पाल्पा, अर्घाखाँची, रुकुम पूर्व / केही दिनदेखि ज्वरो आउने, ज्यान दुख्ने भएर उनी घरमै आराम गरिरहेका थिए । पाल्पाको रैनादेवी छहरा–२ सोमादीका ५५ वर्षीय उनलाई कोरोनाको शंकाको परिवार र आफन्तले जचाउन गाउँमै स्वाब दिन आग्रह गरे । तर उनले मानेनन् । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई लुम्बिनी मेडिकल कलेज लगियो ।
पाल्पाको तानसेन–१४, अर्गलीमा आइतबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : माधव/कान्तिपुर
एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ भयो । उपचारले उनको अवस्थामा सुधार नआएपछि परिवारले उनलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा पुर्याए । त्यहाँ लगेको २४ घण्टा नबित्दै उनको मृत्यु भयो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्वाब परीक्षण गर्न नमान्ने, सामान्य रुघाखोकी, ज्वरो भन्दै घरमा बस्दा अहिले मृत्युको मुखमा पुग्ने बढेका छन् । होम आइसोलेसनमा भन्दा बढी यसैगरी अन्तिम अवस्थामा अस्पताल जाँदा मृत्यु हुनेको संख्या बढेको छ । ‘गाउँमा गएर मिल्दोजुल्दो लक्षण भएकालाई स्वाब परीक्षण गर्न अनुरोध गरेका हुन्छौं,’ वडाध्यक्ष पोखरेलले भने, ‘तर, अटेरी गर्दा झन् दुःखद घटना भएका छन् ।’ संक्रमित भएपछि घरपरिवार, छिमेकमा राम्रो नठान्ने, प्रभावकारी उपचार नमिल्ने आशंका गर्दै जाँच नै गर्न नमान्ने उनले बताए ।
रम्भा गाउँपालिका–३ पीपलडाँडा झेस्काङमा ५३ वर्षीय पुरुषको पनि अन्तिम अवस्थामा स्वास्थ्यकर्मीलाई खबर गर्दा मृत्यु हुन पुग्यो । एक सातादेखि घरमै मेडिकलबाट लगेको औषधि खाएर बसेका उनको अस्पताल लैजाँदा बाटोमै मृत्यु भयो । ‘धेरै दिनदेखि बिरामी भए पनि हामीलाई जानकारी भएन,’ स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले भने, ‘अन्तिम अवस्थामा खबर आयो । उपचारका लागि लग्दै गर्दा बाटोमै मृत्यु भयो ।’ उनका अनुसार बिरामी भए पनि जानकारी नदिँदा मृत्युको मुखमा पुग्ने क्रम बढेको छ । जानकारी पाएका स्थानमा आफूहरू औषधि, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी लिएर पुग्ने गरेको शाखा प्रमुख अर्यालले बताए । थप उपचार गर्नुपरेका कोभिड अस्पताल हुँगी र ताहुँमा पठाउने गरेको उनले बताए । ‘हामीले एम्बुलेन्स पनि पठाउँछौं भनेकै छौं,’ उनले भने, ‘तर जानकारी नै नदिएर मृत्युको मुखमा पुग्ने समस्या बढेको छ ।’
हुँगी कोभिड अस्पताल (स्वास्थ्य चौकी) का मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले सामान्य रुघाखोकीजस्तो लक्षण हुने तर छिट्टै शरीरमा असर गर्ने देखिएको बताए । ‘समयमा लक्षण जानकारी दिने र कोरोना जाँच गर्ने हो भने समुदायमा फैलिने थिएन,’ उनले भने, ‘तर, त्यस्तो गरेको कमै मात्र पाइएको छ । सकेसम्म रोग लुकाएर बस्ने प्रचलन बढी देखिएको छ ।’
रैनादेवी छहराको भुवनपोखरीमा पनि अवस्था उस्तै छ । भुवनपोखरीका वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार निषेधाज्ञाको पालना नगर्ने, स्वास्थ्य मापदण्डको पालना गराउन नसकिएको, संक्रमित नै गाउँ डुल्ने समस्या र अटेरीपनले गर्दा संक्रमण भुसको आगोझै फैलिएको छ । ‘हामीले निषेधाज्ञाको पालना गर्न र उच्च सतर्कता अपनाएर घरपरिवार मात्र घुलमिल हुन भनेका छौं,’ रैनादेवी छहरा–३ का वडाध्यक्ष दर्लामीले भने, ‘तर, अटेरीपना धेरै हुँदा मृत्युको मुखमा पुग्ने पनि बढे ।’ उनका अनुसार वडामा मात्र सात जनाले ज्यान गुमाइसकेका छन् । पाल्पा, बुटवल, काठमाडौंमा उनीहरूको मृत्यु भएको छ । अन्तिम अवस्था भएपछि मात्र जानकारी दिने र समयमा स्वाब परीक्षणतर्फ ध्यान नदिएकाले यस्तो भएको उनले बताए ।
रैनादेवी छहरा–१ सिद्देश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले वडाका सबै टोलमा सचेतना फैलाएको बताए । ‘हामीले सबै टोलमा लक्षण देखिएकालाई परीक्षण गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘स्वाब दिनै मान्दैनन्, चासो नदिएकाले पनि समस्या छ ।’
