अन्त्यमा अस्पताल जाँदा जटिल
शिक्षाखबर डेस्क
१० जेष्ठ २०७८, सोमबार
no immg

बुटवल / बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो। फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो।

शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन्। छैटौं दिन उनी उठ्नै सकेनन्। अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो। परिवारका सदस्यले घरमै अक्सिजन पुर्‍याएर दिए। तर, उनमा केही सुधार भएन। केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए। अस्पतालमा भीडभाडले उनले बेड पाएनन्।

बेड खोज्दा खोज्दै आधा दिन बित्यो। एम्बुलेन्समा राखिएका उनलाई भैरहवातर्फ लगियो। तर, अस्पतालसम्म पुग्न पाएनन्। एम्बुलेन्समै उनको निधन भयो। प्रादेशिक अस्पताल आएपछि कोभिड परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। ‘बुवाले अस्पताल जान समयमै नमान्दा बचाउन सकिएन,’ उनका छोराले भने।

बुटवल–११ का दीपक ज्ञवाली १० वैशाखमा ज्वरो आएर मेडिकल पुगे। मेडिकलका चिकित्सकले उनलाई टाइफाइड ज्वरो भन्दै औषधि दिए। दुई दिन खाए, ज्वरो निको भएन। उनका दाजु फेरि मेडिकल पुगे र भाइलाई सुधार नभएको बताए। मेडिकलका चिकित्सकले सात दिनको औषधि खाए ठीक हुन्छ भनेर फर्काए। बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे। वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे। उनको स्वास्थ्य कमजोर भयो। बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो। तर, अस्पतालबाट फर्किएनन्। आईसीयूमा पुगेका उनको २९ गते मृत्यु भयो।

कोरोना महामारीका बेला मिल्दोजुल्दो लक्षण देखिए पनि मेडिकल तथा आफैं औषधि किनेर खाँदा भएका ठूला क्षतिका उदाहरण हुन् यी। लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार अन्तिम अवस्थामा आउने धेरै बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले यो समयमा कोरोनाका लक्षणहरूलाई कमजोर आँकलन गर्नै नहुने बताए।

‘घरमै निको होला भनेर बस्नु गम्भीर गल्ती हुनसक्छ’, उनले भने, ‘अहिलेको नयाँ भेरियन्ट घरमै निको हुन सक्दैन। समयमै अस्पताल पुग्नुपर्छ।’

ज्वरो आउनु, शरीर दुख्नु, सुक्खा खोकी लाग्नु, श्वास–प्रश्वासमा समस्या आउनासाथ कोरोनाको आशंका गर्नुपर्ने उनले बताए। परीक्षणपछि चिकित्सकको निगरानीमा हुने उपचारले कोरोना जित्न सकिने उनको भनाइ छ। घर–घरमै अक्सिजन लगेर राख्ने र अन्तिम अवस्था परेपछि मात्रै अस्पताल आउँदा मृत्युदर बढेको उनले बताए।

अन्तिम समयमा अस्पताल जाने गरेका कारण ८० प्रतिशत बिरामीलाई आईसीयूमा राख्नु परेको चिकित्सकले बताए। तर, त्यति संख्यामा आईसीयू उपलब्ध छैनन्। नयाँ भेरियन्टको उपचार सुरुआती चरणबाटै हुन सक्यो भने सजिलै जित्न सकिने चिकित्सकको भनाइ छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो एक सातामा झण्डै २० जनाको इमर्जेन्सी कक्षमा मृत्यु भएको छ। उनीहरूमध्ये धेरैजसो अन्तिम समयमा अस्पतालमा पुगेका हुन्। ढिलो गरी अस्पताल आउने र समयमै उपचारका लागि बेड नपाउने गर्दा बिरामीको मृत्यु हुने गरेको छ।

बिरामी र आफन्तमा अहिले अक्सिजन सिलिण्डर पाएपछि कोरोना निको हुने भ्रम रहेको छ। चिकित्सकले भने अक्सिजनले मात्रै निको नहुने बताए। ‘अक्सिजन लिएपछि सन्चो हुन्छ भन्ने भ्रम भयो, यसले नै मृत्युदर बढाएको छ’, डा. पाठकले भने, ‘कोरोना उपचारका बिभिन्न विधि छन्। त्यसका लागि अस्पतालमै आउनुपर्छ। सुरुआती चरणमा अस्पताल आउने हो भने आईसीयू बिना नै उपचार सम्भव हुन्छ।’

वडाभर १६ को मृत्यु, छैन परीक्षण
रुपन्देहीको सम्मरीभाइ गाउँपालिका–७ मा लकडाउन यता १६ जनाको मृत्यु भयो। तीन जना तन्नेरी युवा हुन् भने अरू ५० काटेका नागरिक। तर, अहिलेसम्म त्यहाँ कसैले कोरोना परीक्षण गरेका छैनन्।

कोरोना परीक्षणका लागि नागरिक भैरहवा आउनुपर्छ। टाढा भएकाले धेरै जना परीक्षणका लागि आएका छैनन्। वडाध्यक्ष नारायण यादवले मान्छे मरेको तर के कारणले मरे भन्ने जानकारी नभएको बताए। ‘ज्वरो आएर मान्छे मरेका छन्, कतिपय कालगतिले पनि होला’, उनले भने, ‘गाउँपालिकाले कोरोना परीक्षण गराएको छैन। अस्पताल टाढा छन्। कसरी उपचार हुन्छ।’

मर्चवारका पत्रकार रामविकास चौधरीका अनुसार गाउँभरि ज्वरो आएर सुतेका बिरामी धेरै छन्। उनीहरूले स्थानीय मेडिकलबाट औषधि किनेर खाने गरेका छन्। बिरामीमध्ये १६ जनाको मृत्यु भइसकेको उनले बताए। ‘पालिकाले ध्यान दिएको छैन, नागरिक अस्पतालसम्म पुगेका छैनन्,’ उनले भने, ‘जिल्लाबाटै ल्याएर यहाँ कोरोना परीक्षणको व्यवस्था हुनुपर्छ।’

प्रतिक्रिया