प्रदेशले ७२ पालिकालाई पाँच/पाँच लाख दिने
शिक्षाखबर डेस्क
१० जेष्ठ २०७८, सोमबार
no immg

गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा पालिकालाई ५/५ लाख रूपैयाँ दिने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैंले राखेको स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रदेशका ७२ वटा पालिकालाई ५/५ लाख रूपैयाँ दिने पत्रमा हस्ताक्षर गरेका हुन्। दोस्रो पटक मुख्यमन्त्री भएका गुरुङले स्वास्थ्य मन्त्रालय आफैँले राखेका छन्। यसअघि यो मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको थियो।

माग गरेबमोजिम नै पालिकालाई रकम दिने निर्णय भएको मन्त्रालयले जनाएको छ। ‘पहिले नै माग भई आएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘अहिले आएर पदभार ग्रहणको मौकामा हस्ताक्षर मात्र भएको हो। ’ प्रदेशमा ८५ वटा पालिका भए पनि अन्यले रकम माग नगरेकाले तत्काल उनीहरूलाई रकम विनियोजन गरेको तर बाँकी पालिकाले पनि रकम माग गरेको खण्डमा रकम दिइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

विनियोजित रकम कोभिड–१९ संक्रमितको उपचार व्यवस्थापनार्थ अक्सिजनसहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिन्डर खरिद, अक्सिजन कन्सन्ट्रटर खरिद, अक्सिजन दिनका लागि फेस मास्क, पल्स अक्सिमिटर, बिरामी शड्ढया व्यवस्थापनका लागि खर्च गर्नुपर्ने सर्त राखिएको छ।

५/५ लाख प्राप्त गर्ने पालिकामा स्याङ्जाको एउटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्। जसमा अर्जुनचौपारी, चापाकोट, फेदीखोला, कालीगण्डकी, हरिनास र विरुवा गाउँपालिका तथा वालिङ नगरपालिका रहेका छन्। तनहुँका ३ नगरपालिका र ६ गाउँपालिकाले पनि स्वास्थ्य मन्त्रालयले दिएको ५/५ लाख प्राप्त गरेका छन्। जसमा भिमाद, भानु र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, आँबुखैरहनी, देवघाट, घिरिङ, बन्दीपुर र ऋसिङ गाउँपालिका रहेका छन्। गोरखाका १० गाउँपालिका बारपाक सुलिकोट, भीमसेनथापा, आरुघाट, पालुङटार, धार्चे, अजिरकोट, चुमनुब्री, सिरानचोक, सहिद लखन र गण्डकी गाउँपालिकाले रकम प्राप्त गरेका छन्। मनाङका मनाङ, ङिस्याङ, नासों र नार्पाभूमि गाउँपालिका गरी ४ पालिकाले रकम पाएका छन्।

लमजुङका ३ नगरपालिका र ४ गाउँपालिकाले रकम प्राप्त गरेका छन्। जसमा मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, क्होंलासोंथार, मस्र्याङ्दी र दोर्दी गाउँपालिका रहेका छन्। प्रदेशको राजधानी कास्कीका ४ गाउँपालिका मादी, रूपा, माछापुच्छ«े र अन्नपूर्णले रकम पाएका छन्। पवर्तका १ नगरपालिका र ५ गाउँपालिका गरी ६ पालिकाले रकम प्राप्त गरेका छन्। जसमा फलेवास नगरपालिका तथा महाशिला, पैयूँ, विहादी, जलजला र मोदी गाउँपालिका रहेका छन्। बागलुङका ४ नगरपालिका तथा ६ गाउँपालिका गरी १० पालिकाले रकम प्राप्त गरेका छन्। जसमा गलकोट, बागलुङ, ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, बरेङ, ताराखोला, तमानखोला, बडिगाड र काठेखोला गाउँपालिका रहेका छन्। म्याग्दीका धवलागिरी, अन्नपूर्ण, रघुगंगा, मालिका र मंगला गाउँपालिका गरी ५ गाउँपालिकाले रकम पाएका छन्।

मुस्ताङका लो–घेकर दामोदरकुण्ड, थासाङ, वारागुङ मुक्तिनाथक्षेत्र र लोमान्थाङ गरी ४ गाउँपालिकाले रकम प्राप्त गरेका छन्। प्रदेशको सबैभन्दा कान्छो जिल्ला नवलपरासी सुस्तापूर्व (नवलपुर)का ३ नगरपालिका तथा ४ गाउँपालिका गरी ७ पालिकाले रकम प्राप्त गरेका छन्। रकम प्राप्त गर्ने नवलपुर जिल्लाका देवचुली, गैंडाकोट र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली र हुप्लेकोट गाउँपालिका रहेका छन्।

हस्ताक्षरपछि मुख्यमन्त्री गुरुङले स्मार्ट सिटीमा स्मार्ट हेल्थको कार्यक्रम आवश्यक पर्ने बताए। उनले कोरोनाको दोस्रो लहर चलिरहेको र तेस्रो लहर पनि आउने सम्भावना भएकाले त्यसको रोकथामका लागि खोप र अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताए। उनले पिसिआर रिपोर्ट २४ घण्टाभित्रमा दिने व्यवस्था गर्न आवश्यक रहेको भन्दै त्यसको तयारी गर्न कर्मचारीलाई निर्देशन दिएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए। मुख्यमन्त्रीलाई उदृत गर्दै संयोजक न्यौपानेले भने, ‘यो स्वास्थ्य संकटको बेला हो, युद्वको बेला हो, सबैले सहकार्य र समन्वय गरेर काम गर्नुपर्छ। ’

प्रतिक्रिया