परीक्षण अभावमा संक्रमित बढ्दै
अर्घाखाँचीमा किट अभावले कोरोना परीक्षण नहुँदा समुदायमा संक्रमित हुनेको संख्या बढ्दो छ । रुघाखोकी र ज्वरोका बिरामी प्रायः घरैपिच्छे छन् । सदरमुकाम पुगेर परीक्षण गर्न सम्भव नहुँदा संक्रमण दर बढ्दो छ । सन्धिखर्क–१० धरमपानीमा चार दिनअघि ३९ जनामा एन्टिजेन परीक्षण गर्दा १२ जनामा पोजिटिभ देखियो ।
स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा केही गाउँमा परीक्षण गर्दा संक्रमित भेटिएका छन् । ‘ज्वरो र रुघाखोकीका बिरामी नभएको गाउँ छैन, जहाँ परीक्षण गर्दा पनि पोजिटिभ भेटिन्छन्,’ जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले भने, ‘धेरैपटक म आफैं बुटवल मन्त्रालय धाउँदा पनि एन्टिजेन किट र भीटीएम चाहिएजति पाइँदैन । जिल्लाका ६ वटै स्थानीय तहमा अभाव छ ।’
ज्वरोका बिरामी डराएका पनि छन् । त्रासमा बढी छन्, चेक गराएपछि पोजिटिभ आउँछ त्यसभन्दा घरमै बसेर गाउँका स्वास्थ्यकर्मी र मेडिकलको औषधि एवं जडीबुटी खाएर बस्ने गरेको उनले बताए । स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवाको प्रयोगशाला पठाएको एक सातादेखि १५ दिनसम्म रिपोर्ट नआउने उनले बताए । ‘एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिभिट आएकाको पीसीआर गर्दा पनि पोजिटिभ रिपोर्ट हुन्छ,’ उनले भने, ‘एन्टिजेनसहित स्वास्थ्य सामग्री अभाव हुनु संक्रमण दर फैलिएको छ ।’
एन्टिजेन गाउँ–गाउँमा लगेर परीक्षण गर्न पाए संक्रमित भए/नभएका छुट्याउन पाए संक्रमण फैलिने थिएन । परीक्षण नगर्दा ज्वरो, रुघाखोकीका बिरामी घरपरिवार, छिमेकी र साथीभाइसँग सम्पर्कमा रहँदा सर्नेको संख्या गाउँमा बढी भएको पौडेलले बताए । ‘एन्टिजेन लिएर स्वास्थ्यकर्मी गाउँमा पुगेर प्रत्येक व्यक्तिलाई परीक्षण गर्ने र पोजिभिट आएकालाई छुट्याएर होम क्वारेन्टाइन र अस्पतालमा उपचार गर्न पाए फैलिने थिएन,’ उनले भने । ज्वरो, रुघाखोकीका बिरामीलाई एन्टिजेन परीक्षण गर्दा धेरैलाई पोजिटिभ देखिन्छ ।
‘स्थानीय तहले भारत र बाहिरबाट आउनेको संख्या यकिन नगर्नु, उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि बल्ल घर पठाउने गरेको भए, यसरी समुदायस्तरमा फैलिने थिएन,’ प्रमुख जिल्ला अधिकारी विजयी पौडेलले भने । एन्टिजेनलगायतका औषधि खरिद गरेर परीक्षण गर्न पनि स्थानीय तहले ढिलाइ गरेको उनले बताए ।
घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी गाउँ–गाउँमा भएको पाणिनि गाउँपालिकाको मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले बताए ।
एन्टिजेनसहित स्वास्थ्य सामग्री अभावमा धेरैको परीक्षण नै भएको छैन । स्वास्थ्य सामग्री अभाव भएपछि स्वास्थ्यकर्मी परीक्षणका लागि गाउँ टोलमा जान नसकिएको उनले बताए । ‘ज्वरो, रुघाखोकीका बिरामी दैनिक थपिँदैछन्,’ उनले भने । स्थानीय तहको ध्यान कोभिड अस्थायी अस्पताल बनाउनेतर्फ छ ।
परीक्षण गर्न आनाकानी
गत जेठ २ गते रुकुमपूर्वको सिस्ने गाउँपालिकाको स्वास्थ्य शाखा तथा जिल्ला अस्पतालको टोली ३ नम्बर वडाको स्वास्थ्य चौकी पोखरामा पुग्यो । हरेक घरमा बिरामी रहेको उक्त वडाका बिरामीको कोरोना परीक्षणका लागि उक्त टोली त्यहाँ पुगेको थियो । तर, दिनभरमा ४३ जनाभन्दा बढीले परीक्षण गराउन मानेनन् । जसमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
बिरामी हुँदा पनि ४३ भन्दा अरूले कोरोना परीक्षण गर्न मानेनन् । कति त स्वास्थ्य चौकीसम्म पनि गएनन् । गाउँपालिकाले अघिल्लो दिनमा नै कोरोना परीक्षण हुने भएकाले स्वास्थ्य चौकी आउन सूचना गरेको थियो । जेठ ४ गते २ नम्बर वडाको नायगाडमा कोरोना परीक्षण गरियो । ४४ जना परीक्षणका लागि आए । जसमा १४ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य चौकीले डाकेकामध्ये आधा मात्रै परीक्षणका लागि तयार भए ।