गोरखा / गोरखा नगरपालिकामा गत चैतयता कोरोना संक्रमित हुनेको संख्या दुई सय दुई पुगेको छ। तर, भीमसेन थापा गाउँपालिकामा दुई सय ४३ जना संक्रमित भइसकेका छन्।
पालुङटार नगरपालिकामा संक्रमितको संख्या ९५ छ। तर, सहिदलखन गाउँपालिकामा एक सय २५ जना संक्रमित छन्।
गोरखा नगरपालिका–१२ मा सबैभन्दा धेरै ४० जना संक्रमित छन्। उनीहरूमध्ये सबै कुमाल समुदायको बस्ती रहेको रानीटारका हुन्। त्यस्तै धेरै संक्रमित रहेको वडा नं. ८ को ग्रामीण क्षेत्र हो।
सबैभन्दा धेरै संक्रमित गोरखाको भीमसेन थापा गाउँपालिकामा छन्। त्यहाँको वडा नं.७ क्यामुनटार, ठाँटी र वडा नं. ४ आँपचौरमा धेरै संक्रमित छन्। वडा नं. ४ मा मात्र ६० जना संक्रमित रहेका त्यहाँका स्वास्थ्यचौकी प्रमुख गुणराज लामिछाने बताउँछन्।
दोस्रो धेरै संक्रमित संख्या रहेको सहिदलखन गाउँपालिका–८ मैलुङमा ४२ जना, वडा नं. ६ बाँसकोटमा ४२ जना र घैरुङमा ३७ जना रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ बताउँछन्। कोरोनाका कारण मर्नेको संख्या जिल्लामै सबैभन्दा धेरै सात जना सहिद लखन गाउँपालिकामा रहेको उनले बताए।
पालुङटार नगरपालिका–२ भैंसेपानी, चापाभञ्ज्याङ र आँपपीपल भञ्ज्याङमा संक्रमितको संख्या सबैभन्दा धेरै २६ जना छन्। ‘सहरमा भन्दा गाउँघरतिर धेरै संक्रमित छन्’, डीसीसीएमसीका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल भन्छन्, ‘बजार क्षेत्रमा निषेधाज्ञाको पूर्णपालना छ। गाउँघरमा खुकुलो छ। त्यही कारणले यस्तो भएको हो।’ गाउँका बासिन्दाले स्वतस्फुर्त निर्धारित स्वास्थ्य मापदण्ड पालना नगर्ने पनि उनले बताए। उनका अनुसार बाध्यकारी बनाउन टोल–टोलमा प्रहरी परिचालन गर्न जनशक्ति पुग्दैन। पालिकाले टोल विकास संस्थालगायतका आफ्ना संयन्त्र परिचालन गरेर जनचेतना जगाउनु पर्ने उनको सुझाव छ।
अहिले दुर्गम गाउँहरूमा पनि बिरामीको संख्या बढिरहेको छ। ‘गाउँ–गाउँमा बिरामी छन् भन्ने खबर आइरहेको छ। खै के हो भन्नै सकिँदैन’, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने, ‘गम्भीर खालका चाहिँ छ्रैनन्, बिरामीचाहिँ धेरै छन्।’
अर्को दुर्गम चुमनुब्री गाउँपालिकामा पनि बिरामी हुनेको संख्या बढिरहेको स्थानीयवासी बताउँछन्।
गाउँघरमा बिरामी भए पनि पीसीआर तथा एण्टिजेन परीक्षण गर्न भने अटेरी गर्ने गरेको भीमसेन थापा गाउँपालिका–४ का स्वास्थ्य चौकी प्रमुख गुणराज लामिछाने बताउँछन्। ‘स्वाब संकलन गर्न गाउँमा जाँदा कोही धेरै कामको धपेडी भएर बिरामी भएको भन्दै छल्न खोज्छन्, कोही पानी परेका बेला मेलापात, घाँसदाउरा गरेर बिरामी भएको भनेर उम्किन खोज्छन्’, उनले भने, ‘कोभिड रोकथाम गर्न सहरमा जस्तो सजिलो गाउँघरमा नहुने रहेछ। सहरबजारमा शिक्षित, सचेत जमात हुन्छन्। नियम पालना गर्न बाध्य गराउन प्रहरी प्रशासनको बल पुग्छ।’ बिहे, ब्रतबन्ध आदिको भोज भत्तेरका कारण गाउँमा संक्रमण धेरै फैलिएको उनले बताए।
खेतबारीमा मेलापात, पानीपँधेरा, विकास निर्माणको काममा जनश्रम गर्दा पनि गाउँघरमा संक्रमण धेरै फैलिएको सहिदलखन गाउँपालिका–८ का अध्यक्ष काशीनाथ अम्गाई तर्क गर्छन्। ‘हाम्रो वडामा धेरै फैलिएको नै भोजभतेरबाट हो’, उनी भन्छन्, ‘निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, चितवन, पोखराबाट मान्छेहरू धेरै आए। आइसोलेट भएर बसेनन्। गाउँ चाहारे। अनि बिहे, बर्तुनको निम्ता मान्ने भनेर सराबरी भए, फैलिहाल्यो।’ गाउँघरमा निषेधाज्ञाको कुनै अनुभूति नै नहुने उनले बताए।
कोभिड पोजेटिभ देखियो भने समाजले हेयको दृष्टिले हेर्ला, बाहिर निस्कन नपाइएला भनेर परीक्षण गर्न नमान्ने र संक्रमण फैलने गरेको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनाल बताउँछन्। ‘हामी स्वाब संकलनका लागि जाँदा मान्छेलाई मनाउन धेरै मिहिनेत गर्नुपर्यो’, उनी भन्छन्, ‘बल्लतल्ल स्वाब त संकलन गरियो, रिपोर्ट आउन १०÷१२ दिन लाग्छ। स्वाब दिएपछि क्वारेण्टाइनमा बस्नुपर्ने हो, बस्दैनन्। अनि यसै पनि फैलिहाल्छ।’
एक हजार एक सय घरधुरी रहेको बारपाक गाउँमा अहिले तीन सय जनाभन्दा धेरै रुघाखोकीका बिरामी छन्। गत जेठ १ गते गाउँपालिकाको स्वास्थ्य शाखाका टोली स्वाब संकलन गर्न जाँदा २५ जनाभन्दा धेरै परीक्षणमा नआएको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट बताउँछन्। ‘बिहान सात बजेदेखि स्वाब संकलनका लागि बसेका थियौं, साढे ११ बजेसम्म कोही पनि आएनन्’, उनले भने, ‘अनि आफैं घरदैलोमा गएर फकाइफुल्याई बल्लतल्ल २५ जनाको स्वाब त संकलन गरियो। आजसम्म रिपोर्ट आएको छैन।’ बिरामीको संख्या अत्याधिक बढ्दै गएपछि गत बुधबार स्वास्थ्यकर्मीको टोलीले ७० जनाको एण्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ देखाएको उनले बताए।