१२ हजार भाइल ‘एम्फोटेरिसिन-बी’ तत्काल आवश्यक
शिक्षाखबर डेस्क
१४ जेष्ठ २०७८, शुक्रबार
no immg

काठमाडौँ / ब्ल्याक फंगसको नामले चिनिने रोग ‘म्युकोमाइकोसिस’ मा उपयोग हुने औषधि ‘एम्फोटेरिसिन–बी’ को अभाव भएको छ । कोरोना निको भइसकेका मधुमेह र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको संक्रमण देखिन थालेको छ ।

चिकित्सकहरूले न्यूनतम एक सय जना यस्ता बिरामीलाई पुग्ने गरी करिब १२ हजार भाइल उक्त औषधि तुरुन्त ल्याउन सुझाव दिएका छन् ।

राजधानीको एक अस्पतालमा उपचाररत ४५ वर्षीयमा म्युकोमाइकोसिस रोगले दृष्टि गुमिसकेको तिलगंगा आँखा प्रतिष्ठानका ओक्युलोप्लास्टिक विभागका प्रमुख प्रा.डा. रोहित सैंजूले बताए । ‘म्युकोमाइकोसिसमा उपयोग गरिने एम्फोटेरिसिन–बीको पूर्ण अभाव भएकाले उपचार प्रभावित भइरहेको छ,’ उनले भने । तीन–चार सातामा कोभिड निको भइसकेका धेरैमा यो रोग देखिने सम्भावना रहेको उनको भनाइ छ ।

‘बिरामीलाई ४ देखि ८ सातासम्म औषधि दिनुपर्छ,’ उनले भने, ‘एक बिरामीलाई सयदेखि एक सय २० भाइलसम्म आवश्यक पर्न सक्छ ।’ केही दिनअघि वीरगन्जमा देखिएका म्युकोमाइकोसिसका ८ बिरामीमध्ये २ जनाको मृत्यु भइसकेको छ । ती सबैमा कोभिड भइसकेको थियो भने दुई जनामा मात्र मधुमेह थिएन ।

नारायणी अस्पतालका डा. निरज सिंह भन्छन्, ‘बिरामीको नाक, साइनस र आँखा प्रभावित भएको थियो । यहाँ औषधि नपाएकाहरू बाध्य भएर भारतीय सीमावर्ती सहर पटना/लखनउ जानुपरेको थियो ।’ राजधानीमा समेत यो औषधिको केही सातायता अभाव छ । नेपालमा भारतको सिरम एन्ड भ्याक्सिन लिमिटेडको ‘एम्फोटेरिसिन–बी’ को एउटा भाइलको मूल्य ६ हजार ७ सय ३४ रुपैयाँ पर्थ्यो । ‘हामीकहाँ त यो औषधि अहिले छँदै छैन, बाहिर पनि अभावै देखिएको छ,’ वीर अस्पतालका फार्मेसिस्ट निर्मल पोखरेलले भने, ‘अरू फार्मेसीमा समेत नपाएको गुनासो गर्दै हिजो मात्र औषधि खोज्दै हिँडेका बिरामीका आफन्त हामीकहाँ आएका थिए ।’

‘ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव

भारतमा केही सातादेखि कालो ढुसीको संक्रमण बढ्दा त्यहाँ एम्फोटेरिसिन–बी अभाव थियो । त्यसपछि यो औषधि नेपालबाट भारततिर गएको फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालले दाबी गरे । ‘हामीकहाँ यो औषधि आउने नै अत्यन्त कम मात्रामा हो, भएको औषधि पनि छिमेकमा संक्रमण व्यापक हुँदा उतातिर गएको अवस्था छ,’ उनले भने ।

कालो ढुसीको समस्या पहिलेदेखि नै भए पनि रोग प्रतिरोधक क्षमताले गर्दा शरीरमा नकारात्मक प्रभाव नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । ‘अनियन्त्रित मधुमेहका रोगी र स्टेरोइडको उपयोग गर्ने कोभिड व्यक्ति धेरै सावधान रहनुपर्छ,’ उनले भने । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार म्युकोरमाइकोसिस एउटा गम्भीर तर दुर्लभ ढुसी (फंगस) को संक्रमण हो । यसलाई पहिले जाइगोमाइकोसिससमेत भनिन्थ्यो ।

यो ढुसीले नाक, आँखा, आँखाको चारैतिरको कक्ष र मुखलाई संक्रमित गर्छ भने मस्तिष्कमा समेत फैलिन सक्छ । नाक बन्द हुनु, टाउको दुख्नु, नाकबाट हरियो पानी र रगत निस्कनु, पिनास दुख्नु, अनुहार सुन्निनुजस्ता यसका लक्षण हुन् ।

प्रतिक्रिया