षण नगरिएकाले संक्रमितहरू अस्पताल चहार्नुपर्दा झन् संक्रमण फैलिरहेको दाबी गरे ।

बीपी प्रतिष्ठानका रजिस्ट्रार डा. रेग्मीले संक्रमितहरूको कन्ट्र्याक्ट ट्रेसिङ र स्वाब संकलनको व्यवस्थापन स्थानीय तहले नगरेसम्म बढ्दो संक्रमणको चेन ब्रेक गर्न कठिन हुने बताए । ‘स्थानीय तहले संक्रमित पहिचान गरेपछि आइसोलेसनमा व्यवस्थित राखेर कन्ट्र्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्नुपर्छ,’ उनले भने, ‘स्थानीयस्तरमा होम आइसोलेसन प्रभावकारी नभएकाले संक्रमणको चेन ब्रेक हुन सकिरहेको छैन ।’

हाल निषेधाज्ञा जारी भए पनि उपचार र पीसीआर परीक्षणलगायतको नाममा सर्वसाधारणको आवगमन भइरहेकाले पनि संक्रमण रोकथाममा समस्या भएको उनको भनाइ थियो । छलफलमा सहभागी मोरङ, झापा र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । स्वास्थ्यकर्मीहरूले भने अस्पतालमा परीक्षणका लागि किट र अक्सिजन आपूर्ति बढाउनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया